९ असार २०७८ बुधबार
भिडियो

आमा बनेपछिको सफलता

समानताभित्र अनेकता, अझै भनौं विविधता पुरुष र नारीबीच जन्मजात नै हुन्छ भन्ने कुरामा अब अल्झिरहनु पर्ने अवस्थाको अन्त्य भएको मान्नुपर्छ। वयस्क हुँदै गर्दा शरीरमा परिवर्तन आउँदै गर्दा स्वभाविक फरक बानी, व्यवहार, क्रियाकलाप सबैमा देखिँदै जान्छ। नारीमा पुरुषत्व र पुरुषमा नारीत्व पनि यसको ज्वलन्त उदाहरण हो। बदलिँदो बैश्विक परिवेश, शहरीकरण, आधुनिकीकरण, आवश्यकतामा वृद्धिले पनि लैंगिक अनेकता स्थापित गर्न जोड दिएको पाइन्छ। छोरी र छोराबीचमा उमेरको ठूलो फरकले पनि अनेकतामा प्रभाव पार्छ।

हामी परिवर्तनलाई मन पराउँदैनौ र हामी अनेकताका विषयमा कहिले पनि कुरा गर्न चाहँदैनौं जब महिलाको कुरा आउँछ। भनिन्छ जब पुरुष बाउ बन्छ तब उसको दायित्वहरु बढ्दै गएको हुन्छ। तर आमाको विषयमा भने यस्तो कुरा हामी भन्दैनौँ। जब एक महिला आमा बन्छिन् तब उसको जीवन परिवर्तन हुन्छ र उसले पहिलाको जस्तो आफ्नो कामप्रति पनि दायित्व परिवर्तन हुन्छ। जब हामी समानताको कुरा गर्छौ तब हामी सोच्छौ कि एक महिलाले मेटेरनिटि लिभ कति पाईरहेको हुन्छ। एक महिलाले महिनामा एक दुई पटक पेट दुखेर बिरामी बिदा लिन्छे। तर समानताको कुरा गर्दै गर्दा हामीले के कुरा बुझन जरुरी हुन्छ, हामी सबै नागरिक समान त हौ तर उस्तै चाहि होईनौँ। हामी सबैको आआफनै अनेकता भने हुन्छ। समानता र अनेकताकासाथै मातृत्वपछिको भूमिकाबारे अझ प्रष्ट पार्न र अनुभव आदानप्रदान गर्न नेपाल रिपब्लिक मिडियाकी सिइओ समृद्धि ज्ञवालीलले तीन जना प्रेरणादायक महिलाहरु नेपाल प्रहरीकी डिएसपी बसुन्धरा खड्का, भाइनेटकी कार्यकारी निर्देशक सेवा पाठक र स्त्री रोग विशेषज्ञ डाक्टर किरन रेग्मीसँग कुराकानी गरेकी छन्।

‘मैले मेरो करिअरको सुरुवातमा विवाह गरे र त्यसको लगत्तै बच्चा पनि पाएँ। म मेरो मातृत्वमा प्रवेश गरेको हर दिन असाध्य सुन्दर रहेको थियो र यो आजसम्म पनि रहेको छ,’ डिएसपी बसुन्धरा आफ्नो विगत सम्झंदै भन्छिन्, ‘मेरो लिड थियो लैनचौरमा, जब मेरो बच्चा जम्मा ९ महिनाको थियो। ठमेलमा मलाई कमान्ड गर्नका लागि प्रपोज गरियो। मैले तुरुन्तै उत्तर दिनु परेको थियो करिब एक मिनेटमै। पुलिस चिफले नै मलाई यो प्रस्ताव राखेपछि मैले आफ्नो परिवार, बच्चा सबैको बारे बिर्से। यसको अर्थ मैले आफैलाई एक अफिसरको रुपमा हेरे र यो समय मेरो लागि आफ्नो नेतृत्व देखाउने समय थियो। यसको कारण म नयाँ महिला जो यो क्षेत्रमा रहेकी थिए उनीहरुको लागि नमुना बन्न चाहेको थिए। नत्र अरुले यो सोच्थे कि महिलाले मौका पाउदा पनि काम गर्न सक्दैनन्। अथवा आमा बन्दा यस्तो मौका गुम्छ भन्ने कसैलाई पनि महशुस नहोस भन्ने मलाई लाग्यो। यस कारण मैले आफ्नो बच्चालाई छोडेर यस कामको लागि अघि बढे।‘

यस्तै, म भायानेटमा आउँदा २ वर्षको बच्चा हुँदा आफुले भोगेकी अनुभव सुनाउँदै सेवा पाठक भन्छिन्, ‘ म काममा आउँदा मेरो बच्चा २ वर्षको थियो। त्यति बेला ३० जनाको हाम्रो टिम थियो। आज यो टिममा १३र१४ सय जना छन्। यो यात्रामा मेरो बच्चा सानो थियो। मेरो लागि मातृत्व भन्ने कुरा पनि पूरै नयाँ थियो। यो यात्रा मेरो लागि रिमार्केबेल रह्यो। यो यात्रामा मैले मेरो जीवनलाई कसरी सन्तुलन बनाउने भनेर सिके। कम्पनी र परिवारलाई मेरो उत्तिकै माया स्नेह चाहिएको थियो र अहिले दुबै टिनेजर अवस्थामा छन्। धेरै च’नौतीहरु आयो र मैले यसलाई पार गर्दै पनि गए। ‘

आजको युगमा यहि लैंगिक असमानतालाई सार्थक समानताको दिशामा लाने हो हो भने अनेकताको स्वीकार्यता नै जोड दिनुपर्ने देखिन्छ। बहस अब समानताको होईन समानताभित्र अनेकताको पहिचानको दिशामा केन्द्रीकृत हुनुपर्ने ठहर गर्न सक्ने अवस्थामा हामी आईपुगेका छौ। आमाप्रति छोरीको लगाव र छोरीप्रति बुवाको लगाव, त्यसैगरि छोराप्रति छोरीभन्दा पनि कैयौं गुणा बढी माया लगाव आमाको नै हुन्छ। यसमा केही अपवाद हुन सक्लान् तर यसलाई अस्वीकार्य गर्ने ठाउँ नै छैन, यो अनेकताको नै बिशेषता मान्नु पर्छ।

यसैगरि समानतार अनेकताकै विषयमा रहेर डा. किरन रेग्मीले आफूले आमा बन्दा सामना गरेका चुनौतीका विषयमा सम्झिन्छिन्, ‘मेरो जीवनको परिवर्तन म आमा बनेपछि भयो। मैले मेरो २५ दिनको बच्चालाई आमासंग छोडेर बागलुंग जुन ३४ वर्ष अगाडि दुर्गम क्षेत्र थियो म हिडेर पुगे। यो मेरो जीवनको पहिलो सफलता थियो। लोक सेवाको परीक्षा दिएर म अस्थायी भएँ। मेरो जीवनमा एकपछि अर्को सफलता आउँदै गयो। मैले पिएचडी गरेँ। बच्चा पाएपछि मैले आफ्नो शिक्षामा सफलता पाएँ। अन्य सफलता पाएपछि मेरो लागि मेरो बच्चा मेरो वरदान भयो।‘

आमा बन्ने रहर समयानुकूल र परिस्थिति अनुकूलको वातावरणले तय गर्ने विषय पनि हो। यदि वातावरण र परिस्थिति सोचेजस्तो अवस्थाको छैन भने आमा बन्ने रहर उत्पन्न नहुन पनि सक्छ,। र बाध्यात्मक मातृत्व र प्रतिकुल मातृत्व भयो भने त्यो परिवार विखण्डनको प्रमुख कारक बन्न पुग्छ,। यो सत्यको पहिचान समयमा भयो भने मातृत्व उत्सवको रुपमा र पारिवारीक संयोजनको कारण बन्न सक्छ।

प्रकाशित: २८ वैशाख २०७८ १६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App