७ श्रावण २०८३ बिहीबार
image/svg+xml
प्रविधि

सूचना प्रविधि मेला आगामी मङ्सिरमा

‘डिजिटल’ रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई), साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ र नयाँ प्रविधिबारे जानकारी दिने उद्देश्यले सूचना प्रविधिसम्बन्धी मेलाको आयोजना हुने भएको छ।

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेसले आयोजना गर्ने उक्त मेलाको नाम ‘एनएएस आइटी एक्स्पो’ राखिएको छ।

मेला आगामी मङ्सिर ५ र ६ गते (नोभेम्बर २१–२२) आयोजना हुनेछ। मेलामा नेपालको प्रविधि क्षेत्र, व्यवसायी, नीतिनिर्माता, लगानीकर्ता, उद्यमी, विद्यार्थी र प्रविधिप्रेमीलाई एकै स्थानमा ल्याएर नवप्रवर्तन, सहकार्य र व्यावसायिक अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले यस वर्षको मेलाले प्रविधि कम्पनीलाई आफ्ना नयाँ समाधान प्रस्तुत गर्ने, व्यवसायसँग प्रत्यक्ष जोडिने र दीर्घकालीन सहकार्य विस्तार गर्ने प्रभावकारी मञ्च प्रदान गर्ने विश्वास व्यक्त गरेको छ। यसबाट नेपालको डिजिटल रूपान्तरणले थप गति लिने अपेक्षा गरिएको छ।

मेलामा सरकारी प्रतिनिधि, विभिन्न देशका राजदूत, लगानीकर्ता, व्यावसायिक संस्थाका प्रतिनिधि, स्टार्टअप, विद्यार्थी र प्रविधिप्रेमीको उल्लेखनीय सहभागिता रहनेछ।

आयोजकका अनुसार मेलाले नेपालको बढ्दो प्रविधि क्षमतालाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै स्थानीय आइटी समाधानको प्रवर्द्धन गर्नेछ। साथै, प्रविधि कम्पनी र विभिन्न व्यवसायबीच सहकार्य बढाउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, ज्ञान आदान–प्रदान गर्ने र नेपालको डिजिटल अर्थतन्त्रको दिगो विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

मेलामा अग्रणी आइटी कम्पनी र नवप्रवर्तनशील स्टार्टअपका प्रविधि प्रदर्शनी हुनेछन्। साथै, सूचना प्रविधि क्षेत्रका चुनौती समाधान गर्ने उत्पादन र प्रविधि समाधान पनि प्रदर्शन गरिनेछ।

यसका साथै डिजिटल रूपान्तरण, कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ र उदीयमान प्रविधिसम्बन्धी ज्ञानमूलक सत्र सञ्चालन गरिनेछ। मेलाबाट नयाँ साझेदारी, व्यापारिक अवसर र नेपालको प्रविधि क्षेत्रका पछिल्ला विकासबारे जानकारी प्राप्त गर्ने अवसर मिल्ने आयोजकको विश्वास छ।

प्रकाशित: ७ श्रावण २०८३ ०७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App