७ वैशाख २०८१ शुक्रबार
भिडियो

सभापतिमा उठे शेरबहादुर देउवालाई हराउँछौं : गगन थापा (भिडियो अन्तर्वार्ता)

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई पुनः उम्मेदवारी नदिन आग्रह गरेका छन्।

नागरिक नेटवर्कको नागरिक संवादमा श्रीराम पौडेलसँग कुरा गर्दै थापाले पार्टीको हितको लागि देउवा अब सभापति बन्न नहुने बताए। ‘पार्टी जीवनको लागि अब उहाँ सभापति बन्नु हुन्न’, थापाले भने, ‘यदी पुनः सभापतिमा उठ्नु भयो भने हराउँछौं।’

आगामी मंसिरमा हुने महासमिति बैठकले पार्टी विधान संघीय संरचना अनुसार परिमार्जन गर्न लागेको बताउँदै उनले त्यस पछाडिका संरचनामा निर्वाचन नगरि मनोनयन गरेर पार्टी संरचना नेतृत्वले कब्जा गर्ने खतरा पनि उत्तिकै रहेको तर्फ उनले सचेत गराए।

पार्टी भित्र उमेर हदको कुरा महासमिति बैठकमा उठाउने उनले बताए। ३० वर्ष विद्यार्थी, युवालाई ४० र पार्टीको कार्यकारी पदमा बस्नको लागि ७० वर्षको हद लगाउनु पर्ने उनको सुझाव छ।

थापाले सरकार देखेर निरास भएको बताए। ‘दुई तिहाइको सरकारले काम गर्छ भन्ने थियो तर त्यसो भएन’, उनले भने, ुप्रधानमन्त्रीले सबै आफुले जानेको जस्तो व्यवहार गर्नु भएको छ तर सत्य त्यस्तो हुँदैन।’ उनले देशमा संरचनागत सुधारको खाँचो रहेको औंल्याए। संरचनागत सुधारले मात्र आर्थिक विकास र समृद्धिको यात्रा सफल हुने उनको बुझाइ छ। राजनीतिक स्थिरताले मात्र विकास नहुने थापाले बताए। ‘राजनीतिक स्थिरताले मात्र विकास हुन्थ्यो भने पञ्चायतमा पनि विकास हुनुपर्थ्यो’, थापाले भने, ‘अहिले सार्वजनिक संस्थान कमजोर हुँदा विकासको गति सुस्त भएको छ।’

संघीयताको सफलता प्रति उनले शंका व्यक्त गरे। राजनीतिक नेतृत्वले संघीयता सफल बनाउन जोखिम लिन नसकेको बताउँदै थापाले भने, ‘प्रधानमन्त्री ओलीलाई संघीयता सबैभन्दा मन नपरेको विषय हो त्यसैले उहाँले कोअपरेट गर्नु भएको छैन।’

प्रकाशित: १६ कार्तिक २०७५ ०३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App