७ वैशाख २०८१ शुक्रबार
भिडियो

नेपालको राहदानी किन महंगो ? (भिडियो)

काठमाडौं- नेपालको पासपोर्ट विश्वकै कम शक्तिशाली सूचीमा पर्छ। तर यसको मूल्यको हिसाबले छिमेकी देशहरु भन्दा निकै महँगो रहेको पाइएको छ। 

३२-पृष्ट लामो पासपोर्ट सामान्य प्रकियाबाट लिनको लागि रु ५,००० तिर्नु पर्छ। सामान्य प्रक्रियाबाट पासपोर्ट लिदा जिल्ला हेरेर कम्तिमा १० दिन देखि ३ महिनासम्म लाग्न सक्छ। 

तुरुन्त लिनुहुन्छ भने सामान्य प्रक्रिया भन्दा तीन गुणा बढी पैसा तिर्नु पर्ने  हुन्छ। जस्तै आवेदन दिएकै दिन पासपोर्ट लिन चाहे १५,०००, दोस्रो दिन लिन चाहे १२००० र तेस्रो दिन लिन चाहे १०,००० तिर्नुपर्ने हुन्छ। अझै तपाईले विदेशमै पासपोर्ट झिकाउनु भयो भने यो रकमको तीन गुण बढी तिर्नुपर्ने हुन्छ। 

आर्थिक हिसाबले हामीभन्दा सम्पन्न भएपनि  नेपालको तुलनामा हाम्रा छिमेकी देशहरुमा पासपोर्ट निकैको शुल्क सस्तो छ। दक्षिणी छिमेकी भारतमा ३६ पृष्ठको पासपोर्टको मूल्य १५०० भारतीय अर्थात् २६०० नेपाली रुपैयाँ छ। ६० पृष्ठ लामो पासपोर्टका लागि भने ३२०० नेपाली रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ। यो मूल्य नेपालको भन्दा झन्डै आधा सस्तो हो।

पाकिस्तानमा ३६ पृष्ठ लामो पासपोर्ट लिनका लागि ३००० पाकिस्तानी  रुपैयाँ अर्थात् २७००  तिर्नुपर्ने हुन्छ।  ७२ पृष्ठ लामो राहदानीका लागि भने रु ४४०० नेपाली रुपैयाँ तिर्नुपर्छ। 

त्यस्तै भुटानमा नियमित प्रक्रियाबाट पासपोर्ट लिन रु १००० अर्थात् १६०० नेपाली रुपैयाँ तिर्नुपर्छ। यो रकम बंगलादेशमा पासपोर्ट लिनका लागि ३४५० टाका अर्थात् ४७०० नेपाली रुपैयाँ छ। नेपालजस्तै बंगलादेशबाट पनि ठूलो संख्यामा नागरिक वैदेशिक रोजगारीमा जाने गर्छन्।

त्यस्तै श्रीलंकामा राहदानी लिनको लागि श्रीलंकन रुपैयाँ ३००० ( अर्थात् २००० नेपाली रुपैयाँ ) रहेको छ। अर्जेन्ट लिने हो भने नेपालमा जस्तै दोब्बर तिर्नु पर्छ। 

टापुहरुको देश माल्दिभ्समा भने राहदानीको शुल्क ७६२० छ। तर विचारणीय के छ भने करिब ७ लाख जनसंख्या भएको माल्दिभ्सको प्रतिव्यक्ति आय १५३५० डलर छ, जुन नेपालको भन्दा सात गुणा बढी हो। पछिल्लो  आँकडा अनुसार नेपालको प्रतिव्यक्ति आय  २७१० छ। 

हालै सार्वजानिक गरिएको एक अध्ययन अनुसार नेपाली पासपोर्ट शक्तिका हिसाबले विश्वभरका पासपोर्टमध्ये ७९ औं स्थानमा छ। नेपाली पासपोर्टबाट विश्वका १३ देशमा भिषा लिनु नपर्ने, ३४ मा आगमन भिषा लाग्ने र १५१ मा भिषा आवेदन गरेर पाएपछि मात्र यात्रा गर्न सकिने अवस्थाका आधारमा श्रेणी निर्धारण गरिएको छ। 

त्यसो त नेपालले आँफै पासपोर्ट बनाउँदैन। विदेशी कम्पनिबाट किन्ने गरिन्छ। परराष्ट्र मन्त्रालयका अनुसार अहिले एक प्रति पासपोर्ट बनाउन करिब ५ अमेरिकी डलर अर्थात् करिब रु ५०० पर्छ। 

मन्त्रालयका एक अधिकारीका अनुसार पासपोर्टको मूल्य अर्थ मन्त्रालयले गर्छ। अधिकारीका अनुसार के के कुरालाई आधार बनाएर पासपोर्टको मूल्य निर्धारण गरिएको थियो भन्न गाह्रो छ।

राहदानी बेचेर उठेको राजश्व राज्यका लागि आएको एउटा राम्रो स्रोत बनेको छ। पछिल्ला धेरै सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने भन्दै आएता पनि १८ वर्ष पुगेपछि पासपोर्ट बनाउनु नेपालीको नियत जस्तै बनेको छ।  दैनिक करिब १६०० नेपाली वैदेशिक रोजगार, उच्च शिक्षा, स्वास्थ्य परीक्षण आदि कामका लागि विभिन्न देशको यात्रामा जान्छन भने त्यतिनै संख्यामा नेपाल फर्किरहेका हुन्छन। 

सन् २०११ मा एमआरपी पासपोर्ट लागु भएयता पासपोर्ट विभागले ५५ लाख पासपोर्ट जारी गरेको छ भने १५ लाख पासपोर्ट जारी हुन बाकी छ। रोजगारी, अध्ययन आदिकाका लागि विश्वका करिब १०० भन्दा धेरै देशमा करिब ५० लाख नेपाली हुनसक्ने तथ्यांकले देखाउँछ। 

 

प्रकाशित: १९ कार्तिक २०७५ १०:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App