३ कार्तिक २०७८ बुधबार
भिडियो

सुरक्षित आमा : सुरक्षित भविष्य डा. निराको साथमा (पार्ट २)

नर्मल डेलिभरी कि सिजेरियन डेलिभरी!

सरकारी तथा गैरसरकारी (निजी) अस्पताल तथा नर्सिंगहोमहरुमा दिन प्रतिदिन बढी रहेको सिजेरियन डेलिभरीको संख्यात्मक वृद्धिदरले अधिकांश महिलालाई अप्ठयारोमा पारिदिएको छ। विवाहित सबै महिलाहरु गर्भवती भएको अवस्थामा यही चाहन्छन् कि मेरो प्रसव प्रकृतिक रुपमा स्वभाविक किसिमले होस्। अपरेसन गर्न नपरोस्। तर, यो कुरा आधुनिक चिकित्सामा सँधै र सबै गर्भवती महिलाका लागि सामान्य प्रसव गराउन संभव हुँदैन र छैन पनि। नेपाल रिपब्लिक मिडियाकी सिइओ सम्वृद्धि ज्ञवालीले 'मम्मा नेपाल' कार्यक्रममार्फत् ल्याप्रोस्कोपिक सर्जन डा. निरा सिंह श्रेष्ठसँग गरिएको छलफलमा श्रेष्ठ भन्छिन्, ‘चिकित्सकले कहिले पनि अपरेसनबाट प्रसूति हुन सुझाउँदैनन्। महिलाको स्वास्थ्य अवस्था हेरेर नै नर्मल वा अपरेसन प्रसूतिबारे निर्णय गरिन्छ। तर कहिलेकाहीं गर्भवती आफैंले सिजेरियन डेलिभरीका लागि अनुरोध गर्छन्।' 

अपरेसनबाट प्रसूति गराउँदा धेरै परिवारले चिकित्सक, अस्पताल तथा क्लिनिकलाई नै दोष दिएको पाइन्छ। अस्पतालले सहजता र पैसाका लागि अपरेसन गर्‍यो भन्ने खालका प्रचार पनि सुनिन्छ। तर प्रसूतिको बखत हुने असह्य पीडा र दुखाईबाट बच्न प्रायः महिलाहरु नर्मल डेलिभरी गर्न डराउने गरेको डा. श्रेष्ठको भनाइ छ। उनी भन्छिन्, ‘सकेसम्म हामीले महिलाको नर्मल डेलिभरी नै गराउँछौं। यदि महिला शारीरिक तथा मानसिक रुपमा डेलिभरीप्रति विक्षिप्त छिन् वा कुनै प्रकारको असहज भयो भने मात्र सिजेरियन डेलिभरी गरिन्छ।’

गर्भवती महिलाले खानपान र शारीरिक व्यायामा पनि बिशेष ध्यान दिनुपर्ने उनी बताउँछिन्। यस समयमा महिलाले आफ्नो गर्भमा रहेको बच्चालाई ध्यानमा राखेर खानु पर्छ। आमाको शारीरिक र मानसिक रुपमा स्वस्थ रहनु पर्छ।  

सामान्यतया सिजेरियन डेलिभरी पनि दुई प्रकारको हुने गर्छ। एउटा सामान्यतया योनीको बाहिरको भागमा चिरा गरेर गरिएको हुन्छ भने अर्को बच्चाको अवस्था असामान्य भएको बखत पाठेघरको साइडबाट पेट चिर्दै बच्चा निकालिने प्रक्रियालाई भनिन्छ।

यस्तै, शल्यक्रियाको माध्यमबाट महिलाको पेटचिरेर बच्चालाई बाहिर निकाल्ने कार्यलाई सिजेरियन सेक्सन पनि भन्दछन्। सामान्य डेलिभरी हुनुपर्ने ठाउँमा सिजेरियन अपरेसन गर्नुपर्नुका धेरै कारणहरु हुन्छन्। जस्तैः महिलाको गर्भमा बच्चा उल्टो बसेको छ या बच्चा माथितिर सरेको छ अथवा महिलाको नितम्ब साँगुरो छ।

बच्चा ज्यादै स्वस्थ तथा टाउको ठूलो छ भने यस्तो अवस्थामा सुरक्षित प्रसव गराउन तथा आमा र बच्चा दुबैलाई बचाउनको लागि अपरेसनको आवश्यकता पर्छ। उपरोक्त अवस्थामा यदि सामान्य प्रसव गराउने कोशिस गरेको खण्डमा बच्चाको शरीर आधी बाहिर निस्किन्छ भने आधी भित्रै फस्छ। यसबाट बच्चालाई साँस फेर्न अपठ्यारो हुन्छ। यस अवस्थामा बच्चाको मृत्यु हुने गर्दछ। यस किसिमको खतरनाक परिस्थितिबाट बच्नको लागि सिजेरियन सेक्सन अर्थात अपरेसन गरेर बच्चा निकाल्नु पर्ने हुन्छ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो पटक गर्भवती हुन २० देखि ३० वर्षको उमेर उपयूक्त हुन्छ। कानूनी रुपमा, विवाह गर्न महिला र पुरुष दुवैले कम्तीमा २० वर्ष नाघेको हुनुपर्दछ। सानो उमेरमा हुने गर्भधारण आमा र शिशु दुवैका लागि खतरापूर्ण हुन्छ। जति सानो उमेरमा गर्भधारण गर्दा खतरा हुन्छ, त्यतिनै ठूलो उमेर अर्थात् ३५ वर्ष कटेपछि गाह्रो हुने चिकित्सकहरु बताउँछन्।

अहिले धेरै मानिसहरु करिअर तथा अध्ययन केन्द्रित भएकाले ढिलो विवाह गर्ने चलन बढ्दो छ। यसले करिअर तथा भविष्य राम्रो भए पनि प्रजननमा भने असर पुग्नसक्छ। ३५ वर्षभन्दा ढिलो सन्तान जन्माउन चाहने महिलामा बच्चा बस्न गाह्रो हुने तथा बच्चा बसे पनि आमा तथा गर्भस्थ शिशु दुवैको स्वास्थ्यमा जोखिम धेरै हुन्छ।

यस्ता महिलाले जन्माउने शिशुमा डाउन सिन्ड्रोम देखापर्न सक्छ। पेटमा शिशु हुर्कने सम्भावना पनि कम हुन्छ। ढिलो विवाह गर्ने महिलाको पनि प्रि–म्याचोर डेलिभरी (समय नपुगी डेलिभरी) हुनसक्छ वा शिशु स्वस्थ हुँदैन। ढिलो सन्तान जन्माउँदा नर्मल डेलिभरी हुने सम्भावना कम हुनुका साथै गर्भ तुहिनेसम्म हुनसक्ने डा. श्रेष्ठका भनाइ छ।

अर्कातर्फ स्वस्थ शिशुको जन्म नहुने सम्भावना पनि उत्तिकै हन्छ। गर्भावस्थामा मधुमेह तथा रक्तचाप देखापर्न सक्छ। कतिपय अवस्थामा आमाले बच्चा जन्माउन नसकेर मृत्युसम्म भएका खबरहरु पनि आइरहेका हुन्छन्।

त्यसैले हरेक दम्पतीले परिपक्व भएपछि मात्र सन्तानको योजना गर्नु बुद्धिमानी हुन्छ। तयारी गरेको तीन–चार महिनादेखि फोलिक एसिड सेवन गर्नुपर्छ। गर्भवती हुनुअघि प्रि–प्रिग्नेन्सी स्क्रिनिङ गराउनु उपयुक्त हुन्छ। रगतको हेमाटोलोजी जाँच, दिसा–पिसाब, भिटामिन डी लेबल तथा अल्ट्रासाउन्ड गराउनुपर्छ ।

गर्भावस्थाको सुरु तथा अन्तिमको तीन महिना भने विशेष सतर्कता अपनाउनुपर्ने डा. श्रेष्ठको सुझाव छ। गर्भावस्थामा थाक्ने गरी कुनै काम गर्नुहुँदैन। गह्रौं भारी उचाल्नुहुँदैन। लामो यात्रा गर्नु हुँदैन। गर्भावस्थाका दौरान पौष्टिक आहार खानुपर्छ। यतिबेला महिलालाई परिवारका सदस्यहरूले पनि अन्य बेलाको भन्दा धेरै सहयोग गर्नुपर्दछ।

सामान्य प्रसूतिको सम्बन्धमा तीन महिना पुगेपछि केही कुराहरुमा ध्यान दिनसकेमा पनि सफल प्रसूतिमा मद्दत हुन सक्छ। हल्का ब्यायाम, हिडाई, बिस्तारै उठबसको साथसाथै ६ महिनाबाट कालो चिया अथवा कफिको दैनिक ४/५ पटकको सेवनले शरीरमा पानीको कमीलाई पूरा गर्नमा मद्दत गर्दछ।

आमा र बच्चाको अवस्था सामान्य छ भने नर्मल डेलिभरी गराउन डा. श्रेष्ठ अनुरोध गर्छिन्।

प्रकाशित: ५ वैशाख २०७८ १९:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App