१६ चैत्र २०८० शुक्रबार
भिडियो

कागलाई खाना खुवाउने मान्छे

खासमा काग र मान्छेको सम्बन्ध युगौदेखि हो। हरेक विहान खाना पाकेपछि काँ–काँ भन्दै कागलाई बोलाउने चलन ग्रामिण भेगमा अझै पनि कायम छ। तर सहरमा काग र मान्छे एक अर्काका प्रतिष्पर्धी जस्ता देखिएका छन्। दुवै सकभर एक अर्काको सामुन्ने पर्देनन्।

तर बिहीबार विहान नयाँबजार नजिकको बिष्णुमती पुल नजिक काग र एक मान्छेबीचको गहिरो दोस्तीको रमाइलो दृश्य देखियो।  हातमा खानेकुरा लिएर पुरुष पुलको छेउमा उभिएका थिए भने काग हातमै पुगेर ति खाने कुरा पालै पालो खाँदै थिए।  

लकडाउनको समयमा समस्या परेका मान्छेलाई खाना खुवाउने थुप्रै देखिए। बन्दाबन्दीको मारमा परेका कागलाई खाना खुवाउने मान्छे मुश्किलले भेटिए। काठमाडौं कोहीटीका ५० वर्षीय रुपक दर्शनले विगत ८ वर्षदेखि यसैगरी पशुपंक्षीलाई खानेकुरा खुवाउँदै आएको सुनाए।

‘हरेक विहान कागलाई  खानेकुरा खुवाउँदै आएको छु,’ उनले भने, ‘यसो गर्दा मलाई खुसी लाग्छ। आफू जहाँ पुगेपनि कागले पछ्याउने गरेको उनले सुनाए। ‘यहि ठाउँ भन्ने छैन,’ उनले भने, ‘म उभिएपछि कागहरु आफै भेला हुन्छन्।’ अन्य समयभन्दा लकडाउनको समयमा काग समस्यामा पर्ने उनको बुझाई छ। ‘भोज भतेर नहुँदा उनीहरुको आहारमा कमि आउँछ,’ उनले भने, ‘त्यसैले यो समयमा घन्टौ उभिएर भएपनि उनीहरुलाई नियमित खुवाउने गरेको छु।’

काठमाडौंका रैथाने रुपक पशुपंक्षी भनेपछि हुरुक्कै हुन्छन्। सहर बजारमा उनी जम्मा हुँदा कुकुरको भिड लाग्छ। त्यस्तै नदी किनार र खुल्ला ठाउँमा जम्मा हुँदा कागको भिड लाग्ने गर्छ। मासु र खानेकुराको गन्धले कागहरू पनि हुर्हरिएर आइपुग्ने उनले सुनाए।

‘मेरो जीवन उनीहरुको भोजनसँगै रमाउँदै छ,’ उनले थपे, ‘जहिलेसम्म सक्छु तहिलेसम्म खुवाउँछु।’

प्रकाशित: २५ असार २०७८ ०९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App