१ आश्विन २०८३ बिहीबार
image/svg+xml
प्रविधि

नेपालीले बनाएको एआई टुल विदेशी बजारमा पनि प्रयोग

भिडियो निर्माणदेखि विज्ञापन व्यवस्थापनसम्मको एकीकृत प्लेटफर्म विकास गर्दै फिक्रा भेन्चर्स

नेपाली प्रविधि उद्यमीहरूले विकास गरेको एआई टुल विदेशी बजारमा समेत प्रयोग गर्ने लक्ष्यसहित फिक्रा भेन्चर्सले एकीकृत मार्केटिङ प्लेटफर्म विकास गरेको छ। जसमा भिडियो निर्माणदेखि विज्ञापन व्यवस्थापन र उपभोक्ताको प्रतिक्रिया विश्लेषणसम्मको सुविधा प्रयोगकर्ताले प्राप्त गर्नेछन्।

फिक्रा भेन्चर्सको प्लेटफर्मले व्यवसायलाई एउटै प्रणालीबाट मार्केटिङ सामग्री निर्माण, सामाजिक सञ्जालमा प्रकाशन, विज्ञापन सञ्चालन, प्रभाव मापन र प्राप्त प्रतिक्रियाका आधारमा अर्को सामग्री तयार गर्न सहयोग पुर्‍याउने कम्पनीको दाबी छ। विशेषतः साना तथा मझौला व्यवसायलाई लक्षित गरी प्लेटफर्म निर्माण गरिएको कम्पनीले जनाएको छ।

विचारबाट व्यावसायिक भिडियोसम्म

कम्पनीको एआई भिडियो निर्माण प्लेटफर्म ‘फिक्राजेन’ले सामान्य विचारबाट व्यावसायिक भिडियो तयार पार्न सहयोग गर्छ। प्रयोगकर्ताले स्क्रिप्ट र भ्वाइसओभर स्वीकृत गरेपछि भिडियो निर्माण गर्न सक्नेछन्।

परम्परागत टेम्प्लेटमा आधारित टुलभन्दा फरक रूपमा HTML, CSS, JavaScript, GSAP र Three.js वेब प्रविधिबाट व्यक्तिगत डिजाइन र एनिमेसन निर्माण गर्ने कम्पनीले जनाएको छ।

फिक्राजेनमा ब्रान्ड किट, बहुभाषिक भ्वाइसओभर, व्यक्तिगत आवाजको क्लोनिङ, वेबसाइट क्याप्चर, क्याप्सन, विभिन्न स्क्रिन आकारका भिडियो, दृश्यस्तरको सम्पादन र आंशिक पुनःनिर्माणको सुविधा समावेश छन्। विज्ञापन, सफ्टवेयर लन्च, उत्पादन प्रदर्शन र स्टोरीबोर्ड निर्माणका लागि समेत विशेष कार्यप्रवाह विकास गरिएको छ।

सामाजिक सञ्जाल र विज्ञापन एउटै प्रणालीमा

फिक्रा भेन्चर्सको ‘फिक्रासोसल’ले सामाजिक सञ्जाल अकाउन्ट जोड्ने, सामग्री प्रकाशन तथा समय निर्धारण गर्ने र कमेन्ट, सन्देश तथा प्रतिक्रियाको विश्लेषण गर्ने सुविधा दिनेछ।

एआईको सहयोगमा दर्शकको भावना, उद्देश्य र दोहोरिने विषय पहिचान गर्न थप सहज हुने र यसले प्रयोगकर्तालाई फाइदा पुग्ने कम्पनीले जनाएको छ।

डिजिटल विज्ञापनतर्फ लक्षित ग्राहकसम्म विज्ञापन पुर्‍याउने, विज्ञापनबाट आएका ग्राहक तथा बिक्रीको मापन गर्ने, लगानीअनुसारको प्रतिफल विश्लेषण गर्ने, विभिन्न विज्ञापन सामग्रीको तुलनात्मक परीक्षण गर्ने, प्रभावकारी विज्ञापन सामग्रीलाई थप सुधार गर्ने र विस्तृत कार्यसम्पादन रिपोर्ट उपलब्ध गराउने सुविधा विकास गर्ने योजना फिक्राको छ।

प्रकाशित सामग्रीमा प्राप्त प्रतिक्रियालाई अर्को भिडियो निर्माणको आधार बनाउन सकिने भएकाले कम्पनीको कार्यप्रणाली ‘क्लोज्ड लुप’ अर्थात् निरन्तर सुधारमा केन्द्रित छ।

नेपाली प्रविधि, विश्व बजारको लक्ष्य

‘नेपालीले बनाएको एआई टुल, विदेशीले पनि प्रयोग गर्ने प्रविधि’ भन्ने यही महत्वाकांक्षासहित फिक्रा भेन्चर्सले अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै एआईमा आधारित मार्केटिङ प्लेटफर्म विकास गरेको हो।

नेपालमा विकास भएको प्रविधिलाई नेपाली व्यवसायमा मात्र सीमित नराखी विदेशका व्यवसायसम्म पुर्‍याउने लक्ष्य फिक्राले लिएको छ। अरबीसहित प्रमुख अन्तर्राष्ट्रिय भाषामा सामग्री निर्माण र भ्वाइसओभरको सुविधा विकास गर्ने योजनाले अंग्रेजीबाहेकका बजारलाई समेत लाभ पुग्ने विश्वास कम्पनीको छ।

फिक्रा भेन्चर्सको अवधारणा एआईको प्रयोग गरेर भिडियो बनाउने मात्र नभई त्यसको प्रभाव बुझ्ने, उपभोक्ताको प्रतिक्रिया विश्लेषण गर्ने र त्यही आधारमा अर्को भिडियो अझ प्रभावकारी बनाउने निरन्तर प्रक्रिया हो।

सिर्जनात्मक विचारदेखि मापनयोग्य व्यावसायिक परिणामसम्मको सम्पूर्ण सामग्रीको जीवनचक्रलाई एउटै अकाउन्ट, एउटै कार्यप्रवाह र एउटै व्यावसायिक प्रणालीमा जोड्ने लक्ष्य कम्पनीले लिएको छ।

प्रकाशित: १ आश्विन २०८३ १४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App