कलाकार प्रकाश सपूत समानुपातिकतर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बन्न नसकेपछि पुन आफ्नो काममा फकिने भएका छन्। उनले शनिबार समाजिक सञ्जालमा लेख्दै राजनीतिमा प्रवेश गर्ने निर्णय सचेत रूपमा लिएको भए पनि अब पुनः कलाकारितामै केन्द्रित हुने बताएका छन्।
सपूतले आफूले जीवनका पाँच वर्ष देशलाई दिने सोच सहित राजनीतिमा लाग्ने र यसपटक प्रतिनिधिसभामा जानु मात्र नभई विशेष उद्देश्यसहित अघि बढ्ने योजना रहेको समेत बताएका छन्।
उनले सांसद भएपनि तीनवटा मुख्य काम गर्ने बताएका थिए। जसमा नयाँ राजनीतिक शक्तिका रूपमा रास्वपालाई स्थापित गर्न सहयोग गर्ने, बालेन शाहको नेतृत्वमा स्थिर सरकार निर्माणमा साथ दिने, र उत्पीडित समुदायका मुद्दालाई सशक्त रूपमा उठाउने योजना रहेको बताएका छन्।
निर्वाचन परिणामपछि आफू समानुपातिक सिटमा नपरेपछि उनले भनेका छन् ,‘छोटो तयारीमै राम्रो नतिजा ल्याएको विद्यार्थीझैँ फुरुङ्ग छु, मेरो कुनै गुनासो छैन, तर मलाई सदनमा देख्न चाहनेहरूका लागि भने दुःख लागेको छ।’
उनले सांसद बन्ने तयारी स्वरूप विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरेको बताउँदै विशेषगरी दलित अधिकार, मौलिक संस्कृति तथा पर्यटनका विषयमा ठोस नीति निर्माण गर्ने योजना रहेको उनले बताएका छन्।
सपूतले पार्टी सभापति रवि लामिछाने सँग भएको संवाद सार्वजनिक गर्दै लामिछानेले उनलाई पार्टीभित्रै रहेर योगदान गर्न वा स्वतन्त्र रूपमा सिर्जनात्मक माध्यमबाट खबरदारी गर्न सुझाव दिएको बताएका छन्।
प्रकाशित: ७ चैत्र २०८२ १३:१८ शनिबार





