२७ पुस २०८१ शनिबार
image/svg+xml
अपराध

हबल्दारमाथि अरूलाई फसाउन खोजेको आरोपः हिरासत पुग्दा आत्महत्या प्रयास

अरूलाई फसाउन खोजेको आरोप लागेर हिरासतमा पुगेका प्रहरी हबल्दारले जिल्ला प्रहरी कार्यालय बाराको थुनुवा कोठामै आत्महत्याको प्रयास गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी हवलदार गयासुद्दिन मियाँले बारा प्रहरीको थुनुवा कोठामा झुन्डिएर आत्महत्याको प्रयास गरेका हुन् । 

हबलदार मियाँमाथि व्यक्तिगत रिसइबी साँधेर निर्दोष व्यक्तिलाई लागु औषध मुद्दामा फसाउन खोजेको आरोप लागेको छ । सोही आरोपको अनुसन्धानका लागि बिहीबारदेखि उनी बारा प्रहरीको हिरासतमा थिए । 

मियाँमाथि सिम्रौनगढ नगरपालिका– २ का रामसेवक साहलाई लागु औषध मुद्दामा फसाउन खोजेको आरोप छ ।

पुस १९ गते पचरौता नगरपालिका–४ बेलदारीबाट साहलाई ब्राउन सुगरजस्तो देखिने पदार्थसहित पक्राउ परेका थिए । त्यसपछि जिल्लाका राजनीतिक दलहरूले आन्दोलन सुरु गरेका थिए । राजनीतिक दलहरूले साहलाई प्रहरीले साहलाई फसाउन खोजेको आरोप लगाउँदै दिनहुँ आन्दोलन गरिरहेका थिए । 

पछि त्यो विषयमा अनुसन्धान गर्दै जाँदा हबलदार मियाँले नै ब्राउन सुगर जस्तो पदार्थ आफ्ना सहयोगीमार्फत साह बसेको स्थानमा राख्न लगाएको र पछि प्रहरीलाई खबर गरेर पक्राउ गर्न लगाएको खुलेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी बताउँछन् । 

त्यसपछि हबलदार मियाँ बिहीबार पक्राउ परेका थिए । शुक्रवार  भने उनले आत्महत्याको प्रयास गरे । उनलाई झुन्डिन देखेपछि ड्युटीमा रहेका प्रहरीले जोगाएका थिए । त्यहाँबाट उनलाई उपचारका लागि कलैया अस्पताल भर्ना गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक(एसपी) महेन्द्र खड्काले हबलदार मियाँको अवस्था सामान्य रहेको जानकारी दिए ।

प्रकाशित: २७ पुस २०८१ १३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App