७ माघ २०८२ बुधबार
image/svg+xml
अपराध

भारत लैजाँदै गरिएको १४ किलो चरेशसहित तीन पक्राउ

भारत तर्फ लैजान लागिएको साढे १४ किलोभन्दा बढी चरेशसहित कपिलवस्तुको कृष्णनगर नगरपालिका नजिकैबाट तीन जना पक्राउ परेका छन्।

सुराकीका आधारमा प्रहरीले भारत जाँदै गरेका दुई महिला र एक पुरुषलाई जाँच गर्दा १४ किलो ७ सय ग्राम चरेश बरामद गरेको हो।

ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरजजंग खत्रीका अनुसार पक्राउ पर्नेहरूमा रोल्पाको थवाङ गाउँपालिका–५ की प्रेमसरी रोका, रुकुम पूर्वको भुमे गाउँपालिका–२ की सरिता पुन मगर तथा कपिलवस्तुको शिवराज नगरपालिका–९, बनियाभारका सुकलाल घर्तीमगर रहेका छन्।

तीनै जना कम्मरमा सेतो कपडाले चरेश बाँधेर भारततर्फ जान लागेको अवस्थामा पक्राउ परेका हुन्। प्रहरीले प्रेमसरी रोकाबाट ६ किलो, सरिता पुन मगरबाट साढे ५ किलो र सुकलाल घर्तिबाट ३ किलो २ सय ग्राम चरेश बरामद गरेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये एक जना कारोबारी र बाँकी दुई जना भरिया रहेको खुल्न आएको छ।

लागूऔषध नियन्त्रणलाई कडाइ गरिएपछि पछिल्लो समय लगातार पक्राउहरू भइरहेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक निरंजन भट्टले लागूऔषधविरुद्ध आक्रमक अभियान चलाइएकाले धमाधम पक्राउ हुन थालेको बताए।

प्रहरीले पक्राउ परेकाहरूलाई अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: ११ फाल्गुन २०८१ १९:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App