नेपालको टिम बलियो भेन्चर्स भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय ‘रोबोवार्स’ प्रतियोगिताको उपाधि जितेको छ। नेपाल विद्यार्थी संघ(नेविसंघ)को प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी टोली टिम बलियो भेन्चर्स रोबोवार्स प्रतियोगिताको उपाधि जितेको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए।
इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी बम्बे (आइआइटी–बम्बे)ले मुम्बईमा एसियाकै सबैभन्दा ठुलो ‘टेकफेस्ट’ (विज्ञान तथा प्रविधि महोत्सव) गरिरहेको छ। सोही महोत्सवका अवसरमा रोबोवार्स प्रतियोगिता पनि आयोजना गरिएको हो।
६५ भन्दा बढी देशको सहभागिता, कडा विश्वव्यापी प्रतिस्पर्धाका बिचमा नेपाली टोली टिम बलियो भेन्चर्सको रोबोट ‘क्वान्टम लिप’ सहभागी थियो। नेपालबाटै सो प्रतियोगितामा ७ वटा टोलीले सहभागिता जनाएका थिए।
‘यो जित नेपाली युवा र नेपाली प्रविधि विश्व स्तरीय छन् भन्ने प्रमाण हुन्,’ जितपछि नेविसंघका अध्यक्ष शेर्पाले भने, ‘युवा र प्रविधि क्षेत्रलाई सम्मान र लगानी गरे त्यसले प्रतिफल दिएर विश्व बजारलाई आफ्नो मुठ्ठीमा पार्न सक्ने यो जितबाट पुष्टि भएको छ।’ नेविसंघले सधैँ युवा शक्ति र प्रविधिको विकासमा संलग्न युवालाई सँगसँगै लैजाने प्रयास गरिरहेको उनले बताए।
‘यसमा हरेक राजनीतिक दल र तीनका संगठनले पनि ध्यान दिनुपर्छ। राज्यले पनि यो क्षेत्रलाई महत्त्व दिएर लगानी गर्नुपर्छ,’ अध्यक्ष शेर्पाले भने।
नेविसंघ टोलीले जितसँगै ४० हजार भारतीय रुपैयाँ पुरस्कार पनि जितेको छ।
प्रकाशित: ९ पुस २०८२ १९:१३ बुधबार





