१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

उपाधिभन्दा क्लबको परिपक्वता महत्वपूर्ण : ग्वार्डिओला

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले उपाधि जित्नुभन्दा टोली कसरी परिपक्व हुँदै अघि बढ्छ भन्ने बारे आफूले बढी महत्व दिने बताएका छन्।

न्युक्यासलविरुद्ध बुधबार हुने लिग कप सेमिफाइनलको पहिलो लिगअघि उनले आफ्नो लागि उपाधि भन्दा पनि टोलीको परिपक्वता महत्वपूर्ण रहेको धारणा राखेका हुन्। गत सिजन म्यानचेस्टर सिटीले आठ वर्षयता पहिलोपटक कुनै ठूलो प्रतियोगिताको उपाधिविहीन भएको थियो। यद्यपि, यस सिजनको सुरुमै पेनाल्टी सुटआउटमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै सिटी कम्युनिटी शिल्डको उपाधि उचाल्यो। लिग कपको सेमिफाइनलमा पहिलो लेगको प्रतिस्पर्धा अघि सोमबार पत्रकार सम्मेलनमा प्रशिक्षक ग्वार्डिओलालाई गत सिजन ठूला उपाधि गुमेपछि थप दबाब महसुस भयो कि भन्ने प्रश्नमा गरिएको थियो। तर, उनले आफू पदक र ट्रफीमा केन्द्रित नभएको स्पष्ट पारे।

‘उपाधि जित्ने वा नजित्ने कुरा होइन। टोली कसरी परिपक्व हुँदै राम्रो बन्छ भन्ने कुरा महत्वपूर्ण हो,’ सिटीका प्रशिक्षकले भने। उनले गत सिजन सिटी एक भन्दा बढी ट्रफी जित्न योग्य पनि नरहेको उल्लेख गरेका छन्। ‘गत सिजन एउटा उपाधिबाहेक अरू जित्न लायक खेल नै खेल्न सकेनौं। राम्रो नखेलेर पनि कहिलेकाहिँ नकआउट चरणमा भाग्यले उपाधि जित्न सकिन्छ, ’ग्वार्डिओलाले भनेका छन्। प्रशिक्षक ग्वार्डिओलाले ट्रफीभन्दा पनि राम्रो खेलेर आफ्नो समर्थकलाई खुसी बनाउने प्रतिक्रिया दिए। ‘यो ट्रफीको विषय होइन। यहाँ टोलीलाई राम्रो खेल्न हामीले प्रेरित गरेका छौं,’ उनले भने, ‘सिटी र हाम्रा समर्थकका लागि राम्रो प्रदर्शन गर्नु नै सन्तुष्टि हो।’ पछिल्लो एक वर्षमा महत्वपूर्ण खेलाडीको बहिर्गमनपछि टोली पुनर्निर्माण भइरहेको उनी बताउँछन्।

त्यसैले अहिलेको आवश्यकता नै हरेक खेलमा सुधार गर्दै जानु रहेको उनको धारणा छ। ‘सधैं हाम्रो लक्ष्य राम्रो खेल्नु हो। अहिले पनि त्यसमा नै केन्द्रीत छौं। यही प्रक्रियामा नै अगाडि बढ्दा जितसँगै उपाधि पनि आउन सक्छ, ’उनको बुझाइ छ। पछिल्ला वर्षमा सिटीका लागि धेरै उपाधि दिलाएका प्रशिक्षक ग्वार्डिओलले केही दिनपछि ती सफलता बिर्सने र घट्ने प्रतिक्रिया दिए। ‘उपाधि जितेपछि प्रशंसा एक दिन रहन्छ, ’उनले भने, ‘त्यसपछि क्रमश: घट्दै जान्छ र सबैले बिर्सन्छन्। त्यसैले महत्वपूर्ण पक्ष नै कसरी सुधार गर्नुहुन्छ भन्ने कुरा हो। हाम्रो टोली टिकिरहन यही प्रक्रिया अपनाउनु पर्छ।’

सिटीले सन् २०१८ देखि लगातार चार सिजन लिग कप जितेको छ। म्यानचेस्टर सिटीका लागि यही सफलता ग्वार्डिओलाको दशक लामो प्रभुत्व जमाउने आधारमध्ये एक हो। गत सिजन प्रिमियर लिग उपाधिबाट लिभरपुलले सिटीलाई बिफल बनाएको थियो। यस सिजनमा पनि सिटी अंकतालिकाको शीर्ष स्थानमा रहेको आर्सनलभन्दा ६ अंकले पछाडि छ। यद्यपि, सिटीलाई लिग कपको उपाधिनजिक रहेको हेरिएको छ। तर, त्यसका लागि सेमिफाइनलको चरण पार गर्नु पर्नेछ। लिग कपको अर्को सेमिफाइनलको पहिलो लेग बुधबार चेल्सी र आर्सनलबीच हुनेछ। एएफपी

प्रकाशित: २९ पुस २०८२ ०७:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App