कोसी प्रदेश प्रहरीले विद्युत् ट्रान्सफर्मर चोरीमा संलग्न ७ जना र चोरीको सामग्री खरिद गर्ने ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। मोरङ, सुनसरी र झापाका विभिन्न स्थानबाट ट्रान्सफर्मर चोरी भइरहेको जानकारी पाएपछि प्रदेश प्रहरीले निगरानी र ‘स्टिङ अपरेसन’ सञ्चालन गरेको थियो। अनुसन्धानका क्रममा सिसिटिभी फुटेज, शङ्कास्पद स्थानमा खानतलासी, र तामा फ्याक्ट्री तथा भाँडा पसलमा निगरानी बढाइएको थियो।
मंगलबार प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीको नेतृत्वमा आयोजित पत्रकार सम्मेलनमा चोरी घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो। पक्राउ परेकामध्ये मोरङ ग्रामथान, बेलबारी र सुनसरी दुहबीका स्थानीय युवाहरू रहेका छन् भने एक जना भारतका नागरिक समेत पक्राउ परेका छन्। चोरीका सामान खरिद गर्ने व्यक्तिहरूमा विराटनगर, दुहबी र इटहरीका व्यापारी छन्।
प्रहरीले उनीहरूको साथबाट ट्रान्सफर्मरमा प्रयोग हुने ३ सय ७० किलोग्राम तामाको तार, चोरीमा प्रयोग भएका औजार, मोटरसाइकल ५ थान, पिकअप गाडी १ थान र मोबाइल १२ थानसमेत बरामद गरेको छ। बरामद अन्य सामग्रीमा डायल रेन्च, सलाई रेन्च, पिलास, ह्याक्सो, छिनो, झम्पल, इलेक्ट्रिक ग्राइन्डर लगायतका उपकरणहरू छन्।
पक्राउ परेकाहरूले मोरङबाट ८ थान, सुनसरीबाट १२ थान, र झापाबाट २ थान गरी जम्मा २२ वटा ट्रान्सफर्मर चोरी गरेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: २१ श्रावण २०८२ ०९:२३ बुधबार