८ भाद्र २०८३ सोमबार
image/svg+xml
अर्थ

नेपाली युवाको उद्यमशीलतामा नेपाल–पाकिस्तान सहकार्य जोड्ने पहल

नेपालका युवालाई स्वदेशमै ज्ञान, सीप र सिर्जनशीलताको उपयोग गर्दै उद्यमशीलतामा अघि बढाउने उद्देश्यसहित स्टार्टअप समिट नेपाल–२०२६ का प्रतिनिधि र नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानबीच भेटवार्ता भएको छ।

महाराजगञ्जस्थित पाकिस्तान दूतावासमा भएको भेटवार्तामा नेपाल–पाकिस्तानको पुरानो मैत्रीपूर्ण सम्बन्धलाई युवा उद्यमशीलता, ज्ञान, सीप र सहकार्यसँग जोड्दै दुवै देशका युवाका लागि नयाँ अवसर सिर्जना गर्ने विषयमा छलफल भएको हो।

भेटमा पाकिस्तानी राजदूत खानले नेपाललाई प्राकृतिक तथा भौगोलिक विविधताका दृष्टिले विश्वकै सुन्दर मुलुकमध्ये एक भएको बताउँदै नेपाली जनताको आत्मीयता, सरलता र सहयोगी भावनाको प्रशंसा गरे। उनले नेपाली युवाको क्षमता र सम्भावनालाई स्वदेशमै उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै स्टार्टअप समिट नेपाल–२०२६ लाई आफ्नो तर्फबाट सम्भव सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए।

नेपाली युवालाई स्वदेशमै भविष्य खोज्न प्रेरित गर्ने अभियानमा पाकिस्तानले पनि सहकार्य गर्न सक्ने राजदूत खानले बताए। ‘तपाईंहरू कार्यक्रमको तयारी गरेर अघि बढ्नुहोस्। नेपाली र पाकिस्तानी युवाबीच सहकार्य र अनुभव आदानप्रदानका लागि आवश्यक सहयोग गर्न म तयार छु,’ उनले भने।

राजदूत खानले नेपालका युवाको अवस्था, मुलुकको वर्तमान व्यावसायिक वातावरण तथा उद्यमशीलताको सम्भावनाबारे समेत चासो राखेका थिए। अध्ययन तथा रोजगारीका लागि धेरै नेपाली युवा विदेश जाने गरे पनि त्यहाँबाट ज्ञान, सीप र अनुभव हासिल गरेर स्वदेश फर्की विभिन्न क्षेत्रमा योगदान गरिरहेका युवाको अवस्था सकारात्मक रहेको उनको भनाइ थियो।

नेपालीहरू मेहनती, सरल र इमानदार भएको उल्लेख गर्दै उनले निरन्तर मेहनत र सकारात्मक सोचका माध्यमबाट नेपालका सबै क्षेत्रमा उल्लेखनीय प्रगति सम्भव रहेको बताए। विशेषगरी युवाले आफ्नो ज्ञान, सीप र सिर्जनशीलतालाई देश विकासमा उपयोग गर्नुपर्नेमा उनले जोड दिए।

भेटवार्तामा स्टार्टअप समिट नेपाल–२०२६ की अध्यक्ष शोभा ज्ञवालीले समिटको उद्देश्य, अभियान र आगामी योजनाबारे राजदूत खानलाई जानकारी गराइन्। उनले शिक्षित, सीपयुक्त र मेहनती नेपाली युवालाई स्वदेशमै अवसर खोज्न तथा उद्यमशीलतामा जोडिन प्रेरित गर्ने उद्देश्यका साथ अभियान अघि बढाइएको बताइन्।

विभिन्न सामाजिक तथा व्यावसायिक संस्थासँग काम गरेको अनुभव उल्लेख गर्दै ज्ञवालीले युवाको ज्ञान, सीप र दक्षतालाई नेपालमै उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइन्।

‘आफ्नो ज्ञान र सीप आफ्नै देशमा प्रयोग गरौँ’ भन्ने मूल भावनाका साथ स्टार्टअप समिट नेपाल–२०२६ अघि बढिरहेको उनले बताइन्। अभियान कुनै व्यक्तिगत स्वार्थका लागि नभई युवालाई अवसर, उद्यमशीलता र आत्मनिर्भरतासँग जोड्ने उद्देश्यले सुरु गरिएको स्पष्ट पार्दै उनले नेपालमा क्रियाशील सबै क्षेत्र तथा संस्थालाई सहकार्यका लागि आह्वान गरिन्।

नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई नयाँ पुस्ताबीचको सहकार्यसँग जोड्न सके दुई देशबीचको सम्बन्ध थप अर्थपूर्ण बन्न सक्ने ज्ञवालीले बताइन्। युवा उद्यमशीलता, प्रविधि, शिक्षा, सीप तथा व्यावसायिक अनुभव आदानप्रदानका क्षेत्रमा नेपाल–पाकिस्तानबीच सहकार्यको पर्याप्त सम्भावना रहेको उनको भनाइ थियो।

भेटमा राजदूत खानले स्टार्टअप समिट नेपाल–२०२६ को पहलप्रति सकारात्मक धारणा व्यक्त गर्दै नेपाली युवालाई स्वदेशमै अवसर सिर्जना गर्न प्रेरित गर्ने अभियान महत्वपूर्ण रहेको बताए। उनले नेपाली र पाकिस्तानी युवाबीच सहकार्य तथा अनुभव आदानप्रदानका लागि आवश्यक पहल गर्न आफ्नो सकारात्मक सहयोग रहने प्रतिबद्धता पुनः व्यक्त गरे।

भेटवार्तामा पाकिस्तान दूतावासका प्रतिनिधिसहित स्टार्टअप समिट नेपाल–२०२६ की अध्यक्ष शोभा ज्ञवाली, समिटका मूल वक्ता इन्जिनियर उमेश कुमार गुप्ता तथा निर्देशकहरू वासुदेव न्यौपाने र नारायणप्रसाद ओलीको सहभागिता रहेको थियो।

प्रकाशित: ८ भाद्र २०८३ २०:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App