भूकम्पपछि नेपालको पर्यटन पुनर्उत्थानका लागि बहस भइरहेको छ। सरकारले यसका लागि नयाँ स्किम र अफर ल्याउने तयारी गरिरहेको बेला निजी क्षेत्रबाट पनि पर्यटन प्रवर्द्धनात्मक विभिन्न अभियान सञ्चालन भइरहेका छन्। त्यसैको एउटा रूप हो— 'गो नेपाल होलिडे' एप।
एन्ड्रोइड अपरेटिङ सिस्टम र आइफोन अपरेटिङ सिस्टम भएका मोबाइल फोन तथा आइटी ग्याजेटहरूमा डाउनलोड गर्न सकिने 'गो नेपाल होलिडे एप'मा नेपालमा रहेका अधिकांश पर्यटकीय गन्तव्य, होटल, ट्रेकिङ, नक्साजस्ता पर्यटनस"ग सम्बन्धित सम्पूर्ण जानकारी एवं सूचना रहेका छन्। नेपाल आउनुपूर्व नेपालका बारेमा एउटै एपबाट जानकारी लिनका लागि यो एप सहयोगी हुने देखिन्छ।
वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिको परकम्पले नेपालको पर्यटन क्षेत्रमा पुर्या एको क्षतिबारे अन्तर्राष्ट्रिय रूपमा नकारात्मक प्रचार भइरह"दा त्यसले नेपालको पर्यटन क्षेत्रलाई गम्भीर रूपले असर पारिरहेको छ। त्यसैले नेपाली अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको पर्यटन क्षेत्रको पुनर्उत्थान गर्न अहिले सानोसानो अभियानले पनि ठूलो अर्थ राख्छ। गुगलमा सर्च गरेर होस् या ट्राभल एप डाउनलोड गरेर, नेपाल पर्यटनका लागि सुरक्षित छ भन्ने सन्देश जान जरुरी छ। त्यसका लागि 'गो नेपाल होलिडे' एप सहयोगी बन्न सक्छ।
एपको बिहीबार मात्रै अमेरिकी नागरिक तथा नेपालमा निरन्तर आइरहने स्वयंसेवी पर्यटक प्रोफेसर डक्टर लोरेन वेबेकले सार्वजनिक गरेका छन्। मोबाइलमा एप डाउनलोड गर्दै उनले नेपाल पर्यटकीय गन्तव्यका लागि उत्कृष्ट र भूकम्पपछि पनि सुरक्षित रहेको बताए। ट्राभल एपले नेपाल घुम्न आउने पर्यटकलाई सहज बनाउने उनको विश्वास छ। दर्जनौंपटक नेपाल आएका लोरेनले एप सार्वजनिकसँगै अमेरिकामा रहेका आफ्ना थुप्रै साथी र आफन्तलाई नेपालका बारेमा जानकारी गराइसकेका छन्। यो उनको सानो प्रयास भए पनि नेपालको पर्यटनमा ठूलो महŒव देखिन्छ।
स्मार्टफोन तथा एपको तथ्यांक राख्ने अमाडेउस डटकमका अनुसार यात्रामा निस्कने ८७ प्रतिशतले स्मार्टफोन प्रयोग गर्छन्। त्यसमध्ये आधाले ट्राभल एप डाउनलोड गरेर आफ्नो यात्राको पूर्वजानकारी लिन्छन्। यात्राकै क्रममा ५२ प्रतिशत यात्रुले गन्तव्यका लागि एप प्रयोग गर्छन्।
कम्पनीका कार्यकारी अध्यक्ष हरिमान लामाले नेपाल आउने पर्यटकहरुले मोबाइल एपकै माध्यमबाट होलिडे प्याकेज लिन पाउने सुविधाका लागि ट्राभल एप सार्वजनिक गरिएको बताए। 'भूकम्पले नेपालको पर्यटनलाई ठूलो असर पारेको छैन। त्यो सन्देश फैलाउन पनि एपको सहारा लिइएको हो,' उनले भने, 'यसमा नेपालको पर्यटकीय स्थलदेखि होटल बुकिङ र नक्साहरूबारे जानकारी राखिएको छ।'
नेपाली अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको पर्यटन क्षेत्रको पुनर्उत्थान तथा यसको दिगो विकासका लागि सरकार, निजी क्षेत्र, सरोकारवालासँगै सबै नेपालीहरूको दायित्व भएको उनी बताउँछन्। यसमा गेटवे पेमेन्ट सिस्टमबाट अनलाइन बुक गर्ने सकिने व्यवस्था रहेको समेत उनले जानकारी दिए।
'गो नेपाल होलिडे'मा हाल नेपालका विभिन्न स्थानमा रहेका ४० भन्दा बढी होटलहरूको बारेमा अधिकांश जानकारी उपलब्ध छन्। त्यस्तै नेपालका प्रमुख सहर एवं पर्यटकीय गन्तव्यको नक्सा, पर्यटकलाई आवश्यक यातायातका साधन, ट्रेकिङ रुटजस्ता जानकारी पनि यसमा राखिएको छ।
नेपालका सबै स्टार होटलका सुविधा र मूल्य पनि एपमा उल्लेख गरिएको छ। होटलको दृश्य, बेडरुमदेखि गार्डेनसम्मको वर्णन गरिएको छ। त्यस्तै नेपालका पर्यटकीय क्षेत्रको विभिन्न प्याकेज पनि एपमा उल्लेख छ। ट्रेकिङ रुट र त्यसमा लाग्ने दिन र मूल्य समावेश एपमा नेपालभित्र जाने यातायातका विषयमा पनि जानकारी समेटिएको छ। नेपालको पर्यटन प्रवर्द्धनका लागि आवश्यक जानकारी एपमा नै पाइन्छ।
पछिल्लोपटक स्मार्टफोन प्रयोग गर्नेको संख्या बढ्दै गएको र पर्यटकहरूले पनि अनलाइन बुकिङ गरेर ट्राभल गर्ने हुनाले एप उपयोगी भएको बताउँछिन्, कम्पनीकी अनुसन्धान तथा व्यवसाय प्रबन्धक इच्छा लामिछाने। 'धेरै मोबाइल प्रयोगकर्ता आफ्नो मोबाइलमा समय खर्चिन्छन्। एपको प्रयोग पनि बढिरहेको छ,' उनले भनिन्, 'त्यसैले नेपालको जानकारी एपका माध्यमबाट दिँदा अझ राम्रो हुने भएकाले ट्राभल एप सार्वजनिक गरेका हौं।'
कम्पनीले नेपालको पर्यटन पुनर्उत्थानका लागि र गो नेपाल होलिडे एपलाई विश्वव्यापी बनाउन फोटो कन्टेस्ट नामक फोटो प्रतियोगिताको पनि घोषणा गरेको छ। प्रतियोगितामा विश्वभरका फोटोग्राफरहरूले नेपालको सुन्दरतालाई कलात्मक र सकारात्मक तवरले उजागर गरिएका तस्बिर समावेश गराएर भाग लिन पाउनेछन्। साहसिक, भूदृश्य, संस्कृतिक धरोहर र वन्य जीवजन्तु गरी प्रत्येक चार विधाका उत्कृष्ट एकएक जनालाई पुरस्कृत गरिने कम्पनीले जनाएको छ। प्रतियोगितामा भाग लिन गो नेपाल होलिडे एप डाउनलोड गरेर त्यसमा भएका प्रक्रिया पूरा गर्नुपर्नेछ।
प्रतियोगितामा विजेता तस्बिरका फोटोग्राफरहरूलाई इन्सेन्टिभ होलिडेजका तर्फबाट पुरस्कारस्वरूप नेपाल भ्रमणको आकर्षक प्याकेज पाउनेछन्। पुरस्कारअन्तर्गत प्रत्येक विधाका विजेतालाई काठमाडौं–लुम्बीनी–चितवन–पोखराको टुर प्याकेज प्रदान गरिने कम्पनीले घोषणा गरेको छ।
प्रकाशित: १८ असार २०७२ २१:१९ शुक्रबार





