नासाको आर्टेमिस-२ मिसनमा रहेका अन्तरिक्ष यात्रीले चन्द्रमातर्फको यात्राका क्रममा पृथ्वीको पहिलो उच्च-रिजोलुसन तस्बिर सार्वजनिक गरेका छन्। मिसनका कमान्डर रिड वाइजम्यानले खिचेका यी तस्बिरलाई नासाले ‘शानदार’ भनेको छ।
अन्तिम ट्रान्सलुनार इन्जिन बर्न सफल भएपछि ओरियन अन्तरिक्ष यान पृथ्वीको कक्षबाट बाहिर निस्केर चन्द्रमाको मार्गमा लागेको हो। सोही क्रममा खिचिएको पहिलो तस्बिरलाई ‘हेलो, वर्ल्ड’ नाम दिइएको छ। उक्त तस्बिरमा एटलान्टिक महासागरको विशाल नीलो क्षेत्र, वायुमण्डलको चमक, दुई ध्रुवमा हरियो अरोरा र सूर्यलाई पृथ्वीले ढाक्दा देखिएको जोडियाकल लाइट देखिन्छ। तस्बिरमा पृथ्वी उल्टो देखिन्छ।
नासाले यो तस्बिरलाई सन् १९७२ को अपोलो-१७ को ‘द ब्लू मार्बल’ पछि मानवले खिचेको पूर्ण रूपमा उज्यालो पृथ्वीको पहिलो तस्बिर भनेको छ।
अन्तरिक्ष यात्री क्रिस्टिना कोचका अनुसार यो सफलताको खबर सुन्दा चालक दलले खुसी व्यक्त गरे। मिसन विशेषज्ञ जेरेमी ह्यान्सेनले इन्जिन बर्नको काम सकिएपछि सबै सदस्य तस्बिर खिच्न ‘झ्यालमा टाँसिएको’ बताए।
उनले भने, ‘हामीले चन्द्रमाले उज्यालो पारेको पृथ्वीको अँध्यारो भागको सुन्दर दृश्य देखिरहेका छौं।’ कमान्डर वाइजम्यानले सुरुमा एक्सपोजर मिलाउन गाह्रो भए पनि पछि स्पष्ट तस्बिर आएको बताए। उनले ठट्टा गर्दै भने, ‘यो तपाईंको घरमा फर्कनु जस्तै हो, चन्द्रमाको तस्बिर लिने प्रयास गर्दै। अहिले यस्तै महसुस भइरहेको छ।’
सन् १९७२ पछि पहिलो पटक मानव जाति पृथ्वीको कक्षभन्दा यति टाढा पुगेको हो। ओरियन यान अहिले पृथ्वीबाट करिब एक लाख माइल (लगभग १.६ लाख किलोमिटर) टाढा छ र चन्द्रमाको आधा बाटो पार गर्दैछ। यो टोली अप्रिल ६ मा चन्द्रमाको अर्को छेउ नजिक पुग्ने र अप्रिल १० मा पृथ्वीमा फर्कने तालिका छ।
नासाले सन् १९७२ को अपोलो-१७ सँग तुलना गर्दै लेखेको छ, ‘हामी ५४ वर्षमा धेरै अघि बढिसक्यौं, तर एउटा कुरा परिवर्तन भएको छैन: हाम्रो घर अन्तरिक्षबाट सुन्दर देखिन्छ!’ एजेन्सी
तस्बिर: नासा






प्रकाशित: २१ चैत्र २०८२ १४:१२ शनिबार





