८ भाद्र २०८३ सोमबार
image/svg+xml
प्रविधि

बडीमालिकामा पुग्यो इन्टरनेट

सुदूरपश्चिम प्रदेशको ऐतिहासिक, धार्मिक र सास्कृतिक महत्व बोकेको पर्यटकिय स्थल बडीमालिकामा पहिलो पटक टेलिफोन तथा ईन्टरनेट सेवा सुचारु भएको छ ।

समुद्री सतहबाट करिब ४ हजार २ सय मिटर उचाइमा बाजुरा जिल्लामा अवस्थित बडिमालिकामा यस अघि टेलिफोन र ईन्टरनेट सेवा नहुदाँ त्याहाँ पुग्ने पर्यटकहरुलाई असुविधा हुदै आएको थियो ।

नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा टावर निर्माण तथा जडान कार्य सम्पन्न गरेर सोमवार देखि टु जी र फोर–जी सेवा संचालनमा ल्याएको हो ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय अत्तरियाका अनुसार बडीमालिकाको लौडीविनायकमा टावर निर्माण तथा जडान गरिएको छ । सोमवार देखि टेलीफोन सेवा र ईन्टरनेट सेवा संचालनमा आएको छ ।

बडीमालिका मन्दिर क्षेत्र, त्रिवेणी पाटन, नाटेश्वरीलगायतका क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा उपलब्ध भएको छ ।  

यसअघि गत साउन २६ गते फोरजी सेवा सञ्चालनका लागि आवश्यक उपकरण हेलिकप्टरमार्फत त्रिवेणी पाटनसम्म ढुवानी गरिएको थियो । त्रिवेणी पाटनबाट जडानस्थलसम्म उपकरण बोकेर पु¥याइएको थियो ।

टेलीफोन सेवा र ईन्टरनेट सेवा संचालन भएपछि स्थानिय तथा त्याहाँ पुगेका पर्यटकहरु खुशी भएका छन् ।

बडिमालिकामा भिड

बडीमालिका मन्दिरमा भदौ १ गतेदेखि पूजा तथा मेला सुरु भएको छ । मुख्य पूजा भदौ ११ गते हुने भए पनि एकैदिन अत्यधिक दर्शनार्थीको भीड हुने भएकाले यस पटक १० दिनअघिदेखि नै पूजा सुरु गरिएको हो । प्रत्येक बर्ष साउन चतुर्दशीका दिन बडीमालिकामा मेला लाग्ने गर्छ । मेलामा बिभिन्न जिल्ला तथा भारतबाट समेत तिर्थयात्री र पर्यटक आउने गर्छन् । गतबर्ष मेलामा ४५ हजार भन्दा बढी भक्तजन तथा तिर्थालु आएको पुजारीले बताएका छन् ।  

रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहले निर्वाचन अघि धनगढीमा चुनावी शभामा बडीमालिकालाई ‘स्विट्जरल्यान्डको बुवा’ भनेर उल्लेख गरेपछि यसको चर्चा थप चुलिएको छ । यस पटक बडिमालिका मेलामा भक्तजन, पर्यटक र तीर्थालु जाने क्रम उल्लेख्य रुपमा बढेको छ ।

हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजा हुने गरे पनि अन्य समयमा पनि पर्यटक बडीमालिका पुग्ने गरेका छन् । बडीमालिकाको दर्शन गर्नाले मनोकामना पूरा हुने, रोग निको हुने, पुत्र प्राप्ति हुने लगायतका धार्मिक विश्वास रहिआएको छ।

मनमोहक त्रिवेणी क्षेत्र, २२ पाटन, फाँटमा फुलेका रङ्गीचङ्गी फूल, खेतीबेती, विष्णुपानी, धर्मद्वार बडीमालिका क्षेत्रका प्रसिद्ध तथा आकर्षक स्थल हुन् । खेतिबेती क्षेत्रमा परापूर्वकालमा भगवती र मैसासुरको युद्धका क्रममा रोपिँदै गरेको धान यथास्थितिमा रहेको किंवदन्ती छ।  

प्रकाशित: ८ भाद्र २०८३ २०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App