युरोपेली संघ (इयु) ले गुगललाई ८९ करोड युरो (एक अर्ब डलर) जरिवाना गरेको छ। गुगलमाथि प्रतिस्पर्धीहरूलाई हानि पुर्याउने गरी आफ्नै सेवाहरू र एपहरूतर्फ उपभोक्ताहरूलाई आकर्षित गर्न गुगल प्ले र यसको सर्च इन्जिन प्रयोग गरेर डिजिटल नियम तोडेको आरोप लगाइएको छ।
यो इयुले ठूला प्रविधि कम्पनीहरूमाथि गरेको पछिल्लो ठूलो कारबाही हो। अमेरिकामा डोनाल्ड ट्रम्पको सरकारबाट आउन सक्ने दबाब र आलोचनाको जोखिमका बाबजुद इयुले यो कदम चालेको हो। यसअघि ट्रम्पले अमेरिकी प्रविधि कम्पनीहरूमाथि दण्ड जरिवाना गरिएमा बदला लिने चेतावनी दिएका थिए।
गुगलले यसअघि पनि आफ्नो एन्ड्रोइड अपरेटिङ सिस्टमको दबदबा प्रयोग गरेर प्रतिस्पर्धा नियन्त्रण गर्न खोजेको भन्दै इयुले लगाएको ४.५ अर्ब डलरको जरिवाना विरुद्धको अपिल हारेको थियो। युरोपेली आयोगले भने उपभोक्ताको हितका लागि यो अनुसन्धान र कारबाही गरिएको प्रस्ट पारेको छ।
‘कुनै पनि उत्पादन त्यसैले सफल हुनुपर्छ कि त्यो राम्रो छ, न कि खोज इन्जिन चलाउने कम्पनीको स्वामित्व भएका कारणले। युरोपेली उपभोक्ताहरूलाई एप विकासकर्ताहरूले कहाँ राम्रो अफर पाउँछन् भनेर थाहा पाउने अधिकार छ,’ आयोगका कार्यकारी उपाध्यक्ष टेरेसा रिबेराले बताइन्।
उता गुगलका ग्लोबल अफेयर्स अध्यक्ष केन्ट वाकरले भने यस जरिवानाको आलोचना गरे। उनले केही स्वार्थी समूहका कारण युरोपेली व्यवसाय र उपभोक्तालाई नै नकारात्मक असर पर्ने बताए। साथै, इयुको नयाँ नियमले गुगललाई प्रयोगकर्ताले मन पराउने होटल, उडान र रेस्टुरेन्टसम्बन्धी तत्काल मूल्य देखिने सुविधा तथा सुरक्षाका विशेषताहरू हटाउन बाध्य पार्ने उनको तर्क थियो।
इयुले अमेजन, एप्पल, गुगलको माउ कम्पनी अल्फाबेट, मेटा, माइक्रोसफ्ट र टिकटकको माउ कम्पनी बाइटडान्सलाई उपभोक्ताको पहुँच नियन्त्रण गर्ने प्रमुख (गेटकीपर) कम्पनीको रूपमा राखेको छ।
‘इयुमा सबै व्यवसायलाई निष्पक्ष रूपमा प्रतिस्पर्धा गर्ने अधिकार छ। यस्ता ठूला कम्पनीहरूको दायित्व निष्पक्ष वातावरण बनाउनु हो र उपभोक्तालाई सस्तो विकल्प छनौट गर्ने अधिकार हुन्छ,’ युरोपेली आयोगका प्रवक्ता थोमस रेग्नियरले बताए। अल्फाबेट कम्पनीले २०२५ मा ४०३ अर्ब डलर राजस्व संकलन गरेको थियो। एजेन्सी
प्रकाशित: ७ श्रावण २०८३ १९:३६ बिहीबार





