काठमाडौंको परोपकार पुलमुनि धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–७ घर भई हाल काठमाडौं महानगरपालिका–५ डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए।
वैशाख १६ गते धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा फेला परेका काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–१० का अन्दाजी ४२/४३ वर्षीय माइला भन्ने विक्रम तामाङको मृत्यु भएको घटनामा श्रेष्ठलाई हत्याको अभियोगमा पक्राउ गरिएको उनले बताए।
घाइते अवस्थामा भेटिएका तामाङलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकोमा सोही दिन मृत्यु भएको थियो। अनुसन्धानका क्रममा श्रेष्ठले घटना घटाएको खुल्न आएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
श्रेष्ठका साथबाट घटनामा प्रयोग भएको चक्कु, सामसुङको मोबाइल एक थान, घटना हुँदा प्रयोग भएको झोला, सर्ट, पाइन्ट, जुत्ता र कपडाको मास्क बरामद गरिएको प्रहरी उपरीक्षक जिसीले जानकारी दिए।
श्रेष्ठलाई ज्यानसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त जनसेवा पठाइएको उनले बताए। रासस
प्रकाशित: १९ वैशाख २०८२ १५:०९ शुक्रबार





