७ वैशाख २०८१ शुक्रबार
प्रविधि

राइड सेयरिङ एप ‘जाउँ गुरु’ सार्वजनिक

नयाँ राइड सेयरिङ एप ‘जाउँ गुरु’ सार्वजनिक गरिएको छ। जाउँ गुरु प्रालिले काठमाडौंमा एक कार्यक्रमबीच सो एपको उद्घाटन गरेको हो। कम्पनीको लगानीकर्तामा इन्द्रहाङ लिङ्देन, खुसी लिम्बू र दिवाकर अर्याल हुन्। लिङ्देन र लिम्बू लन्डनमा बसेर व्यापार व्यवसाय र समाजसेवामा आबद्व छन् भने अर्यालले युथ पार्लियामेन्ट नेपाल संस्थाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवाका सवालमा स्वदेशमै विभिन्न क्रियाकलाप गर्दै आइरहेका छन्। जाउँ गुरु एपमार्फत प्रयोगकर्ताले लोकेसन सेयर, जिपीएस ट्र्याकिङ, भुक्तानीका लागि खल्तीलगायत अन्य अनलाइन पेमेन्ट सिस्टमबाट पैसा तिर्न सकिने र २४सै घन्टा कल सेन्टर सेवालगायत सुविधा लिन सक्ने जनाइएको छ ।

मोटरसाइकल र ट्याक्सी राइडर यस संस्था÷एपसँग आबद्ध हुँदा र यात्रु चढाउँदा पनि कुनै शुल्क नलाग्ने, राइडरले सजिलै दर्ता गर्न सक्ने, राइडर र यात्रुका लागि बिमा, राइडर वा अरू जोकोहीले रिफर गरेबापत कमिसन पाउने व्यवस्था, आपतकालीन सुरक्षाका लागि नेपाल प्रहरीको १०० वा आकस्मिक सम्पर्क व्यक्तिसम्म सूचना दिन एसओएस (सेभ आवर सोल) सेवा पनि लिन सकिने कम्पनीले जनाइएको छ। नेपालमा प्रयोगमा रहेका राइड सेयरिङ एपहरूले मोटरसाइकल र ट्याक्सीको मात्र सुविधा दिँदै आएकामा जाउँ गुरुले भने बाइक डेलिभरी, मिनी ट्रक, पानी ट्यांकर र जिप भाडामा लिन सहजीकरण सेवा उपलब्ध गराउने प्रालिका अध्यक्ष लिङ्देनले जानकारी दिए। यससँगै हाललाई काठमाडौंमा बसोबास गर्नेहरूलाई कोठा सर्न मिनी ट्रक, खानेपानीको आपूर्ति र लामो दूरीका लागि जिप भाडामा लिन सकिने उनको भनाइ छ। पूर्ण सवारी सुविधा भएको हुँदा एपले यात्रुहरूको यात्रालाई सहज त बनाउनुका साथै यसमा आबद्व ‘राइडर’हरूलाई आफ्नो सवारीबाट आयआर्जन गर्ने अवसरसमेत दिने उनले जानकारी दिए। 

प्रकाशित: १ कार्तिक २०७९ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App