बाढी तथा प्राकृतिक विपद्का कारण अवरुद्ध भएका मोबाइल टावर पुनः सञ्चालनमा ल्याउने कामलाई तीव्रता दिएको एनसेलले प्रभावित तीन जिल्लामा २४ वटा साइट पुनः सञ्चालनमा ल्याएको जनाएको छ ।
विपद्का कारण नुवाकोट, रसुवा र धादिङमा गरी जम्मा २७ वटा मोबाइल साइट बन्द भएका थिए । तीमध्ये आइतबारसम्म २४ वटा साइट पुनः सञ्चालनमा आइसकेका छन् भने तीनवटा साइट अझै अवरुद्ध रहेको एनसेलले जनाएको छ ।
अवरुद्ध तीनमध्ये नुवाकोटको एक र रसुवाको रसुवागढीस्थित टिमुरेको एक साइटमा पूर्वाधारमा क्षति पुगेको हुनसक्ने अनुमान कम्पनीको छ । त्यस्तै, रसुवाको अर्को एक साइटमा आवश्यक उपकरण पुर्याउन हवाई उद्धार अर्थात् एयरलिफ्ट गर्नुपर्ने भएकाले सञ्चालनमा ल्याउन बाँकी रहेको कम्पनीले जनाएको छ ।
एनसेलका अनुसार रसुवा, धादिङ र नुवाकोटमा कम्पनीका कुल ७८ वटा साइट छन् । तीमध्ये हाल ७५ वटा साइट सञ्चालनमा रहेका छन् ।
नुवाकोटका १६ साइट सञ्चालनमा
नुवाकोटमा अवरुद्ध भएका १६ वटा साइट पुनः सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ । हन, कालिकास्थान, चौर्तोल, चुली, बट्टार, विदुर, दुइपिप्ले, तारुक, माडे डाँडा, खड्काभञ्ज्याङ, महामण्डल, गुजेटार, देउराली, बट्टार बजार र पिपलटारलगायतका स्थानका टावर सञ्चालनमा आएका छन् ।
त्यस्तै, धादिङको गल्छी क्षेत्रका खाल्टे, सुनौला बजार र भूमि डाँडाका टावर पनि पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
रसुवामा पाँच टावर सञ्चालन
रसुवामा पनि पाँचवटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याइएको छ । कालिकास्थान, धुन्चे, खाल्चेत भञ्ज्याङ, गोल्जुङ र गत्लाङका टावर सञ्चालनमा आएपछि प्रभावित क्षेत्रमा सञ्चार सेवा थप सहज भएको एनसेलले जनाएको छ ।
कम्पनीका अनुसार विपद्का बेला मोबाइल सेवा पुनः सञ्चालन हुनु प्रभावित नागरिकलाई आफन्तसँग सम्पर्कमा रहन मात्र नभई उद्धार तथा राहत वितरणका कार्यमा समेत महत्वपूर्ण भएको छ ।
एनसेलले बाँकी अवरुद्ध साइटहरू पनि आवश्यक प्राविधिक तथा लजिस्टिक व्यवस्थापन गरी यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ।
प्रकाशित: १४ भाद्र २०८३ १८:४९ आइतबार





