६ आश्विन २०८३ मंगलबार
image/svg+xml
समाज

खोरतविरुद्ध खोप लगाइँदै

भोजपुरमा गाईभैँसीमा देखिने खोरेत रोग उन्मूलनका लागि खोप अभियान सञ्चालन हुने भएको छ। खोरेत रोग नियन्त्रण र उन्मूलन गर्ने उद्देश्यका साथ खोप अभियान गर्न लागिएको भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्र भोजपुरले जनाएको छ।

भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालले भोजपुरका नौवटै स्थानीय तहमा यही असोज ८ गतेदेखि आगामी कात्तिक १५ गतेसम्म अभियान सञ्चालन हुने जानकारी दिए।

खोप सहजकर्तालाई आवश्यक तालिम दिएर सबै पालिकामा खटाइएको उनले बताए। अभियान सुरु हुनुपूर्व ७६ जना खोपकर्तालाई एक दिने ‘खोप अभिलेखीकरण’ सम्बन्धी सफ्टवेयर सञ्चालन तालिम प्रदान गरिएको उनले जानकारी दिए। 'भोजपुरमा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ', प्रमुख दाहालले भने, 'यो अभियानका लागि हामीलाई ६१ हजार डोज खोप प्राप्त भएको छ। किसानकै गोठमा पुगेर खोप लगाउने व्यवस्था मिलाइएको छ।'

रोग नियन्त्रणसँगै उत्पादन वृद्धि र पशुपालक किसानलाई आर्थिक लाभ पुर्‍याउने लक्ष्यका साथ खोप अभियान सञ्चालन गरिएको प्रमुख दाहालले बताए। अभियानले ग्रामीण क्षेत्रका किसानलाई सहज र सुलभ सेवा उपलब्ध हुने कार्यालयको भनाइ छ। कार्यालयका अनुसार, पहिलो चरणको खोप अभियान सम्पन्न भएपछि पुनः दोस्रो चरणको कार्यक्रम सञ्चालन गरिनेछ।  

अधिकांश किसान पशुपालन व्यवसायमा निर्भर भए पनि पशुमा लाग्ने सामान्य रोग तथा उपचारको जानकारी नहुँदा समस्या भोग्दै आएका छन्। पशुमा लाग्ने रोगबारे जनचेतना फैलाउने काम पनि सँगसँगै हुने प्रमुख दाहालले बताए।

खोप अभियानले कृषकलाई आर्थिक रूपमा सबलसँगै पशुजन्य उत्पादन वृद्धि गर्न र रोग नियन्त्रणमा दीर्घकालीन प्रभाव पार्ने विज्ञ केन्द्रले जनाएको छ।

प्रकाशित: ६ आश्विन २०८३ ०६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App