१ आश्विन २०८३ बिहीबार
image/svg+xml
प्रविधि

फेसबुकका सिईओ जुकरबर्ग भन्छन्: एआई सुरक्षित बनाउन प्रयोगशाला बलियो बनाउनु पर्छ

मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले एआई विकास गर्ने कम्पनीले आफ्ना मोडलहरू सुरक्षित रूपमा निर्माण गर्न आवश्यक रहेको बताएका छन्। उनका अनुसार प्रतिस्पर्धा र कानुनी दायित्वका कारण एआई कम्पनीहरूले सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम आफैं चाल्न सक्ने अवस्था छ।

एक्समा पोस्ट गर्दै जुकरबर्गले प्रत्येक एआई प्रयोगशालाको जिम्मेवारी र प्रोत्साहन नै आफ्ना मोडललाई सुरक्षित रूपमा विकास गर्न आवश्यक गतिमा अघि बढ्नु रहेको बताएका हुन्। उनका अनुसार एआई प्रयोगशालाहरूले सुरक्षा सुनिश्चित गर्न आफ्नै पहलमा आवश्यक निर्णय लिन सक्ने क्षमता पनि राख्छन्।

जुकरबर्गको भनाइ एआई विकासको गति घटाउन उद्योगव्यापी सहकार्य आवश्यक रहेको बताइरहेका केही प्रमुख एआई कम्पनीका प्रमुखहरूको धारणाभन्दा फरक देखिएको छ। एन्थ्रोपिकका सीईओ डारियो अमोडेईले केही दिनअघि एआई मोडलको क्षमता सुधार गर्ने गति घटाउन कम्पनीहरूलाई आग्रह गरेका थिए। त्यसलाई ओपनएआईका प्रमुख साम अल्टम्यान र एक्सएआईका एलन मस्कले पनि सार्वजनिक रूपमा समर्थन गरेका थिए।

‘सुरक्षामा ध्यान नदिने प्रयोगशाला पछि पर्नेछ’

जुकरबर्गले एआई एजेन्ट र मोडलका लागि विश्वास र ‘अलाइनमेन्ट’ अर्थात् मानव उद्देश्य तथा सुरक्षासँग एआईको व्यवहारलाई मिलाउने क्षमता भविष्यमा महत्वपूर्ण प्रतिस्पर्धात्मक आधार बन्ने बताएका छन्।

उनले भनेका छन्, “विश्वास र अलाइनमेन्ट तीव्र रूपमा सबैभन्दा महत्त्वपूर्ण क्षमता बन्दैछन्, जसले एजेन्ट र मोडलहरूलाई फरक पार्नेछ। अलाइनमेन्टमा ध्यान नदिने कुनै पनि प्रयोगशाला पछि पर्नेछ।”

जुकरबर्गका अनुसार एआई मोडलबाट हुने सम्भावित क्षतिका लागि कम्पनीहरूले ठूलो कानुनी दायित्व व्यहोर्नुपर्ने भएकाले पनि उनीहरूलाई सुरक्षा सुनिश्चित गर्ने बलियो प्रोत्साहन रहेको छ।

उनले यसअघि मेटाले आफ्नो ‘म्युज एआई एजेन्ट’ सार्वजनिक गर्ने कार्यलाई सुरक्षा प्रणाली थप मजबुत बनाउन केही समय ढिलाइ गरेको उदाहरण दिएका छन्। उनका अनुसार मेटाले अन्य कम्पनीलाई पनि त्यसै गर्न आग्रह गरेर मात्र आफूले कदम नचालेको, बरु आफ्नो दैनिक कामकै हिस्साका रूपमा उक्त निर्णय गरेको हो।

एआई विकास सुस्त बनाउनुपर्ने बहस

एन्थ्रोपिकका सीईओ अमोडेईले एआईको ‘रिकर्सिभ सेल्फ–इम्प्रुभमेन्ट’ अर्थात् एआई प्रणालीले आफ्नै क्षमतामा थप सुधार गर्न सक्ने प्रक्रियाको गति घटाउन उद्योगव्यापी कदम चाल्नुपर्ने धारणा अघि सारेका छन्।

तर जुकरबर्गले मेटाले आफ्नो कम्प्युटिङ क्षमताको ठूलो हिस्सा प्रयोगकर्ताको तत्कालीन आवश्यकतासँग सम्बन्धित उत्पादन निर्माणमा केन्द्रित गरेको बताएका छन्। उनका अनुसार मेटाले सेल्फ–इम्प्रुभिङ एआई प्रणाली विकास गर्नुभन्दा प्रयोगकर्तालाई सेवा दिने उत्पादन निर्माणमा कम्प्युटिङ स्रोतको “महत्त्वपूर्ण बहुमत” प्रयोग गरिरहेको छ।

मेटाको ‘सुपरइन्टेलिजेन्स ल्याब्स’ ले एआई सुरक्षाका विभिन्न क्षेत्रमा स्वतन्त्र मूल्याङ्कनकर्तासँग पनि काम गरिरहेको जुकरबर्गले बताएका छन्। उनले यस्तो स्वतन्त्र मूल्याङ्कनलाई उद्योगको राम्रो अभ्यासका रूपमा उल्लेख गर्दै अन्य एआई प्रयोगशालाले पनि यस्तै प्रक्रिया अपनाउन सक्ने बताएका छन्।

एआई विकासलाई नियमन गर्ने विषयमा अमेरिकी प्रशासन र प्रविधि उद्योगभित्र पनि बहस जारी छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआईका सम्भावित जोखिमबारे चिन्ता कम गर्दै अमेरिकामा यसका लागि आवश्यक सुरक्षा व्यवस्था रहेको बताएका छन्। एआईसम्बन्धी कडा नियमनले चिनियाँ कम्पनीसँग प्रतिस्पर्धा गर्ने अमेरिकी कम्पनीहरूको क्षमतालाई असर गर्न सक्ने धारणा केही प्रविधि क्षेत्रका कार्यकारीहरूले पनि व्यक्त गर्दै आएका छन्।

यसैबीच, अमेरिकी फेडरल ट्रेड कमिसन (एफटीसी) का अध्यक्ष एन्ड्र्यु फर्गुसनले एआई कम्पनीहरूले नयाँ नियमनका लागि दबाब दिँदै एकअर्कासँग समन्वय गर्न ‘एन्टिट्रस्ट’ छुट मागेमा त्यसप्रति सावधानी अपनाउनुपर्ने बताएका छन्।

एआई सुरक्षा, नियमन र विकासको गतिलाई लिएर उद्योगका प्रमुख कम्पनीहरूबीच फरक–फरक धारणा सार्वजनिक भइरहेका बेला जुकरबर्गको पछिल्लो भनाइले एआई विकासलाई सुरक्षित बनाउन उद्योगव्यापी रूपमा विकासको गति घटाउनुपर्ने प्रस्तावप्रति मेटाको फरक दृष्टिकोण देखाएको छ।

-रोएटर्सको सहयोग

प्रकाशित: ३१ भाद्र २०८३ १९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App