५ वैशाख २०८१ बुधबार
भिडियो

छालाको चमकताका लागि मेकअप, खानपानसँगै व्यायाममा पनि ध्यान दिनुपर्छ: डा.लामा

छाला रोग विशेषज्ञ डाक्टर जेबिना लामा। तस्बिर: नागरिक

सुन्दर व्यक्तित्वका लागि मानिसको शारीरिक बनावटसँगै उसको शारीरिक सुन्दरता पनि आवश्यक हुन्छ। शारीरिक सुन्दरता भनेको मानिसको अनुहार, आँखा, कपाल र छालाको सुन्दरता नै हो। सुन्दर देखिन मानिसहरुले सबैभन्दा बढी ध्यान आफ्नो अनुहारमै दिन्छन्। बाहिरी सुन्दरताको परिभाषालाई बुझेर नै अनुहारको छाला राम्रो बनाउने सौन्दर्यका प्रशाधनहरु उत्पादन भइरहेका छन्।  

छालाको चमक कायम राख्न मेकअप, खानपानसँगै नियमित व्यायाम पनि गर्नुपर्ने छाला रोग विशेषज्ञ डाक्टर जेबिना लामा बताउछिन्। ‘छालाको चमक कायम राख्न मेकअप, खानपान र व्यायाममा ध्यान दिनुपर्छ,’ उनले भनिन्, ‘व्यायाम गर्दा छालामा रगतको सञ्चार राम्रो हुन्छ।’ बच्चा जन्मेको एक वर्षदेखि सनस्क्रिमको  प्रयोग गर्न उपयुक्त हुने उनको सुझाव छ।

गर्मीयाममा छालाको स्वास्थ्य वा अनुहारको सुन्दरताप्रति संवेदनशील र सचेत व्यक्तिहरू उपयुक्त सनस्क्रिमको खोजीमा लाग्न थाल्छन्। सबै प्रकारका छालाको लागि उपयुक्त कस्मेटिक्स नै सनस्क्रिम हो। तर त्यस्ता अधिकांश व्यक्तिलाई सन स्क्रिमको कार्य–प्रणाली, संरचना, फाइदा/बेफाइदा, उपयोग गर्दा अपनाउनुपर्ने सावधानी जस्ता विषयमा पर्याप्त जानाकारी हुँदैन। ‘क्रिमको छनोट गर्दा उमेर र छालाको अवस्था अनुसार गनुपर्छ। साथै, आफ्नो छालाको प्रकारका बारे थाहा पाउनुपनि उत्तिकै जरुरी छ,' डा.लामाले भनिन्। चिकित्सकको सल्लाह अनुसार प्रयोग गर्दा उपयुक्त हुने उनि बताउँछिन्।

हामीले खाने खाना र छालाको नजिकको सम्बन्ध रहेको डाक्टरको भनाई छ। छालामा भएका दाग वा दानाहरु कम गर्न अर्गानिक खानेकुराको प्रयोग गर्नु आवश्यक हुन्छ। चिकित्सकका अनुसार दाग वा दानाबाट बच्न ब्ल्याक बेरी, स्ट्रबेरी, ब्लुब्री र क्रैनबेरीको सेवन गर्ने गर्नुपर्छ। छालालाई सुन्दर बनाउन दाल, ताजा काँचो फलफूल, तरकारी, हरियो सागपातहरु, माछा मासु खानु राम्रो हुन्छ।

मौसम अनुसार छालाको प्रकार परिवर्तन हुन्छ। सामान्य छाला चिसो मौसममा सुख्खा हुनसक्छ र पहिलेदेखिको सुख्खा छालामा अझ सुख्खापन बढ्न सक्ने सम्भावना हुने डाक्टर लामाको भनाई छ। यस्तो अवस्थामा फेसवास परिवर्तन गर्नुपर्ने उनको सुझाव छ।

सुन्दरता महिलाको मात्रै विषय हो भन्ने मान्यतामा केही वर्षयता व्यापक परिवर्तन आएको छ। अहिलेको समयमा महिला र पुरुष, सबै आफू सुन्दर र आकर्षक देखिन चहान्छन्। पुरुष र महिला बराबरकै संख्यामा आफूकोमा आउने गरेको डाक्टर लामाले अनुभव सुनाईन्। ‘सबै मानिस आफूलाई सुन्दर र आकर्षक बनाउन चहान्छन्, मेरोमा आउने मानिस पुरुष र महिलाको संख्यामा खासै ठूलो अन्तर छैन,’ उनले भनिन्, ‘पहिले महिलाको संख्या धेरै थियो अहिले बराबरको अवस्थामा छ।’

वायुमण्डलीय प्रदूषणका कारण हाम्रो छालामा यसको प्रत्यक्ष असर परेको छ। विश्वव्यापी तापमानमा भएको वृद्धिका कारण ओजोन तह पातलो हुनगई सूर्यको खतरनाक परावैजनी किरणको जोखिम बढी हुने गर्छ। ‘प्रदूषण र छालाको नजिकको सम्बन्ध रहेको छ। यसकै कारण छालामा धेरै संक्रमण देखिने गरेको छ। बाह्य वातावरणमा भएको प्रदूषणकै कारण छाला डल हुने, उमेर नपुग्दै चाउरीपन देखिने गरेको हामीले पाएका छौ,’ डाक्टर लामाले भनिन्।  

पछिल्लो केही महिनादेखि हामीले हात सफा गर्न अलि बढी मात्रामा सेनिटाइजरको प्रयोग गर्दै आएका छौं। बजारमा सेनिटाइजर पनि धेरै किसिमका छन्। अत्याधिक केमिकलयुक्त सेनिटाइजरका कारण हाम्रो छालामा नकारात्मक असर पर्ने गरेको डाक्टर लामाले बताइन्। उनी सेनिटाइजरभन्दा साबुन पानीले हात सफा गर्न सुझाव दिन्छिन्। प्रयोग गर्नैपर्ने भए अल्कोहलको मात्रा कम भएको सेनिटाइजर प्रयोग गनुपर्ने डाक्टर लामाले बताईन्। 

प्रकाशित: ४ भाद्र २०७८ १०:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App