९ पुस २०८२ बुधबार
image/svg+xml
अपराध

कैलालीमा लागु औषध कारोवारमा ५५० जना पक्राउ, अधिकांश युवायुवती

कैलाली प्रहरीले चालु आर्थिक वर्षमा अहिलेसम्म लागु औषध कारोवारमा ५५० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५१९ जना पुरुष र ३१ जना महिला छन् ।  

उनीहरुलाई जिल्लाका विभिन्न ३५४ घटनामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । पक्राउ परेका मध्ये कतिपय अदालतबाट छुटेका छन् भने अधिकांश कारागार चलान भएका छन । प्रहरी निरीक्षक जोशीका अनुसार पछिल्लो समय पक्राउ परेकाहरुको बारेमा अनुसन्धान भैरहेको छ ।  

प्रहरीका अनुुसार सबैभन्दा धेरै घटना पुस महिनामा भएका छन । पुसमा भएका ५९ घटनामा ८३ जना पक्राउ परेको प्रहरीको तथ्यांक छ । जसमध्ये ८२ पुरुष र १ जना महिला रहेका छन ।  

प्रहरीले माघ महिनामा समेत पुष महिनाकै हाराहारीमा लागु औषध कारोवारी र सेवनकर्ता पक्राउ परेको जनाएको छ । प्रहरीका अनुसार माघ महिनामा भएका ५४ वटा घटनामा ७१ जना पुरुष र १० जना महिला पक्राउ परेका छन ।  

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको तथ्यांक अनुसार जिल्लामा लागु औषध कारोवार र सेवन गर्नेहरुको संख्या डरलाग्दो छ । तथ्यांक अनुसार साउन महिनामा ३३ वटा घटना भएकोमा ४३ पुरुष र १ महिला, भदौ महिनामा २१ वटा घटनामा ३२ पुरुष र १ महिला, असोज महिनामा ३५ घटनामा ५२ पुरुष र ७ महिला, कार्तिक महिनामा ३६ घटनामा ६७ पुरुष र २ महिला, मंसिर महिनामा ३७ घटनामा ६४ पुरुष र २ महिला पक्राउ परेका छन ।  

त्यस्तै फागुन महिनामा ४२ घटनामा ५६ पुरुष र ४ महिला, चैत महिनामा आइतबारसम्म ३७ घटनामा ५२ पुरुष र ३ महिला पक्राउ परेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।  

प्रहरी टोलीले पछिल्लो आइतबार राति मात्रै ३ ग्राम ७६० मिलिग्राम लागु औषध खैरो हेरोईन सहित ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनीहरुलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुर स्थित एन एस होटलबाट पक्राउ गरिएको हो । सो होटलमा लागु औषध कारोवार भैरहेको सूचनाका आधारमा होटलमा छापा मारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।  

यसरी पक्राउ पर्नेमा अधिकांश युवायुवती छन । प्रहरीका अनुसार कतिपय बालबालिकासमेत पक्राउ परेका छन । पक्राउ परेकाहरु लागु औषध कारोवार र सेवन दुवै कार्यमा संलग्न रहेको पाईएको छ । प्रहरीले उनीहरुको साथबाट लागु औषध मध्ये कडा मानिएको खैरो हेरोईन बरामद भैरहेको जानकारी दिएको छ ।  

प्रहरीले खैरो हेरोईनको कारोवारमा वृद्धि भैरहेको जनाएको छ । केही वर्षअघिसम्म खैरो हेरोईन बरामद भएका घटना न्यून रहेपनि विगत एकवर्ष यता अधिकांश घटनामा खैरो हेरोईन बरामद भैरहेको प्रहरीको भनाई छ । प्रहरीले खैरो हेरोईनको कारोवार वृद्धि भएसँगै सेवन गर्नेको संख्या समेत बढेको जनाएको छ ।  

‘खुला सीमानासँगै सहजै भित्रिन्छ । जसले सेवनकर्ताको संख्या बढाएको छ’ प्रहरी निरिक्षक जोशीले भने–‘प्रहरीले रोकथामको पहल गरिरहेको छ ।’

कैलाली लागु औषध दुव्र्यसन ओसारपसार हुने प्रमुख जिल्ला मध्ये पर्न थालेको छ । भारतीय सीमा क्षेत्रमा रहेका बजारमा सहजै पाईने लागु औषधले नेपाली युवायुवतीहरु दुव्र्यसनमा फस्ने क्रम बढेको छ । उनीहरुले खुला सीमा नाकाका कारण सहजै लागु औषध नेपाल भित्र्याउने गरेको पाईएको छ ।  

प्रहरीका अनुसार लागु औषधको सेवनले समाजमा अपराधिक घटना समेत बढेका छन । लागु औषध सेवनमा बढेको युवायुवती मोह प्रहरीका लागि चुनौतीको विषय बन्न थालेको छ । 

प्रकाशित: २६ चैत्र २०८१ १६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App