सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनिलबहादुर मल्लले कम्पनीको सातौं वार्षिक प्रतिवेदन पेश गरेका थिए । कम्पनीले विगतमा प्राप्त गरेको सफलतालाई निरन्तरता दिँदै यस वर्ष पनि मुनाफा आर्जन गर्न सफल भएको मल्लले बताए। उनले यस अवधिमा एक करोड लाइन क्षमताको जिएसएम मोबाइल योजना कार्यान्वयन सफल रहेको र २० लाख क्षमताको आइपी सिडिएमए योजनाअन्तर्गत पहिलो चरणको उपकरणहरु जडान भई सञ्चालनमा ल्याइएको जानकारी दिए।
मुलुकका सबै क्षेत्रमा डाटा सेवाको पहुँचलाई सहज गराउने उद्देश्य अनुरुप थि्रजी सेवाको विस्तारलाई प्राथमिकता दिइएको र सिडिएमए प्रविधिमा आधारित इभिडियो सेवालाई समेत सबै जिल्लाहरुमा सञ्चालनमा ल्याइसकिएको मल्लले बताए।
कम्पनीले आफ्ना सेवाहरुको महसुल भुक्तानीको लागि रिचार्ज कार्ड, एपिओएस इ रिचार्ज जस्ता प्रविधिको उपयोगमा जोड दिएको र यसबाट महसुल बक्यौता हुने सम्भावना न्यून हुन जाने तथा चालु आवमा सेयरधनीको कोषमा पनि उल्लेख्य रुपमा वृद्धि भएको कम्पनीले जनाएको छ। प्रतिसेयर किताबी मूल्य गत वर्षको तुलनामा ७.१६ प्रतिशतले वृद्धि भएको टेलिकमले जनाएको छ। त्यस्तै गत आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ७५.३ रहेकोमा यस वर्ष प्रति सेयर आम्दानी ७७.०२ पुगेको टेलिकमले जनाएको छ।
प्रकाशित: २८ चैत्र २०७१ २३:५९ शनिबार





