७ पुस २०८२ सोमबार
image/svg+xml
प्रविधि

इन्टरनेटमार्फत रकम चोर्ने पक्राउ

दाङ-इन्टरनेटमार्फत बैंक खाताको रकम चोरीमा संलग्न गिरोह खोजी गर्दै आएको प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। लमहीका सञ्जय पौडेललाई इलाका प्रहरी कार्यालय लमहीले मंगलबार नियन्त्रणमा लिएको हो। उनी गिरोहका नाइके रहेको प्रहरीले जनाएको छ। कार्यालयले उनलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बुझाएको छ।ब्युरोले केही दिनअघि सोही प्रकरणमा दाङकै जनक कार्कीलाई नियन्त्रणमा लिएको थियो। उनले बयानमा आफू सहयोगी मात्र भएको र मुख्य व्यक्ति पौडेल रहेको बताए। कार्कीको बयानका आधारमा ब्युरोले पौडेललाई नियन्त्रणमा लिन लमही प्रहरीलाई पत्राचार गरेको हो। प्रहरीका अनुसार पौडेलले प्रारम्भिक बयानमा आफू चोरीमा संलग्न नभई त्यसका लागि सफ्टवेयर उपलब्ध गराउने व्यक्ति मात्र रहेको बताएका छन्। उनी लमहीमा रिहार इलेक्ट्रोनिक्स सञ्चालन गर्दै आएका छन्। उनले ‘बिट प्वाइन्ट' नामक दुईवटा सफ्टवेयर अमेरिकाबाट खरिद गरी काठमाडौंमा ३० हजार रुपैयाँमा बिक्री गरेको बयान दिएका छन्। यो सफ्टवेयरमार्फत बैंकिङ सिस्टममा जान सकिने र बैंक खाताको रकम ‘ट्रान्सफर' गर्न सकिने उनले जनाए। 
‘उसले बैंक खाताको रकम ट्रान्सफर गर्न सकिने सफ्टवेयर कारोबार गर्दो रहेछ,' पौडेललाई पक्राउ गर्ने टोलीमा संलग्न एक प्रहरीले भने, ‘यो सफ्टवेयरबाट खाताको पैसा निकाल्न सकिने उसले स्विकारेको छ।' उक्त सफ्टवेयर नेपालमा प्रतिबन्धित रहेको प्रहरीले जनायो। 
पौडेलले दुई वर्षअघि भारतमा छँदा बिट प्वाइन्ट सफ्टवेयरबारे सिकेको र त्यही बेला एक अमेरिकीसँग दुइटा सफ्टवेयर खरिद गरेको बयान दिएका छन्। ‘अमेरिकाका एक व्यक्तिबाट सफ्टवेयर किनेर काठमाडौंमा बिक्री गरेको बयान दिएको छ,' ती प्रहरीले भने, ‘यति खतरनाक मान्छेलाई समात्नु ठूलो सफलता हो।' प्रहरीका अनुसार इन्टरनेटबाटै खरिदबिक्री गर्न सकिने यो सफ्टवेयरमार्फत कुनै पनि बैंकको खाता नियन्त्रणमा लिई अर्काे बैंकमा रकम ट्रान्सफर गर्न सकिन्छ। 
पौडेलले आफूबाट सफ्टवेयर गरिद गर्नेले रकम चोरीमा प्रयोग गरेको हुन सक्ने बताए पनि प्रहरीले अहिलेसम्मका चोरीमा उनी नै मुख्य रूपमा संलग्न भएकोतर्फ अनुसन्धान केन्द्रित गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले नै बैंकिङ चोरीसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेकाले उनलाई लमही प्रहरीले सामान्य सोधपुछपछि काठमाडौं पठाएको छ। उक्त गिरोहले अहिलेसम्म कति रकम चोरी गर्योे भन्नेबारे भने पत्ता लागिसकेको छैन। ‘उसले रकम कति चोर्योक भन्ने खुलिसकेको छैन। ब्युरोले अनुसन्धान गर्दै छ, चाँडै थप कुरा थाहा हुन्छ,' प्रहरीस्रोतले भन्यो।

प्रकाशित: ९ वैशाख २०७२ २२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App