coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
भिडियो

विश्वप्रकाश भन्छन् : राजनीतिमा उमेरले कुनै प्रभाव पार्दैन (भिडियाे)

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिमा उमेरले कुनै प्रभाव नपार्ने बताएका छन्। पछिल्लो समय कांग्रेसभित्र युवापुस्ताले पाका पुस्ता राजनीतिबाट बिदा लिनुपर्ने बताइरहेका बेला प्रवक्ता शर्माले यस्तो बताएका हुन्।

नागरिक नेटवर्कको कार्यक्रम नागरिक फ्रन्टलाइनमा प्रवक्ता शर्माले उमेरले कसैको योग्यता मापन नगर्ने बताए। ‘कपाल फुल्दैमा उसले नेतृत्व गर्न नसक्ने र कपाल कालो बनायो बन्दैमा उसले नेतृत्व गर्न सक्छ भन्ने मान्यता अन्त्य गर्नुपर्छ’, उनले भने, ‘पुस्ता हैन प्रवृत्तिको कुरा गर्नुपर्छ।’

प्रवक्ता शर्माले अहिले नै सभापतिकाे उम्मेदवारी घोषणा गरिहाल्ने बेला नआएको बताए। उनले समय आएपछि मात्रै उम्मेदवार घोषणा गर्नुपर्ने बताए। ‘अहिले उम्मेदवार घोषणा गर्ने बेला भएको छैन। समय आएपछि घोषणा गर्नु उचित हुन्छ’, उनले भने, ‘अहिले उम्मेदवार घोषणा गर्दा बच्चाको न्वरानमा गएर विवाहको बधाई छ भने जस्तो हुन्छ।’ उनले पार्टीमा सबै कार्यकर्तालाई सभापतिको उम्मेदवारमा प्रतिस्पर्धा गर्ने अधिकार भएको बताउँदै समय अगावै उम्मेदवारी घोषणा गर्नु उचित नहुने बताए।

पछिल्लो समय कांग्रेसमा हिन्दू धर्मको विषयले निकै चर्चा पाएको छ। महामन्त्री डा.शशांक कोइरालाले नै धर्मको विषय उठाएपछि कांग्रेसको आलोचना पनि भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कांग्रेसले धर्मको विषय उठाएको भन्दै आलोचनासमेत गरे।

प्रवक्ता शर्मा कांग्रेस पूर्ण प्रजातान्त्रिक पार्टी भएकाले सबैलाई आफ्नो विचार राख्न छुट भएको बताए। तर प्रधानमन्त्रीको भूमिकाप्रति भने उनले शंका व्यक्त गरे। ‘राजन्त्रको नारा लगाउने राप्रपासँग वार्ता गर्ने प्रधानमन्त्रीले राजा फाल्ने नेतृत्व गर्ने कांग्रेसलाई राजा ल्याउन लाग्यो भन्नु कतिको उचित हो?’, उनले भने, ‘केपी ओली हामी गणतन्त्रको आन्दोलनमा नेतृत्व गर्दै गर्दा गणतन्त्र ल्याउनु बयलगाढा चढेर अमेरिका जानुजस्तै हो भनेर भनेको भिडियो अहिले पनि हेर्न पाइन्छ।’

उनले आफूहरुले शालीन ढंगबाट प्रतिपक्षीको भूमिका निर्वाह गरेको बताए। ‘हामीले सरकारलाई सहजै काम गर्न दिएका छौं। उहाँहरु (कम्युनिस्ट) एक वर्ष प्रतिपक्षमा हुँदा कयौंपटक बन्द भएको थियो।

सडकमा टायर बालिएको थियो’, उनले भने, ‘हामी प्रतिपक्षमा भएको एक वर्षमा कतिपटक नेपाल बन्द भयो? हामीले सरकारलाई सहयोग गर्दा कमजोर प्रतिपक्षको आरोप खेप्नुपरेको छ।’

प्रकाशित: १२ वैशाख २०७६ १३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App