सूचना प्रविधिको युगमा जब विश्व नै एआई को दौडमा सामेल छ। यही दौड र विकसित प्रविधिको प्रयोगमा स्थानीय सरकार पनि उत्तिकै लागि परेका छन् । यसको उदाहरण हो धुलिखेल नगरपालिका ।
नागरिक र सरकारबीचको सम्बन्धलाई पुनर्परिभाषित गर्दै धुलिखेल नगरपालिकाले आफ्ना ३८ हजार नागरिकसँग नेपाली भाषामै सिधा सम्पर्क गर्न एआई टेलिफोनी प्रणाली प्रयोगमा ल्याएको छ । यस्तो प्रयोग गर्ने यो नगर नेपालकै पहिलो सरकारी निकाय बनेको पनि पालिकाको दावी छ ।
नागरिकलाई थाहा दिनै पर्ने कर तिर्ने म्याद, जन्म दर्ता संकलन, स्वास्थ्य शिविरलगायतको जानकारी सबैसमक्ष पुर्याउन चुनौतीको सामना गरिरहेको पालिकाले अब, हरेक नागरिकको मोबाइलमा नगरपालिकाको आवाज सिधै पुग्ने खालको प्रविधि विकास गरेको छ । पालिकाले टिङ टिङ (Ting Ting) को आधुनिक एआई प्रविधिको प्रयोग गर्दै नागरिकलाई आफ्नै भाषामा स्वचालित फोन कल गर्ने व्यवस्था मिलाइएको छ ।
यो पालिकाको ऐतिहासिक कदम भएको बताउँदै पालिकाका मेयर अशोककुमार ब्यान्जु श्रेष्ठले भने, ‘एआईको दौडमा सरकार पहिलो हुनुपर्छ, अनि हामी सुरु गर्दैछौं टिङ टिङबाट। स्थानीय सरकारले नागरिकहरूलाई दिने सेवामा संविधानले प्रदान गरेको अधिकार क्षेत्रभित्र २२ वटा अधिकारमा थुप्रै काम गर्नुपर्छ। ती थुप्रै कामलाई सहज र सुलभ बनाउन धुलिखेल नगरपालिकाले डिजिटल सेवालाई प्राथमिकता दिएर काम गरिरहेको छ।’
उनले भने, ‘हाम्रा ३८ हजार नागरिक र यो व्यावसायिक, औद्योगिक शहरको हिसाबले उहाँहरूलाई दिने सेवा हामीले गुणस्तरीय रूपमा दिन अब एआई प्रणालीबाट पनि सूचना आदानप्रदान गर्न थालेका छौँ । यसको प्रभावकारिताको सबैभन्दा सजिलो साधन टेलिफोन हो । यसैलाई मध्यनगर गर्दै नेपाली भाषामा सेवा प्रदान गर्ने गरी टिङ टिङको विकास गर्यौँ । हाम्रा नागरिकलाई सेवा र सुविधा दिन यो प्रभावकारी हुने ठहर गरेका छौँ ।’
यो धुलिखेल नगरको मात्र नभइ यस्तो सेवा विस्तार देशभरका पालिकाले गर्न सकिने र नागरिकले सहज सेवा पाउने विश्वास गरिएको छ ।
प्रकाशित: १८ भाद्र २०८२ १६:१७ बुधबार



-600x400.jpg)

