coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
भिडियो

यसरी हुन्छ वैदेशिक रोजगारीमा मानव बेचबिखन (भिडियाे)

काठमाडाैं- आज मानव बेचबिखनविरुद्धको अन्तराष्ट्रिय दिवस। ‘मानव बेचबिखनः तपाइँको सरकारलाई कार्य गर्न बोलाउनुहोस्’ भन्ने नाराका साथ संसारभर यो दिवस मनाइँदै छ।

असुरक्षित वैदेशिक रोजगार वा स्थानान्तरणका कारण मानिसहरु बेचविखन तथा ओसारपसार र अन्य खालका जोखिममा परिरहेका छन्। असुरक्षित तवरले गरिने स्थानान्तरण र वैदेशिक रोजगारमा बेचबिखन तथा ओसारपसारको जोखिममा पर्ने सम्भावना बढी रहन्छ। विभिन्न प्रतिवेदनले वैदेशिक रोजगारी क्रमशः मानव बेचविखन तथा ओसारपसारको साधनको रुपमा दुरुपयोग हुने गरेको समेत औंल्याएका छन्।

वैदेशिक रोजगारमा जानेको संख्या बढ्दो अवस्थामा छ। रोजगारीका क्रममा विभिन्न प्रकारको शोषणमा परिरहनु परेको छ। कानुनी प्रक्रिया पूरा गरेर अथवा श्रम स्वीकृति लिएर जानेसँगै अवैध तरिकाले बाहिरिनेहरुको संख्या पनि ठूलो छ। विभिन्न बहानामा भारतको सिमाना पार हुँदै अथवा दिल्लीको बाटोबाट विभिन्न कामको खोजीमा  वैदेशिक रोजगारका लागि विभिन्न देशमा जाने नागरिकको संख्या ठुलो छ।

अवैधरूपमा विदेशिनेहरु दिनदिनै दुःख पाइरहेका छन्, अप्ठेरोमा परिरहेका छन्, अङ्गभङ्ग भइरहेका छन् भने कतिपय त आफ्नै ज्यान नै गुमाइरहेको अवस्था छ। विदेशिइ सकेपछिको अवस्थामा विभिन्न अप्ठ्यारा अवस्था आइपर्ने गरेका छन्। जे कामका लागि गएको हो सो काम नपाउने, भनेको जति तलब नपाउने, तलव नपाए स्वदेश फर्कन्छु भन्दा पनि बधुँवा मजदुर भएर काम गर्नुपर्ने बाध्यतामा उनीहरुमा छ।

यसरी राम्रो कामको प्रलोभन वा उज्यालो भविष्य बनाउने र आफ्नो जीवनस्तर उकास्ने योजना बनाउँदै वैदेशिक रोजगारमा लगिने वा जाने व्यक्तिहरु कुनै न कुनै प्रकारले मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परिरहेका छन्। महिला कामदारको स्थिति झनै संवेदनशील छ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६५ हाल कार्यान्वयनमा छ। ऐनले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानुनबमोजिम बाहेक मानिसको अङ्ग झिक्ने, वेश्यागमन गर्ने कार्यलाई नेपालको कानुनले बेचबिखन भनेको छ।

मानिसको किनबेचमा संलग्नलाई बढीमा बीस वर्ष कैद र दुई लाख रुपियाँ जरिवाना हुने व्यवस्था ऐनले गरेको छ। यो कानुनको महत्ववपूर्ण पक्ष उजुरीको कुनै हदम्याद तोकिएको छैन र जोसुकैले पनि उजुरी गर्न सक्छ। नेपाल सरकारले २०७५ जेठ २६ गते निर्णय गरी नेपाल प्रहरीअन्तर्गत मानव बेचबिखन अनुसन्धान ब्युरो गठन गरेको छ। ब्युरो स्थापना भएपछि मात्र २ सय ५१ जनालाई भारत, केन्या, लिबिया, कुवेत, किर्गिस्तान, इराकलगायतका देशबाट उद्धार गरिएको छ।

यसरी प्रतिबन्धित मुलुक भन्ने जानकारी हुदाँहुँदै आर्थिक प्रलोभनमा परि विदेश जानेको संख्या पनि ठुलो छ। नेपाल प्रहरी अन्तर्गत मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक इश्वरबाबु कार्कीले यौन शोषणका लागि हुने गरेको मानव बेचबिखनको घटनामा कमी आएको तर रोजगारीको नाममा संख्या बढेको बताए।

करिब दुइ महिना अघिमात्रै स्थापना भएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख कार्कीले कार्यालयमा दर्ता भएका उजुरी मध्ये वैदेशिक रोजगारीका नाममा हुनेगरेका बेचबिखनविरुद्धका उजुरीहरु अधिकांश रहेको बताएका छन्। तिनै मध्ये एक युवा वैदेशिक रोजगारीका क्रममा इराक पुग्छन र १० महिनामा एउटा कोठामा बन्धक बन्छन।

(उनीसँग गरिएको कुराकानीको सम्पादित अंश हामीले प्रकाशित /प्रशारित गरेका हाैं।)

प्रकाशित: १४ श्रावण २०७६ १३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App