रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयले आज साँझसम्मको प्रारम्भिक विवरण सार्वजनिक गर्दै विपद् प्रतिकार्य र उद्धार कार्य तीव्र रूपमा भइरहेको जनाएको छ ।
प्रशासनका अनुसार गत भदौ १० गते आएको बाढीका कारण हालसम्म सङ्कलन गरिएका शवमध्ये १५ जनाको पहिचान (सनाखत) खुलेको छ । सनाखत हुनेहरूमा रसुवा, नुवाकोट, धादिङ, कास्की र रामेछापका नागरिकहरू रहेका छन् ।
कुल १९९ वटा शव फेला परेकामा १५ वटाको सनाखत भइसकेको, ४५ वटाको मुचुल्का मात्र गरिएको र बाँकी शवको मुचुल्का तथा डिएनए परीक्षण गरी सनाखत हुन बाँकी रहेको छ । बाढीपछि ठूलो सङ्ख्यामा नागरिक तथा पर्यटकहरू सम्पर्कविहीन भएका छन् ।
प्रशासनका अनुसार रसुवाका एक हजार ६७१, अन्य जिल्लाका एक हजार ८३५ र २७८ जना विदेशी पर्यटक अझै सम्पर्कविहीन छन् । उनीहरूको खोजी कार्य जारी राखिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीले बताए । उनका अनुसार विपद्लगत्तै गरिएको उद्धार कार्यअन्तर्गत भदौ ३१ गतेसम्म एक हजार ३७२ नेपाली र ८९ विदेशी पर्यटक गरी कुल एक हजार ४६१ जनाको सकुशल उद्धार गरिएको छ ।
यस्तै, बाढीमा परी घाइते भएका ७४ जनाको उद्धार गरी अस्पताल भर्ना गरिएको थियो । तीमध्ये ४९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकीलाई थप उपचारका लागि अन्यत्र पठाइएको छ । बाढीमा परी अस्पताल पुर्याइएकामध्ये एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
घरबारविहीन भएका तथा जोखिममा परेका नागरिकलाई विभिन्न नौ वटा आश्रयस्थलमा राखिएको छ । रसुवाका विभिन्न विद्यालय तथा गुम्बा र काठमाडौँको स्वयम्भूस्थित मुस्ताङ सेवा गुम्बा, येल्लो गुम्बा र नेपाल बुद्ध धर्म सेवा सङ्घको भवनमा गरी कुल ८१७ जनाले आश्रय लिइरहेका सहायक प्रजिअ अधिकारीले जानकारी दिए ।
बाढीका कारण रसुवाका गोसाइँकुण्ड, आमाछोदिङ्मो, कालिका र उत्तरगया गाउँपालिकाका विभिन्न वडा पूर्ण रूपमा प्रभावित भएका छन् । गोसाइँकुण्डका वडा नं १, ३, ४, ६, आमाछोदिङ्मोका सबै वडाहरू र उत्तरगयाका वडा नं १, २, ३ को सडक सञ्जाल पूर्ण रूपमा टुटेकाले राहत तथा पुनःस्थापना कार्यमा चुनौती थपिएको छ । राहत वितरणसम्बन्धी थप विवरण जिल्ला प्रशासन कार्यालयको वेबसाइटमा अद्यावधिक भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए ।
प्रकाशित: १ आश्विन २०८३ २१:३९ बिहीबार





