२६ वैशाख २०८१ बुधबार
image/svg+xml
भिडियो

नगरकोट सडक विस्तारका ६ वर्ष, जम्मा दुई किलोमिटर कालोपत्रे (भिडियो रिपोर्ट)

भक्तपुर - नेपाल भ्रमण वर्ष २०२० नजिकिएको छ। तर पनि नेपालकै प्रमुखमध्येको एक पर्यटकीय आकर्षण केन्द्र भक्तपुरको नगरकोटबासीलाई ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको छ यतिबेला।

भक्तपुरबाट नगरकोट पुग्ने नगरकोट सडकखण्डको विस्तारमा ढिलाई भई भ्रमण वर्षसम्म पनि निर्माण सम्पन्न नहुने देखिएपछि उनीहरु निराश छन्। सडक विस्तार कार्य सम्पन्न भई भ्रमण वर्षमा पनि पर्यटक तान्न नसकिने भएपछि उनीहरु निराश बनेका हुन्।

दुई वर्षमा सकिने सम्झौताका साथ सुरु भएको भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म पुग्ने १६ किलोमिटर लामो सडक विस्तार आयोजना ६ वर्ष वितिसक्दा पनि उल्लेख्य काम हुन सकेको छैन। सडकको दुराअवस्थाकै कारण पर्यटक नआएर हैरान उनीहरुलाई भ्रमण वर्षको महत्वकांक्षी सरकारको योजनाले पनि उत्साहित बनाउन सकेको छैन।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङ नगरकोटका लागि अहिले सवैभन्दा जल्दोवल्दो समस्या नै सडक विस्तारमा ढिलाई भएको बताउँछन्। पर्यटकहरु नगरकोट पुगेर रिसेप्सनमा पुग्ने वितिकै पहिलो गुनासो सडकको दुरावस्थाकाबारेमा कुरा गर्ने उनले बताए।

नगरकोट सडक विस्तार आयोजना यथाशिघ्र सम्पन्न गर्न दवाव दिन आफूहरुले धेरै निकायमा धाएको उनी स्मरण गर्छन्। तर कहीकतैबाट केही नभएकोमा उनको दिक्दारी छ।

सडक विस्तारमा भएको ढिलाईप्रति स्थानीय पनि आक्रोशित छन्। नगरकोट सडक कहिले सम्पन्न हुने भनी उनीहरुको प्रश्न छ।

अब पनि सडक विस्तार यथाशिघ्र नगर्ने हो भने काठमाडौंमै धर्ना जुलुशमा जानुको विकल्प नभएको चेतावनी उनीहरु दिन्छन्।

सडकखण्डको झण्डै दुई किलोमिटर काम सेकर कालोपत्रेसमेत भएको छ। कमलविनायकदेखि आर्मी व्यारेकसम्मको सडक विस्तार गरी कालोपत्रेसमेत भएको हो। तर विडम्वना कालोपत्रे सकेको सडकखण्ड पनि निर्माण सम्पन्न नहुँदै काम गर्न बाँकी सडक भन्दा बढी विग्रिसकेको छ। काम सम्पन्न (कालोपत्रे हुन) बाँकी भन्दा बढी खाल्डाखुल्डी काम सम्पन्न भएको सडकखण्डमा छ।   

सडक विस्तारको क्रममा काम सम्पन्न भएको सडकखण्डदेखि माथि नगरकोटतिरको सबै सडक भने निर्माणाधिन छ। कालोपत्रे गरिसकेको सडक भन्दा माथिको नगरकोटतिरको विस्तारित सडकमा भने अहिले ग्राभेलिङको काम सम्पन्न भएको छ।

सडक समयमै नभएपछि स्थानीय युवाको सक्रियतामा दवाव समिति पनि गठन भएको छ। स्थानीय राजकुमार लामिछानेको नेतृत्वमा युवाहरुले दवाव समिति गठन गरेका छन्। समितिले काम छिटो सम्पन्न गराउनका लागि दवावमूलक कार्यक्रम गर्दै आएको जनाएको छ।

चार मिटर फराकिलो चौडाईको दुई लेनको सडकलाई हाल सात मिटरको चार लेन फराकिलो गरी कालोपत्रे बनाउने योजना चलिरहेको छ तर त्यो कछुवा गतिमा छ। अहिले ठाउँ ठाउँमा नाली निर्माण गर्ने र ग्राभेलिंङको काम भइरहेको छ। 

रिपोर्टिङको क्रममा १६ किलोमिटर लामो सडक खण्डको दुई ठाउँमा मात्रै काम गरिरहेको भेटिएको छ। एक ठाउँमा केही निर्माण मजदुरहरु नालीको काम गरिरहेको र अर्को एक ठाउँमा केही प्राविधिक (इन्जिनियर, सव इन्जिनियरहरु) सर्भे गर्दै गरेको भेटियो। सडक विस्तारको लागि न एउटा डोजर देखियो न अन्य कुनै सामानहरु नै।

सडक विभागअन्तर्गत भक्तपुर (नगरकोट-सिपाघाट सडक विस्तार योजनाले ठेक्कामार्फत सडक विस्तार कार्य गराउन लगाइराखेको हो। पहिलो चरणमा भक्तपुर- नगरकोट जाने सडक विस्तार सुरु गरेको हो। सडक साँघुरो हुँदै गएको, सडक मिचेर घर टहरा, पसल निर्माण विस्तार हुँदै गएर अव्यवस्थित भएपछि आयोजनाले मापदण्ड विपरितको घरटहरा भत्काउँदै ६ वर्ष अगाडिबाट सडक विस्तार गर्न सुरु गरेको थियो। पहिलो चरणको योजनापछि नगरकोटबाट करिव २० किलोमिटरको सिपाघाटसम्मको सडक विस्तार गर्ने योजना रहेको जनाइएको छ।

पहिला नै कालोपत्रे रहेको एक लेन सडकलाई दुई लेनको विस्तारको क्रममा अहिले कालोपत्रेसमेत माटेबाटोमा परिणत छ। काम सुरु गर्ने क्रममा अहिले सबै कालोपत्रे माटे बाटोमा परिणत छ। सडक निरीक्षणको क्रममा झण्डै सवैतिर नाली बनाउने काम भने सम्पन्न हुने चरणमा देखिएको छ। सवारीसाधन गुड्दा धुलो उडेर स्थानीय हैरान छन्।

सडक निर्माण छिटो सकाउन ताकेता गर्दै गरे पनि कुनै सुनुवाई हुन नसकेको स्थानीयहरुले जनाए। ‘यसका लागि सडक विभाग धेरै पुग्यौ, तर कसैबाट केही वास्तै भएन, सवैतिरबाट एकअर्कालाई पन्छाउने काम मात्रै पायौं, स्थानीयले एउटै स्वरमा भने, ‘केन्द्रियस्तरको योजना भएकोले हाम्रो आवाजको कसैबाट सुनुवाई नै भएन।’

सडककै कारण नगरकोट पुग्ने बाह्य पर्यटकको संख्यामा कमी आएको होटल व्यवसायीको भनाई छ। भूकम्पमा भत्के, चर्केका होटलहरूसमेत पुनर्निर्माण र मर्मतपछि पुनः सञ्चालनमा ल्याए पनि अपेक्षाकृत पर्यटकहरु नगरकोट आइनपुग्दा व्यवसायीहरू चिन्तित बनेका हुन्।

समितिको तथ्यांक अनुसार नगरकोटमा साना ठूला गरी पाँच दर्जन भन्दा बढी होटलहरु रहेका छन्। तिनीहरुमा दैनिक आठ सयदेखि आठ सय ५० कोठाहरु रहेका छन् पर्यटकलाई बसाउन। तथ्यांक अनुसार अहिले यहाँ सिजनमा दैनिक एक हजादेखि एक हजार दुई सय र अफ सिजनमा दैनिक पाँच सयदेखि ६ सय पर्यटकहरु आइरहेका छन्। यहाँ आउने पर्यटकहरुसँग चाँगुनारायण र काभ्रेको मदनदेउपुर नगरपालिकाले संयुक्त रुपमा प्रवेश शुल्क पनि उठाउँदै आएको छ। भक्तपुर र काभ्रेको सिमानाको रुपमा रहेको यस ठाउँमा आउने गैर सार्क राष्टका पर्यटकहरुसँग प्रति पर्यटक तीन सय ३९ र सार्क राष्ट्रका पर्यटकहरुसँग दुई सय २६ रुपैयाँ प्रवेश शुल्क उठाउँदै आएको छ।

सडक विस्तार कार्य यथाशिघ्र सकाउन आफ्नोतर्फबाट पनि निरन्तर प्रयास भइरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट बताउँछन्।

एक्जिम बैंक इन्डियाको सहयोगमा विस्तार भएको सडकको निर्माण आव २०७२/७३ भित्र सम्पन्न गरिसक्ने योजना थियो। तर हालसम्म सकेको दुई किलोमिटर सडकको अवस्था पनि निर्माण गर्न बाँकी भन्दा दुरु अवस्थामा छ।

आरामाली इन्फ्रा पावर लिमिडेट र शैलुङ कन्स्ट्रक्सन कम्पनीले संयुक्त रुपमा सडक निर्माणको जिम्मा पाएको थियो। सडक विभाग अन्तर्गतको भक्तपुर-नगरकोट- सिपाघाट सडक विस्तार योजना अन्तर्गत काम भएको हो।

भक्तपुरबाट नगरेकाट पुग्ने मुख्य सडक जीर्ण भए पनि काठमाडौं र भक्तपुरकै अर्को बाटो भएर नगरकोट पुग्न सकिन्छ। तर ती सडक पनि जीर्ण भएका कारण पर्यटक बोक्ने ठूला तथा साना गाडी उक्त सडक भएर जान मान्दैनन्। भक्तपुरको भत्केको पाटीबाट सुडाल - जीतपुर - थाकलमठ -कलमसी हुँदै नगरकोट टावर भएर नगरेकाट पुग्ने बैकल्पिक सडक पनि जीर्ण छ।

पहुँचवालासँगको ठेकदारको नजिकको सम्वन्धले आफूहरुको ताकेताको बेवास्त हुँदै आएको स्थानीयको भनाई छ। सडक विस्तारको ठेक्का पाएको शैलुग कन्सट्रक्सनका मालिक शारदाप्रसाद अधिकारी नेकपाका अध्यक्ष प्रचण्डका घरबेटी हुन्।

६ बर्षदेखि हिमाम्मे धुलाम्मे

भत्केकोपाटीदेखि नगरकोट बसपार्कसम्म पुग्ने बाटो करिब १६ किलोमिटर छ। तर कम्पनीले सडक निर्माण गर्न बेलाबेलामा विभिन्न बहानाबाजी गर्दै आएको छ। सडक नबनेको मारमा स्थानीय, यात्रु र पर्यटकहरुले विगत ६ बर्षदेखि धुलो, धुँवा र हिलोको समस्या झेलिरहेका छन्। उक्त सडक कालोपत्र नहुँदा चाँगुनारायण नगरपालिकाका बासिन्दा समेत पीडित बनेको स्थानीयले बताए। उक्त सडक बनाउन स्थानीयले पटकपटक आन्दोलन गरे, दबाब दिए तर पनि अहिलसम्म पुरै सडक कालोपत्र भएको छैन।

सडक नबनेपछि स्थानीयले जनप्रतिनिधि, ठेकेदार, नेतालाई दबाब दिन विभिन्न अभियान नै चलाए। तै पनि ठेकेदारले नटेरेको स्थानीयको भनाई छ। चाँगुनारायण नगरपालिकाले त सडक निर्माणका लागि संसदको विकास समितिलाई नै गुहार्यो। नेताहरुले पनि बाटोको अनुगमन गरे। ठेकेदार कम्पनीलाई तत्काल काम थाल्न निर्देशन दिए।

काम ढिलासुस्ती गर्ने कम्पनीलाई सरकारले कारबाही गर्ने, क्षतिपूर्ति तिराउने वा कालोसूचीमा राख्नसक्ने भएता पनि ठेकेदार अधिकारी र उनको कम्पनीलाई भने सरकारले नै संरक्षण गरिरहेको विभिन्न घटनाक्रमले पुष्टि हुँदै आएको छ।

सडककै कारण पर्यटनमा समस्या

भक्तपुर र काभ्रेको सीमानामा रहेको चर्चित पर्यटकीयस्थल नगरकोटमा दैनिक सयौं पर्यटक पुग्ने गरेका छन्। नगरकोटबाट देखिने विभिन्न हिमालको मनोरम दृश्य, सूर्य उदाएको तथा अस्ताएको हेर्ने प्रमुख आकर्षक गन्तव्य रुपमा नगरकोटलाई चिनिन्छ। तर सडकको दुरावास्ताका कारण पर्यटक त्यहाँ जान रुचाउन छाडेको पछिल्लो तथ्याङ्कले देखाएको छ।

पर्यटकलाई बोक्ने गाडी भासिने, डुब्ने, फस्नेलगायतका समस्या रहेका छन्। त्यस कारण यहाँ आउने पर्यटक अन्यत्र डाइभर्ट हुने गरेका छन्।

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले पर्यटकीय गन्तव्य नगरकोट जाने सडक विस्तारमा ठेकेदारले लापारबाही गरेको भन्दै समयमै काम सम्पन्न गर्न निर्देशन पनि दिएका थिए। सम्झौंता म्याद सकिएको बषौं भयो तर सडक बनेन। उक्त सडक एक्जिम बैंक इन्डियाको १ प्रतिशत ऋण सहयोगमा करसहित ३१ करोड ५२ लाख ९२ हजार रुपैयाँलगातमा विस्तार कार्य थालिएको थियो।

तत्काल सडक नबने भ्रमण बर्ष २०२० को कुनै अर्थ रहन्न। कालोपत्र गरिएको सडक समेत खाडल बनिसकेको छ। तत्काल सडक निर्माण गर्न सरकारले कदम चाल्नुपर्ने देखिन्छ। संघीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले ताकेता गर्दा पनि सकड बनाउने जिम्मा लिएको ठेकेदार कम्पनी नटेरेको स्थानीयको गुनासो छ।

प्रकाशित: २७ कार्तिक २०७६ ०६:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App