७ वैशाख २०८१ शुक्रबार
भिडियो

पुनर्जीवनको पर्खाइमा पर्यटन

पर्यटन क्षेत्रमा एउटा चर्चित भनाइ छ– म उड्न चाहन्छु। दौडिन चाहन्छु। लड्न चाहन्छु। तर रोकिन चाहन्न। नेपालको पर्यटन क्षेत्र ठप्प भएको दुई वर्ष पुग्न लाग्यो। तर यसले अझै गति लिन सकेको छैन। वुहानबाट सुरु भएको कोरोना कहरले सगरमाथाको उचाईसम्म प्रभावित बनायो।  

करिब डेढ खर्ब लगानी रहेको नेपालको पर्यटन क्षेत्रलाई प्रभावित बनाउँदा १० लाख सर्वसाधरण प्रत्यक्ष अप्रत्यक्ष मारमा परे। राज्यको अर्थतन्त्रका प्रमुख तीन मेरुदण्ड मध्ये एक मानिने पर्यटन क्षेत्र पूर्ण रुपमा ठप्प हुँदा समेत सरकार सरकार गम्भीर बनेको देख्न सकिँदैन।  

खोपको उपलब्धतासँगै संसारभर कोरोना कहरमा कमी आएको महसुस गरिँदै छ। नेपालमा पनि खोपको वितरण सुरु भएसँगै पर्यटन क्षेत्रलाई सुरुचारु गनुपर्ने आवाज सरोकारवालाले उठाउन थालेका छन्। पछिल्लो समय संक्रमणको दर घटिरहेको र खोप लगाउनेको संख्या बढीरहेकोले पर्यटकको आगमन सहज बनाउँन सरकारसँग माग राखिरहेका छन्।  

नेपालमा पर्यटकको मुख्यतः सिजनका रुपमा मार्च, अप्रिल, मे, सेप्टेम्बर, अक्टोबर र नोभेम्बरलाई लिइन्छ। निश्चित समयमा आर्जन गरेको आयबाट सालभर पेट पाल्ने पर्यटक गाइड अहिले हात बाँधेर बसेका छन्। पर्यटकको आवागमनमा ठप्प भएपछि अभावको खाडलमा परेको उनीहरुको अनुभव छ।  

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामा पर्यटन क्षेत्र थला पर्दा पनि त्यसलाई उकास्ने विषयमा सरकारले अझै नीतिगत निर्णय नगरेकोमा आक्रोस पोख्छन्। ‘हामीले यस अघि नै सरकारलाई भनेका थियौं, उताबाट पिसिआर टेष्ट गरेर आउँछ। यहाँ पनि हामीले लिने र त्यसपछि गन्तव्यमा पठाउने व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘अब सरकारले नीतिगत निर्णय गरेर उनीहरुलाई आउन ओपन छ भनेर भन्नु पर्‍यो।’

पर्यटन क्षेत्र धरायसी हुँदा होटलमा काम गर्ने वेटरदेखि हिमालमा बाटो देखाउने शेर्पासम्मको रोजीरोटीमा धक्का पुगेको छ। हजारौलाई गन्तव्य देखाउने पथप्रदर्शन आफै गन्तव्यविहीन बनेका छन्। दैनिक व्यवहार चलाउन अप्ठेरो परेको बताउँदै पदयात्राको पर्यटनलाई खुला गर्नुपर्ने आवाज उठ्न थालेको छ।

पूर्ण मात्राको खोप लगाइसकेका र पिसिआर रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई बिना क्वारेन्टिन अमेरिका, बेलायत, स्विट्जरल्यान्ड, मेक्सिको, माल्दिभ्सजस्ता थुप्रै मुलुकमा प्रवेश गर्न दिइएको छ। भारतमा  पर्यटकको चहलपहल बढेको छ। माल्दिभ्सकै कुरा गर्ने हो भने सामान्य अवस्थाको ७५ प्रतिशत पर्यटक भित्रिरहेका छन्। जोर्डनमा सामान्य अवस्थाको ३० प्रतिशतभन्दा बढी र सेसेल्समा ६४ प्रतिशत भित्रिन थालिसके। यस्तो अवस्थामा हिम आरोही सानु शेर्पाले विदेशी पर्यटकलाई नेपाल भित्र्याउने गरी आवश्यक वातावरण बनाउन सरकारलाई आग्रह गर्छन्।  

हिमआरोही सानु सेपाले पनि १० दिनसम्म क्वारेन्टिनमा बस्ने व्यवस्था गरेर विदेशी पर्यटकहरु नेपाल आउने अवस्था नआउनेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण  गराए।  

नेपालले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरि भ्रमण वर्ष मनाउने तयारी गरेको थियो। तर २०१९ को अन्त्य तिरै कोरोना भाइरस फैलन सुरु भइसकेका कारण सबै कार्यक्रम बिथोलिए। यसअघि सन् २०१९ मा नेपालमा करिब १२ लाख पर्यटक आएकोमा २०२० मा त्यो संख्या घटेर २ लाख ३० हजारमा खुम्चियो। अझ २०२१ को  अगस्टसम्मको तथ्याकंमा त पर्यटक आगमको संख्या ६६ हजारको हाराहारीमा सीमित भयो।  

नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) का अध्यक्ष अच्युत गुरागाई विभिन्न स्वार्थले गर्दा पर्यटन व्यवसायीहरु मारमा परेको बताउँछन्। विगतमा ‘सीसीएमस’ले व्यावसायीलाई हाउगुजी बनाएको बताउँदै उनले पर्यटन व्यवसाय चल्न नदिए सडक र सिंहदरबार घेर्ने चेतावनी दिन्छन्।  

राज्यले पर्यटन क्षेत्रलाई कम महत्व दिएका कारण आवागमनमा कमी आएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीको बुझाइ छ। ‘मलाई त नेपालमा सरकार छ भन्ने समेत लागिसक्यो,’ उनले भने, ‘नत्र भने यति बेलासम्म पर्यटन क्षेत्रको हितमा राखेर किन निर्णय नलिएको?’

पर्यटनक्षेत्र धरायसी हुँदा होटलमा काम गर्ने वेटर देखि हिमालमा बाटो देखाउने शेर्पासम्मको रोजीरोटीमा धक्का पुगेको छ । हजारौलाई गन्तव्य देखाउने पथप्रदर्शन आफै गन्तव्यविहीन बनेका छन्। दैनिक व्यवहार चलाउन अप्ठेरो परेको बताउँदै पदयात्राको पर्यटनलाई खुला गर्नुपर्ने आवाज उठ्न थालेको छ।  

सेप्टेम्बर महिना पर्यटकको महिनाको रुपमा पनि चिनिन्छ। नेपालमा करिब १ हजार १ सय ७१ टुरिष्ट स्ट्यान्डर्डका होटलमा ४५ हजार ८ सय ५० बेड उपलब्ध छन्। सामान्य अवस्थामा यो समय भरिभराउ हुनुपर्ने होटल अहिले खालिरहेको व्यवसायीको भनाइ छ। झण्डै ८ खर्ब लगानी भएको होटल क्षेत्रमा ७० हजार बढीले रोजगार पाएका थिए। कोरोनाकै कारण उनीहरुको रोजगार संकटमा परेको छ।  

सरकारले भिसा र क्वारेन्टिनको विषयमा समयमा नै निर्णय नलिए व्यवसायी उठ्नै नसक्ने गरी थलिने ट्राभल व्यवसायी सुदर्शन नेपालले बताए।  

कोरोनाको महामारीकै बीचमा सरकारले अर्थतन्त्रलाई समेत बिसर्नु नहुने होटल एसोसिएशन नेपाल (हान) की अध्यक्ष सृजना राणा बताउँछिन्।

पर्यटन क्षेत्रमा आवद्ध संघ, संगठन तथा यस क्षेत्रका विज्ञहरुले पर्यटन व्यवसाय पूर्ण रुपमा संचालन हुने गरी आवश्यक वातावरण बनाउन सरकारसँग माग गरेका छन्। आईतबार पत्रकारसँग भेटघाट कार्यक्रममा नेपाल पर्यटन बोर्ड (एनटीबी), नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाटा) र होटल एसोसिएशन नेपाल (हान) ले संयुक्तरुपमा नेपालमा पर्यटन व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न सरकारसँग आग्रह गरेका छन्।  

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटन व्यवसायलाई चलायमान बनाउनुपर्ने बताउँछन्।  

कोरोना कहरका कारण बैंक तथा वित्तीय क्षेत्रको ४ खर्ब बढी लगानी जोखिममा छ। पछिल्लो समय २५ प्रतिशत बढी पर्यटन व्यवसाय तथा उद्यमी पुनः कहिल्यै पुनर्जीवित नहुने गरी बन्द भएका छन्।  

पर्यटन वैदेशिक मुद्रा आर्जनमा दोस्रो ठूलो योगदान दिने क्षेत्र हो। औसत १३ दिन बस्ने हरेक पर्यटकले प्रतिदिन कम्तीमा ५० डलर खर्चिन्छन्। विश्व पर्यटन परिषदका अनुसार कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा यो क्षेत्रको करिब ८ प्रतिशत योगदान छ।  

थला परेको पर्यटन क्षेत्रलाई बढवा दिन आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नुपर्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीको सुझाव छ। जसकालागि कर्मचारीलाई होली डे प्याक उद्योगीलाई सफ्टलोन दिने सरकारले बजेट छुट्याए पनि सबैको पहुँचमा नपुगेको उनको भनाइ छ।  

पर्यटन मन्त्रालयका सचिव यादव कोइराला व्यवसायीको हित हुनेगरी मन्त्रालयले निर्देशिका तयार गरि मन्त्रीपरिषदमा पठाएको बताउँछन्। पर्यटकलाई अराइभल भिसा, पूर्ण भ्याक्सिनेट भएको र पिसिआर रिपोर्ट नेगेटिभ भएको पर्यटकलाई निर्वाधरुपमा घुम्न दिने लगायतका कुराहरुm समेटेर सुझाव पठाएको कोइरालाले बताए।  

यसैबीच सरकारले नेपालमा घुम्न आउने विदेशी पर्यटकका लागि अनअराइभल भिसा खुला गरेको छ। कोरोना संक्रमण तीव्र भएसँगै २०७६ फागुनदेखि सरकारले बन्द गरेको अनअराइभल भिसा खुला भएको हो। यो सँगै अब नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले विमानस्थलबाटै भिसा पाउने छन्।  

प्रचलित कानून अनुसार अनअराइभल भिसा प्राप्त गर्न सक्ने मुलुकका कोभिड १९ विरूद्धको खोपको दुबै मात्रा पूरा गरेका विदेशी पर्यटकले क्वारेन्टिन पनि बस्न नपर्ने निर्णय गरेको हो।  

यसअघि नेपाल सरकारका प्रवक्ता ज्ञानवहादुर कार्कीले मन्त्रीपरिषद्ले कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको जानकारी दिएका थिए।  

योसँगै कोभिड सुरू हुनुअघि जुन–जुन मुलुकका नागरिकाले अनअराइल भिसामा नेपाल आउँथे, ती मुलुकका नागरिक अब अनअराइभल भिसामा आउन पाउने भएका हुन्।  

प्रचलित कानून बमोजिम नेपालमा अनअराइभल भिसा पाउन सक्ने कोभिड– १९ विरुद्धको खोपको मात्रा पूरा गरेको नेपाल प्रवेश गर्नुभन्दा ७२ घण्टाभित्र कोभिड–१९ को परीक्षण रिपोर्ट नेगेटिभ भएको र दफा ३ को उपदफा (१) बमोजिमको कागजात पेश गर्ने विदेशी नागरिकलाई अध्यागमन विन्दूमा अनअराइभल भिसा दिइने र एण्टीजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा स्थलमार्गबाट नेपाल प्रवेशको अनुमति दिइनेछ।

दक्षिण एसियासहित विश्वका कतिपय मुलुकले पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा ल्याउने प्रयास गरिरहँदा नेपालले पनि स्वास्थ्य सावधानी अपनाएर  पुनर्जीवनको पर्खाइमा रहेको पर्यटनलाई नवजीवन दिनु जरुरी छ।

प्रकाशित: ८ आश्विन २०७८ १२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App