मोरङको जहदा गाउँपालिका–१ बाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
सुनसरीको धरान उपमहानगरपालिका–१२ का २४ वर्षीय राहुल विश्वकर्मा र धनकुटाको सहिदभूमी गाउँपालिका–६ का १९ वर्षीय सुरज राईलाई लागुऔषध गाँजासहित पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
जहदा–१ धुनी बस्ती नेपाल–भारतको सीमा क्षेत्र हो। विश्वकर्मा र राईलाई १ सय ५५ केजी गाँजासहित एक सवारी साधान पनि नियन्त्रणमा लिइएको डिएसपी जोशीले बताए।
विराटनगर महानगरपालिका–१८ स्थित भट्टा चोकमा गाडी चेक गर्ने क्रममा प्रहरीलाई छलेर भागेको को १ च ९५८२ नम्बरको स्कारपियोलाई सीमा क्षेत्रमा नियन्त्रणमा लिएर खानतलासी गर्दा १ सय ५५ केजी गाँजका साथै गाडी चालक विश्वकर्मा र गाडीमा सवार अर्का राई पक्राउ परेका हुन्।
धनकुटाबाट आएको सो गाँजा भारततर्फ लग्दै गरेको हुनुसक्ने प्रहरीले जनाएको छ। मंगलबार राति करिब साढे १० बजे प्रहरीको चेकिङ छलेर भागेको गाडी खोज्नका लागि डिएसपी वेदप्रकाश जोशीको नेतृत्वमा टोली खटिएको थियो।
गाडीलाई धुनी बस्तीमा फेला पारिएको थियो। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: १७ पुस २०८१ १५:५२ बुधबार





