१ माघ २०८२ बिहीबार
image/svg+xml
प्रविधि

स्मार्ट प्रविधि, स्मार्ट काम

काठमाडौं- 'हाम्रो हजुरबुबाको समय वा त्योभन्दा पहिले सोसल मिडिया थियो कि थिएन?' सूचना प्रविधिसम्बन्धी एक कार्यक्रममा जानकी टेक्नोलोजीका अमित अग्रवालले सोधे।
झट्टै उत्तर आएन।

'सोसल मिडिया' भन्नेबित्तिकै फेसबुक, टि्वटर जस्ता सञ्जाल मनमा आइहाल्छ। यस्तो प्रविधि त त्यो बेला थिएन। एक छिन त अलमल नै भयो। 'सोसल मिडिया' भन्ने शब्द आएको पनि धेरै भएकै छैन।

'सायद थिएन होला,' एकछिनमा बीचबाट उत्तर आयो।

प्रश्नको उत्तर पाएपछि उनले स्त्रि्कनमा फोटोहरू देखाए। जसमा चौतारोमा एक समूहका सदस्यहरु हाउभाउसहित छलफल गरिरहेका थिए।

'यही हो त्यो बेलाको सोसल मिडिया,' अग्रवालले भने, 'हो, त्यो बेला स्त्रि्कनमा बसेर संसारसँग जोडिने प्रविधि थिएन। तर केही माध्यम थिए जसले समाजलाई जोडिरहेको थियो।' त्यो बेलाको चौतारोमा छलफल गर्ने, हाक हाल्ने, निश्चित ठाउँमा भेला हुने परम्परा सबै 'सोसल मिडिया'का स्वरुप हुन्।

त्यही चलनको विकसित रुप हो अहिले स्त्रि्कनमा बसेर प्रयोग गर्ने 'सोसल मिडिया' अथवा भनौं आधुनिक सूचना तथा सञ्चार प्रविधिका माध्यमहरू। जसले संसारका प्रत्येक व्यक्तिलाई एक अर्कामा जोडिरहेका छन्। जसले संसारको आधुनिक अर्थतन्त्रलाई हाँकिरहेका छन्।

विश्वमा अहिले रहेको झन्डै साढे सात अर्ब जनसंख्यामा झन्डै आधा (३ अर्ब ६० करोड) को अनलाइनमा पहुँच छ। प्रविधिले प्रत्येक व्यक्तिलाई जोड्ने क्रम हरेक दिन बढिरहेको छ। इन्टरनेट प्रयोगले प्रविधिमा उक्त देश कति अगाडि छ भनेर देखाउने सूचकांक पनि हो। विश्वको अहिलेको अवस्था हेर्ने हो भने इन्टरनेट प्रयोग गर्ने पहिलो तीन देशमा चीन, भारत र अमेरिका पर्छन्। चीनमा ६७ करोड (६७० मिलियन), भारत ३५ करोड र अमेरिकामा २८ करोड जनसंख्या इन्टरनेट प्रयोग गरिरहेका छन्।

संसारको गतिसँगै नेपाल पनि नारिएको छ। भलै त्यो मन्द गतिमा किन नहोस्। एकै हलका गोरु भएपछि लतारिन पर्छ भने जस्तै संसारको प्रगतिसँग नेपाल पनि नारिनै पर्छन्। नत्र अर्थतन्त्र चल्न सक्दैन।

संसारको प्रगतिमा हामी कहाँ छौं त? तथ्यांक अनुसार झन्डै तीन करोड जनसंख्या भएको हाम्रो मुलुकमा इन्टरनेट प्रयोग गर्नेको संख्या ४८ लाख पुगेको छ। यो सूचना, संचार तथा प्रविधिको विकासमा उल्लेख्य प्रगति हो।

नेपालीले प्रविधि आत्मसात गरेको धेरै भएको छैन। नेपाल कम्प्युटर एसोसिएसन (क्यान) ले पहिलोपटक १९९५ मा प्रदर्शनी गर्दा २ हजार दर्शक आएका थिए। त्यो पनि दर्शकलाई फोन गरेर हेर्न आइदिनु पर्यो१ भनेर भन्नुपर्ने अवस्था थियो। त्यो अवस्था हेर्ने हो भने त अहिले प्रविधिमा फट्को मारेको भन्नुपर्छ।

'कम्प्युटर प्रयोग गर्नेलाई फोन गरेर यस्तो प्रदर्शनी छ, आइदिनु पर्योअ भनेर बोलाउनु पर्थ्यो,' पहिलोपटक क्यान इन्फोटेक गर्दाको अनुभव सुनाउँदै क्यानको दोस्रो र तेस्रो कार्यकालका अध्यक्ष विजयकृष्ण श्रेष्ठले भने, 'कम्प्युटरबाट श्यामश्वेत फोटो खिचेर दर्शकलाई देखाउँदा नयाँ प्रविधि आएको मानिन्थ्यो।' विज्ञान प्रविधि मन्त्रालय नहँुदै निजी क्षेत्रबाट प्रविधिको विकासको लागि सुरुवात गरेको त्यो बेलाको अवस्था सम्भि्कए उनले।

नेपालमा कम्प्युटरको प्रयोग गर्न थालेको धेरै भएको छैन। झन्डै ३२ वर्षअघि २०४० सालतिरबाट मात्र नेपालमा कम्प्युटर बिक्री वितरण सुरु भएको थियो। कम्प्युटर किन्न पनि सजिलो थिएन। एउटा कम्प्युटर किन्न लाइसेन्स लिनुपर्ने नियम थियो। विदेशबाट कुनै व्यक्तिले लाइसेन्ससहित कम्प्युटर लिएर आउँथे। त्यो लाइसेन्स किनेर कम्प्युटर किनेको अनुभव श्रेष्ठसँग छ।

क्यानले पहिलोपटक ब्लु स्टार होटलमा क्यान इन्फोटेक गरेर सुरुवात भएको यो मेला दर्शको चापसँगै खुल्ला ठाउँ हुँदै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट भृकुटीमण्डपसम्म आइपुगेको छ। क्यान इन्फोटेकमा बढेको दर्शकको घुइँचोसँगै नेपालमा प्रविधिको विकास पनि बढ्दै गइरहेको छ।

हरेक ठाउँमा प्रविधिको प्रयोगबाट व्यवसायलाई सजिलो र सरल बनाउने ट्रेन्ड चलेको छ। व्यक्तिगतदेखि संस्थागत रुपमा प्रविधिलाई आत्मसात गरिरहेका छन् व्यवसायीहरू। सरकारीदेखि निजी क्षेत्रमा हाजिर गर्ने ठाउँमा डिजिटल प्रविधि प्रयोग भएको छ। बैंकिङ प्राणालीका काम, घरायसी टेलिफोन, विद्युत, खानेपानी शुल्क डिजिटलमा छिरेका छन्। माघको भन्सार दिवसको अवसरमा भन्सार विभागले डिजिटल प्रविधिबाट काम सुरु गर्ने भन्दै मेची भन्सार कार्यलयलाई डिजिटलयुक्त बनाएको छ। यसै वर्ष १० वटा भन्सारलाई डिजिटलमा लैजाने समेत जनायो। यसले सूचना प्रविधिमा भएको पछिल्लो विकासलाई झल्काउँछ।

इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन्। उच्चस्तरका इन्टरनेट सेवा दिन कैयौं कम्पनीहरू प्रतिस्पर्धा गरिरहेका छन्। इन्टरनेट सेवा प्रदायक ४ दर्जन पुगिसकेका छन्। २८ केबिपिएसको डायलअपबाट सुरु भएका इन्टरनेट सेवा अहिले १० जिबीभन्दा माथिको ब्रोडब्यान्डमा पुगेको छ। 'त्यो बेला ठूला बिजनेस हाउस, सरकारी निकायले मात्र इन्टरनेट प्रयोग गर्थे,' वर्ल्डलिंकका जेनरल म्यानेजर प्रजय नेपालले भने, 'अहिले फाइबर सेवाबाट उच्च स्तरको इन्टरनेट सेवा दिने प्रतिस्पर्धा चलिरहेको छ।'

छोटो समयमा अप्ठेराहरू हुँदाहँुदै पनि प्रविधि क्षेत्रमा नेपालको प्रगति भइरहेको बताउँछन् कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान) का अध्यक्ष विनोद ढकाल। 'ठुल्ठूला आइबिएम कम्प्युटर प्रयोगको ठाउँमा स्लिम स्मार्ट प्रविधि आएको छ,' ढकालले भने, 'अझै पनि यस क्षेत्रमा धेरै गर्न बाँकी छ।' इ–गभर्नेन्स, इ–लर्निङ, इ–हेल्थ, इ–सपिङ, इ–पेमेन्ट, इ–मार्केटिङको ट्रेन्ड आइरहेकाले अहिले सरकारले प्रविधिलाई प्राथमिकतामा राख्नुपर्ने धारणा यस क्षेत्रका व्यवसायी बताउँछन्।

एप्स, सफ्टवेयर निर्माण व्यवसाय फस्टाएको छ। सन् २००८ देखि मात्र नेपालमा एप्स बनाउन सुरु भएको भए पनि सफ्टवेयर र एप्स बनाउने सयौं कम्पनी आएका छन्। हजारौं दक्ष जनशक्ति यस क्षेत्रमा व्यावसायिक रुपमा लागेका छन्।

प्रविधिको क्षेत्रमा विद्यार्थीको चाप पनि बढिरहेको छ। प्रविधिका आइटी कलेज धेरै छन्। आइटी विषय लिएर पढ्ने विद्यार्थी बढिरहेका छन्। 'सेमेस्टरमा कोटाभन्दा धेरै विद्यार्थी आइरहेका छन्,' ब्रिटिस कलेजका सुमन श्रेष्ठले भने, 'सोसल मिडियाले पनि आइटीको कोर्सबारे प्रचार भएको छ।' पहिला प्रविधि भनेर समग्र रुपमा पढ्ने चलन थियो तर अहिले स्पेसिफिक विषयहरू एप्लिकेसन डेभलपमेन्ट, फरसिक एन्ड सेक्युरिटी, एकाउन्टिङ, नेटवर्किङ, वेब डेभलपमेन्ट, एप्स पढ्ने चलन छ।

मोबाइल सेवाको विस्तार अतुलनीय छ। सहरबजारमा इन्टरनेट सेवादेखि पछिल्ला प्रविधिको प्रयोग भइरहेको बेलामा गाउँघर, ग्रामीण कुनाकाप्चामा मोबाइल भ्वाइस सेवा विस्तार भइरहेको छ। यसको विकास बढ्दो छ। ग्रामीण क्षेत्रमा सेवा विस्तारका लागि १० अर्बभन्दा धेरैको कोष स्थापना गरिएको छ। संसारका सबै किसिमका मोबाइल नेपालमै पाइन्छन्।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार देशभरमा टेलिघनत्व ९७ प्रतिशतभन्दा माथि पुगेको छ। इन्टरनेट सेवाको घनत्व ४० प्रतिशत हाराहारी पुगेको छ। दूरसञ्चार सेवा प्रदायक पनि बढिरहेका छन्। अहिले दूरसञ्चार सेवा प्रदायक ६ वटा पुगिसकेका छन् भने १० वर्षअघि यस्ता कम्पनी दुइटा मात्र थिए।

प्रविधिमा विकास हँुदै जादा समस्याहरू पनि आइरहेका छन्। प्रविधिले निम्त्याएका केही समस्यालाई सरोकारवालाले बिर्सनु हुँदैन। त्यस्तै, सूचना, सञ्चार र प्रविधिलाई विकास गर्ने भन्दै 'आइसिटी पोलिसी' समेत आइसकेको छ। यसलाई तत्काल लागू गरेर नयाँ आयाम ल्याउनु पर्छ। पछिल्लो सरकारले प्रविधि र सूचना तथा सञ्चारलाई छुट्ट्याएर मन्त्रालय बनाएको छ। यसले गर्दा प्रविधिको विकासमा बाधा पुग्ने सरोकारवालाले बताउँदै आएका छन्। सूचना, सञ्चार तथा प्रविधिलाई सधैं एकै ठाउँमा राखेर ऐन–नियम बनाएर मात्र समग्र विकास हुन सक्ने उनीहरूको भनाइ छ। 'सरकारले यस विषयलाई गम्भीर रुपमा लिनुपर्छ,' ढकालले भने। सरकारसँग अहिले पनि सूचना तथा सञ्चार क्षेत्रमा भएको लगानी, यसमा रोजगारीको अवस्था, कति कम्पनी छन्? के के काम गरिरहेका छन् भन्ने विषयमा अध्ययन नभएको र यसको तथ्यांकसमेत नभएको गुनासो गर्दै आएका छन्।

सानो लगानीमा सुरु भएको प्रविधि क्षेत्रमा जसरी विकास भएको छ त्यसरी नै अबका समस्यालाई सम्बोधन गर्दै जाने हो भने यस क्षेत्रले नेपालको आर्थिक अवस्थालाई माथि उकास्ने निश्चित छ।

प्रकाशित: १४ माघ २०७२ २३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App