१६ चैत्र २०८० शुक्रबार
भिडियो

राष्ट्रपति भण्डारीको भूमिका पक्षपात र गुटबन्दीले ग्रस्त छ : रामकुरमारी झाँक्री

फाइल तस्बिर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूही नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका पक्षपात र गुटबन्दीले ग्रस्त रहेको दोहोर्‍याएकी छन्। निरन्तर राष्ट्रपति भण्डारीविरुद्ध अभिव्यक्ति दिँदै आएकी नेतृ झाँक्रीले नागरिक फ्रन्टलाइनमा बुधबार साँझ सुवास घिमिरेसँगको कुराकानीका क्रममा राष्ट्रपति भण्डारीले पकट–पटक बदनियतपूर्ण कदम चाल्न थालेपछि आफूले त्यसविरुद्ध बोलेको बताएकी हुन्।

उनले प्रधानमन्त्रीको हरेक निर्णयमा ‘लालमोहर’ लगाउने राष्ट्रपति भण्डारीले ९४ जनाको हस्ताक्षर रहेको निवेदनलाई दर्ता नगर्नुले पनि राष्ट्रप्रतिको भूमिकालाई प्रस्ट्याउने बताइन्। ‘कार्यकारी प्रधानमन्त्रीले भनेको कुरामा लालमोहर लगाइहाल्ने हो भने ९४ जना सांसदहरुले लगेको निवेदन चाहिँ किन दर्ता नगरेको? अनि त्योभन्दा अगाडिको प्रधानमन्त्रीले मनोनित गरेर पठाएका तीन–तीन जना राष्ट्रियसभाका सदस्यलाई किन नियुक्ति नदिएको त?,’ नेतृ झाँक्रीले भनिन्,‘त्यसकारण राष्ट्रपतिको भूमिका पक्षपातपूर्ण। गुटबन्दीले ग्रस्त छ। र, उहाँको नियत बदनियतपूर्ण छ। त्यही भएर हामीजस्ता मान्छेले राष्ट्रपति संस्थाप्रति होइन, राष्ट्रपति व्यक्तिप्रति प्रश्न गर्न पाइन्छ भनको हो।’

संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक हरेक नागरिकले उपभोग गर्न पाउने भएपनि सामाजिक मर्यादा भने कायम राख्नुपर्नेमा आफू स्पष्ट रहेको उनको भनाई छ। तर, आफूले राष्ट्रपति भण्डारीको राजनीतिक पृष्ठभुमिलाई लिएर अभिव्यक्ति दिएको उनले बताइन्।

‘संविधाले हरेक नागरिकलाई अभिव्यक्ति स्वतन्त्रताको हक दिएको छ। तर, ती अभिव्यक्तिहरु सामाजिक मर्यादाका हुनैपर्छ,’ उनले भनिन्,‘मैले बोलेको कुरा मर्यादित भयो कि भएन भन्दा, मेरो ‘कन्टेक्स्ट’ मा हेर्नुपर्छ। राष्ट्रपति भण्डारी जुन पृष्ठभूमिबाट राजनीतिमा आउनुभयो, एमालेले जसरी हुर्काउँदै ल्यायो, एमाले भित्रको गुटले जसरी हुर्काउँदै ल्यायो। हो, त्यो हुर्काई र त्यो आएको पृष्ठभूमिबाट उहाँ जसरी राष्ट्रपति हुनुभयो। उहाँ चाहिँ गुटभन्दा माथि उठ्नुभएन। पार्टीको त साझा हुँदै हुनुभएन, राष्ट्रको हुने त कुरै भएन। त्यसकारण उहाँको पृष्ठभूमिले यो काम गर्‍यो भनेकी हुँ।  मदन भण्डारीको हत्यापछि ‘इमोसन्ली’ उहाँले भोट प्राप्त गर्ने भएकाले पार्टीले अघि सार्‍यो।’

गत माघ १६ गते गोरखामा आयोजित एक कार्यक्रममा नेतृ झाँक्रीले ‘विद्या भण्डारीलाई सेतो साडीमा चुनाव लडाउनु गल्ती थियो’ भन्दै राष्ट्रपतिको कडा आलोचना गरेकी थिइन्। सोही अभिव्यक्तिलाई लिएर ओली समूहका महिला नेत्रीहरुले उनलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए। त्यसपछि झाँक्रीलाई माघ २९ गते राज्यविरुद्धको कसुर अन्तर्गत प्रहरीले पक्राउ गरेर सोधपुछपछि सोही दिन छाडेको थियो।

प्रकाशित: ६ फाल्गुन २०७७ ०८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App