७ वैशाख २०८१ शुक्रबार
भिडियो

निर्मला र सुनकाण्डमा बचाउ गर्दै आइजिपीले भनेः प्रहरीप्रतिको ‘नेगेटिभ भ्यू’लाई जिरो बनाउँछु

काठमाडौं– प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले अपराध नियन्त्रणमा सबै जनता सचेत हुनुपर्ने बताएका छन्। २०७५ सालमा प्रहरीबाट भएका कार्यसम्पादन तथा उपलब्धीबारे जानकारी दिँदै खनालले संगठनको नेतृत्व आफूले सम्हालेपछि हासिल गरेको उपलब्धी नै पारदर्शिता र व्यवसायिकता रहेको बताए।

नेपाल प्रहरी पारदर्शी र व्यवसायिक भएको खनालको दाबी छ। ‘यहाँ नैतिक ह्रास भएको अवस्थामा प्रहरीले मात्र ठेगान लगाउँछु भन्ने कुरा कतिसम्म जान्छ। तर, लगाउनुपर्छ भन्ने मान्यतामा हामी छौं’, आइजिपी खनालले भने।

समुदाय प्रहरी साझेदारी राष्ट्रव्यापी सञ्जाल र अपराध रोकथाममा प्रणालीगत सुधार, संगठित र पेशेवर आपराधिक गतिविधि नियन्त्रण, सशस्त्र एबं बिध्वंसात्मक गतिविधिमा प्रभावकारी प्रहरी कारबाही र नियन्त्रणजस्ता काम आफ्नो नेतृत्वमा यो वर्ष भएका उपलब्धी भएको खनालको भनाइ छ।

‘शान्ति सुरक्षाको राम्रो अवस्था सिर्जना गर्न नेपाल प्रहरी कटिबद्ध छ। विकासको सन्दर्भमा आइपर्ने हरेक समस्या सटआउट गरेरै अघि बढ्छौं’, उनले भने। 

नेपाल प्रहरीप्रति रहेको नकारात्मक धारणालाई अन्त्य गरेरै छाड्ने खनालको दाबी छ। ‘नेपाल प्रहरीमा यस्तै थियो भनेर आउने नकारात्मक धारणालाई हामी न्यून होइन, जिरो बनाउन चाहन्छौं’, आइजिपी खनालले भने। मुलुकको शान्ति सुरक्षामा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले खेलेको भूमिका आ–आफ्नो ठाउँमा महत्वपूर्ण भए पनि खनाल भने आफू र आफ्नो संगठन अघिल्लो पंक्तिमै रहेको दाबी गरे। 

निर्मला पन्त प्रकरण, ३३ किलो सुन काण्ड तथा रामबहादुर बम्जन प्रकरणमा प्रहरी संगठन चुकेको भनेर आइजिपी खनालले स्वीकार नगरे पनि अनुसन्धानको दायरा र जिम्मेवारीको विषय देखाएर बचाऊ गरे।

सुरक्षा क्षेत्रमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि, विशिष्टिकृत अनुसन्धान इकाईहरुको स्थापना, प्रभावकारी प्रहरी परिचालनद्वारा कानून र व्यवस्था कायम, नयाँ मुलुकी अपराध संहिताको वस्तुनिष्ठ कार्यान्वयन, सांगठनिक व्यवस्थापनमा सूचना प्रविधिको विकास, प्रभावकारी ट्राफिक व्यवस्थापन र विपद् उद्धार आर्थिक अनुशासन र आन्तरिक सुपरीवेक्षण प्रणालीमा प्रभावकारिता प्रहरी संगठनले यो वर्ष आफ्नो नेतृत्वमा गरेका मुख्य कामको रुपमा खनालले चित्रण गरेका छन्। महानिरीक्षक खनालले नेपाल प्रहरी पूर्ण रुपमा पारदर्शी हुन चाहेको बताए।

प्रकाशित: ९ वैशाख २०७६ १२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App