स्रोत नखुलेको करिब २ लाख भारतीय रुपैयाँ र चाँदीसहित २ जना सुनचाँदी कारोवारी पक्राउ परेका छन् । पक्राउ परेकामध्ये एक जना भारतीय र एक जना नेपाली सुनचाँदी कारोवारी रहेको प्रहरीको भनाइ छ ।
प्रहरीले उनीहरुलाई भारु १ लाख ९६ हजार १२०, नेपाली २० रुपैयाँ र ५ सय ६२ ग्राम चाँदीसहित नियन्त्रणमा लिएको हो । सुरुमा प्रहरीले कपिलवस्तु नगरपालिका वडा नम्बर १ मस्दिज टोलमा भारतको सिद्धार्थनगर थाना उस्का बजारका ओम प्रकाशलाई सो रकम र चाँदीसहित पक्राउ गरेको प्रहरी नायब उपरिक्षक माहेनमणि अधिकारीले बताए ।
पक्राउ परेको ओम प्रकाशसँग सोधपुछ गर्दा सो रकममध्ये ९७ हजार ३ सय रुपैयाँ कपिलवस्तु नगरपालिका वडा नम्बर १ चोकबजारका ३४ वर्षीय राहुल बर्माको भएको प्रहरीलाई बताएका थिए । सोही आधारमा बर्मालाई पनि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
बर्मा चोक बजारस्थित न्युन अशोक जेबर भन्डारका संचालक समेत हुन् । बर्माले भने पक्राउ परेका ओमप्रकाशसँग उद्यारो बापतको रकम लिन बाँकी रहेको बताएका छन् ।
पक्राउ परेका ओम प्रकाशले तौलिहवाका सुनचाँदी व्यापारीलाई भारतबाट सुनचाँदी किनेर तौलिहवामा बेच्ने गरेको व्यापारी स्रोतको भनाइ छ ।
पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसंधान कार्यालय बुटवल पठाइएको अधिकारीले बताए ।
प्रकाशित: ४ जेष्ठ २०८२ १६:४४ आइतबार





