१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
भिडियो

किन बढ्दैछ डेंगी ? यसरी बचौं संक्रमणबाट (भिडियो रिपोर्ट)

काठमाडौं – प्राय तराईमा देखिने डेंगीको प्रकोप यस पटक पहाडी भेगसँगै काठमाडौंमा पनि देखिएको छ। धेरै मानिसमा डेंगीको संक्रमण देखिएलगत्तै यसले अहिले महामारीको रुप लिन सक्ने खतरा पनि बढेको छ। धरानबाट फैलिएको डेंगी ५६ भन्दा बढी जिल्लामा देखिएको छ।

यस वर्षको सुरुमा वैशाख ३० गते धरानामा डेंगीको संक्रमण देखिएको थियो। संक्रमण फैलिएको डेंगी रोगले पछिल्ला दिनहरुमा ६ जिल्लामा महामारीको रुप लिएको छ भने ५६ वटा जिल्लामा यसको संक्रमण देखिएको छ। अचानक भयावहको स्थितिमा पुगेको डेंगीले अहिले जताजतै त्रास फैलाएको छ। मानिसहरु अहिले सामान्य टाउको दुखाइ तथा ज्वरोमा समेत डेंगीको जाँच गराउन अस्पताल पुग्ने गरेका छन्।

काठमाडौंको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल, टेकुमा  दिनदिनै ठूलो संख्यामा मानिसहरु डेंगीको जाँच गराउन लामबद्ध देखिन्छन्। यस्तै, टिकट काट्ने लाइनमा उभिएकी छिन्, ढल्कुकी तुलसी राणा। विगत केही हप्तादेखि काठमाडौंमा पनि डेंगीको संक्रमण फैलिएको सुनेपछि त्रासमा छिन् उनी। रातिदेखि खोकी लाग्ने र टाउको दुख्ने भएपछि डेंगीको आशंका गर्दै अहिले टेकु अस्पतालमा जाँच गराउन आएकी हुन्। राणा मात्र होइन अहिले धेरै बिरामी डेंगी कै आशंकामा यस अस्पतालमा जाँच गराउन आइरहेका छन्। सुन्दरीजल बस्ने रीता केसी पनि डेंगी संक्रमणको डरले जाँच गराउन अस्पताल पुगिन्। उनलाई पनि टाउको दुख्ने तथा वाकवकी लाग्ने भएकाले डेंगी हुन सक्ने भन्दै यहाँ आएको सुनाइन्।

डेंगीले दिनप्रतिदिन उग्ररुप लिदैं गर्दा शुकराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा बिरामीहरुको अत्यधिक चाप बढेको छ। वैशाख १ गतेदेखि भर्ना भएर उपचार गराएर घर फर्कने विरामीको संख्या १ सय २९ रहेको छ भने हाल भर्ना भएका विरामीको संख्या २३ छ। पछिल्लो नौं दिनमा रगत परीक्षण गराउने बिरामीको संख्या १ हजार २ सय ७२ रहेको छ। परीक्षण गराएका  विरामीहरु मध्ये १ सय ४२ जनामा डेंगीको संक्रमण फेला परेको छ। यस्तै, यो साता आइतवार मात्र ३ सय ६३ जना रगत परीक्षणका लागि आएका र ती मध्ये १ सय ९४ जनामा संक्रमण भेटिएको हो। सोमवार परीक्षण गराएका ४ सय ४६ जना मध्ये ३ सय ११ जना संक्रमीत थिए। यस्तै, मंगलबार ५ सय ४६ मध्ये २ सय २५ मा संक्रमण रहेको अस्पतालको तथ्याँकले देखाएको छ। 

पछिल्लो पाँच वर्षको तथ्यांकलाई नियाल्दा डेंगीको संक्रमण करिब ११ गुणाले वृद्धि भएको छ। डेंगी रोगको अवस्था गएको आर्थिक वर्ष २०७०/७१ मा हेर्ने हो भने ३ सय दुई जना ०७१/७२ मा १ सय ३४ जना, ०७२/७३ मा १ हजार ५ सय २७ जना, ०७३/७४ मा २ हजार १ सय ११ जना, ०७४/७५ मा ८ सय ११ जना, ०७५/७६ मा ३ हजार ४ सय २४ जना, र यो आव ७६/७७ मा १ हजार २ सय ९ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकमा उल्लेख छ। यस्तै, प्रदेश अनुसार गएको साउन १ गतेदेखि भाद्र २४ गतेसम्म डेंगीको अवस्था हेर्ने हो भने, प्रदेश नं १ मा ८ सय ३१, प्रदेश नं २ मा ३९, प्रदेश नं ३ मा ३ हजार १ सय २६, गण्डकी प्रदेशमा ९ सय ७२, प्रदेश नं ५ मा ९७, यस्तै, कर्णाली प्रदेशमा ६, र सुदुरपश्चिम प्रदेशमा २७ गरी जम्मा ५ हजार ९५ जना मानिसहरु रहेका छन्।

यी मध्ये देशभरी मै डेंगीका कारण मृत्यु हुनेको संख्या हेर्दा सिन्धुपाल्चोक, सुनसरी, चीतवन र डोटीमा एक एक जना र काठमाडौंमा २ जना गरीजम्मा ६ जनाले ज्यान गुमाइसकेका छन्। डेंगी कै कारण जाँच गराउन दिनानुदिन आउने बिरामीको संख्या ह्वात्तै बढेको छ। पछिल्लो दिनहरुमा पहिलेको भन्दा तीन गुणाले मानिसहरु अस्पताल आउने गरेका छन्। डेंगीसँगै रुघाखोकी तथा अन्य रोगका विरामी पनि डेंगीको आशंकामा यहाँ आउने गरेको अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाले बताए।

उनका अनुसार धेरैजसो बिरामीहरु डेंगीको त्रासका कारणले जाँच गराउन आउनेको संख्या बढिरहेको छ। यसरी आउनले विरामीलाई परामर्श दिएर पठाउने गरेको पनि उनले बताए। डेंगी रोग सार्ने लामखुट्टेबाट बच्नु नै डेंगीबाट बच्ने प्रमुख उपाय भएको उनको भनाई छ।लामखुट्टेको टोकाइबाट बच्न घरवरिपरि सरसफाई गर्ने, झुल टाँग्ने, लामखुट्टेको लार्भालाई विकसित हुन सहयोग गर्ने वातावरणको नष्ट गर्ने तथा लामो बाउला भएको कपडा लगाउने सुझाव दिन्छन् डा. अनुप बास्तोला।

आर्थिक वर्ष ०७६/७७ मा केन्द्र, प्रदेश र स्थानीय सरकारका लागि डेंगी नियन्त्रण प्रयोजनका लागि ९ करोड ५४ लाख बजेट विनियोजन भएको छ। तीन तहका सरकार तथा गैरसरकारी संस्था मार्फत डेंगी नियन्त्रणका कार्यक्रमहरु सञ्चालन पनि भइरहेका छन्। तर, डेंगीको प्रकोप भने एकपछि अर्को गर्दै सबै जिल्लामा फैलिनेक्रम जारी छ। गत आर्थिक वर्षमा सरकारले डेंगी नियन्त्रणका लागि करिब ७ करोड खर्च गरेको तथ्यांक छ। तरपनि डेंगी रोकथामका लागि जति बजेट खर्च गर्दै आएको भएपनि कार्यक्रम प्रभावकारी हुन भने सकेको छैन्।

दुई साताअघि विश्व स्वास्थ्य संगठनको सहयोगमा विज्ञले काठमाडौंका विभिन्न क्षेत्रमा डेंगुीबारे अनुसन्धान गर्दा काठमाडौं उच्च जोखिममा रहेको देखिएको छ। काठमाडौंमा प्रशस्त मात्रामा डेंगी रोग सार्ने लामखुट्टेको लार्भा फेला परेको छ। सहरी क्षेत्रमा बढी मात्रामा सडकमा खल्डाखुल्डी गमला, टायर, बोतल पानी जम्ने तथा फोहोरका कारणले पनि डेंगीको संक्रमण बढ्ने गर्छ। साथै बर्षेनी बढ्रदै आएको जलवायु परिवर्तनका कारण बढेको तापक्रमले गर्दा पनि डेंगी सार्ने लामखुट्टेको लार्भा विकसित छिटो भइरहेको चिकित्सकहरु बताउँछन्।

चिकित्सकका अनुसार डेंगीको संक्रमण एक किसिमको एडिज लामखुट्टेले गराउँछ। हात मिलाउँदैमा, अँगालो मार्दैमा सँगै खाना खाँदैमा यो भाइरस सर्दैन। संक्रमित व्यक्तिलाई यदि कुनै लामखुट्टेले टोक्यो र त्यही लामखट्टेले अन्य स्वस्थ व्यक्तिलाई टोक्यो भने डेंगी सर्छ। पानी जम्ने ठाउँमा गर्मीमा र पानी बग्ने व्यवस्था राम्रोसँग नहुने ठाउँमा एडिज लामखुट्टे बढी सक्रिय हुने गर्छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ–२००९)का अनुसार डेंगी विदाउट साइन (लक्षण विनाको डेंगी) मा एकदमै बढी ज्वरो (१०२ डिग्री) आउँछ। यसका ५ देखि ७ दिनसम्म जिउ एकदमै दुख्ने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखामुनि दुख्ने जस्ता साधारण लक्षण हुन्। त्यस्तै, खटिरा आउने, रक्तस्राव बढी हुने, बान्ता हुने, शरीरमा प्लेटलेट्सको संख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकाले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, पिसाब कम हुने, रक्तचाप निकै कम हुने हुन्छन्। अधिकांश रोगी सामान्य उपचारपछि निको हुने भए पनि समय मै उपचार नगर्दा मानिसको ज्यानै जान सक्छ।

यस्तै, डेंगीबाट बच्ने उपायहरुमा लामखुट्टेको टोकाइबाट बच्नुपर्छ, घरवरपर पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्छ, घर नजिक तथा वरिपरि कुनै पनि किसिमका झाडी राख्नुहुँदैन, लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने वा लामखुट्टेको धूप वा क्रिम प्रयोग गर्नुपर्छ, झ्याल–ढोकामा जाली राख्नुपर्छ, शरीर पूरै ढाक्ने कपडा लगाउनुपर्छ, सरसफाइमा ध्यान दिनुपर्छ, आफ्नो घरवरिपिर मात्र नभई समुदाय, समाजलाई पनि सफासुग्घर राख्न मद्दत गर्नुपर्छ।

प्रकाशित: २७ भाद्र २०७६ १०:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App