२६ पुस २०८२ शनिबार
image/svg+xml
प्रविधि

मोबाइलमा सबै छ

नाडीबाट घडी हराउन थाल्यो, भित्तामा क्यालेन्डर देखिन छाडेको छ। कम्प्याक्ट क्यामेराको बजार खस्कँदो छ। एउटै मोबाइलले धेरै सुविधा दिन थालेपछि घडी, क्यालेन्डर र क्यामेरामात्र होइन, अरु धेरै साधन विस्थापित भइरहेका छन्।फोन गर्न र उठाउन अत्यावश्यक मानिएको मोबाइलमा थपिँदै गएका विभिन्न विशेषताले यसको प्रयोगको दायरा झन् फराकिलो पारेको छ। दैनिक व्यक्तिगत कामदेखि कार्यालयका कामसम्म ३ देखि ७ इन्चका मोबाइलमा हुन थालेपछि सरकारले कल्पना गरेको हातहातमा मोबाइलले सार्थकता पाउँदै गएको छ।
हरसमय मान्छेको साथमा हुने मोबाइलको नेपाली बजार उकालो ग्राफमा गइरहेको छ। प्रविधिको सुलभ र अत्यावश्यक मोबाइल फोनमार्फत आफन्त र साथीभाइसँग कुराकानीमात्र होइन, व्यवसाय बढाउने पुस्ता पनि बढ्दै गएका छन्।
मोबाइलमा के छैन? गीत सुन्न एमपी थ्री चाहिँदैन, भिडियो खिच्न भिडियो क्यामेरा चाहिँदैन, फोटो खिच्न क्यामेरा चाहिँदैन। यतिमात्र होइन इन्टरनेटको जमानाले यी सामाजिक सञ्जालमा रमाउनेदेखि विभिन्न गेम खेल्नका लागि पनि मोबाइल आवश्यक भइसक्यो। चोकमा तरकारी बेच्ने किसानले फोनबाट तरकारी अर्डर गरेर उपभोक्तालाई त्यही मोबाइलको क्याल्कुलेटरमा हिसाब गरेर बिक्री गर्छ।
बिहान उठेदेखि बेलुका सुत्दासम्म नभइनहुने साधन भएको छ, मोबाइल। बजारमा सस्तादेखि महँगा सेट आउन थालेपछि धेरै नेपालीको पहुँचमा मोबाइल पुगेको छ। मोबाइलको दायरा फराकिलो बनाउने श्रेय सेवाप्रदायक कम्पनीलाई जान्छ।
नेपालमा मोबाइल सेवा सुरु भएको डेढ दशकमै दूरसञ्चार घनत्व २ अंकले वृद्धिमात्र भएको छैन, मोबाइलको सेट र सेवामा भारी गिरावटसमेत आएको छ। अहिले हातहातमा मोबाइल पुगेको छ। नेपालमा सूचनाप्रविधि विकासको मानक मानिने मोबाइल क्रान्ति र यसका दुई सेवा भ्वाइस र डाटाले दैनिकी सहज बनाइदिएको छ।
कुनै बेला थियो। मोबाइलको सिम निकाल्न ठूलै रकम धरौटी राख्नुपर्थ्यो, त्यसमा पनि सोर्सफोर्स चलाउनुपर्ने। अहिले त्यो जमाना छैन। पानपसलदेखि किराना पसलसम्म एउटा फर्म भरेको आधारमा एक सयमा टक भ्याल्युसहितको सिम पाइन्छ। हालसम्म देशको जनसंख्याको ९५.१८ प्रतिशत मोबाइल सिम वितरण भइसकेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक हेर्ने हो भने जिएसएम र सिडिएमए मोबाइलको २ करोड ३१ लाख ९६ हजार ३६ र एलएमएस र जिएमपिसीएस सेवा २० लाख २१ हजार ५ सय ३१ पुगेको छ। यो तथ्यांकले पनि देखाउँछ कि मोबाइल सहरमा मात्र होइन ग्रामीण भेगका कुनाकाप्चासम्म पुगेको छ।
साठीको दशकअघि एक मात्र दूरसञ्चार सेवाप्रदायक थियो। अहिले ६ वटाले सेवा दिइरहेका छन्। दस वर्षअघि दूरसञ्चारमा चारवटा मात्र सेवा थिए, अहिले १३ वटा छन्। सेवा प्रदायकको प्रतिस्पर्धात्मक बजार र दूरसञ्चारमा थपिँदै गएका विभिन्न सेवाले उपभोक्तालाई आकर्षित गर्दै गइरहेको छ। नेपाल टेलिकम, एनसेल, युटिएल, स्मार्ट, हेलो र एसटिएम कम्पनीले दूरसञ्चार सेवा दिइरहेका छन्।
प्राधिकरणका निर्देशक आनन्दराज खनालले सेवाप्रदायकले मूल्यमा दिएको सुविधा र सस्तो मोबाइल सेट दुवैका कारण मोबाइलको बजार बढिरहेको बताउँछन्। ‘अझ विभिन्न विशेषता थपिएका मोबाइल सेट आयात हुन थालेपछि सेवा विस्तार तीव्र भएको छ,' उनले भने।
सुरुआती दिनमा मोबाइल लिन एकमुष्ट ५० हजारभन्दा बढी तिर्नुपर्थ्यो। आउटगोइङ र इनकमिङ कलको १० र ५ रुपैयाँ थियो। अहिले मोबाइल सेवा दशकअघिको तुलनामा सर्वसुलभ छ। सरकार उदारीकरण र निजीकरण नीतिमा गएपछि दूरसञ्चार सेवामा निजी क्षेत्रसमेत भित्याउन र सेवालाई नियमित र व्यवस्थित गर्न २०५३ मा नया“ दूरसञ्चार ऐन पारित भयो। त्यससँगै नेपाल दूरसञ्चार प्राधिकरण स्थापनापछि सुरु गरिएको पेजिङ सेवा र २०५६ सालदेखि सुरु तारविहीन मोबाइलसहितका अन्य सेवाले नेपालमा डिजिटल समाज निर्माण गरिरहेका छन्।  
फैलँदो मोबाइल सेवाले बहुआयामिक प्रभाव पारेको छ। कृषि, स्वास्थ्य, शिक्षा, सरकारी सेवासम्मलाई यसले छपक्कै छोपेको छ। बैंक तथा वित्तीय सेवामा पनि यसको उपस्थिति छ। एउटै मोबाइलमा वालेट र बैंकिङ सेवा हुन थालेपछि उपभोक्ता झन्झटमुक्त हुन थालेका छन्।
सामसङ मोबाइल एन्ड इलेक्ट्रोनिक्स न्युरोडका गुरुदत्त शर्मा भन्छन्, ‘नेपाली बजारमा महँगादेखि सस्ता मोबाइल सेट भित्रिरहेका छन्। विश्वका हरेक ब्रान्ड घरेलु बजारमा उपलब्ध हुन थालेपछि उपभोक्तालाई छनोटको विकल्पमा पनि सजिलो भएको छ।'
नेपालीको क्रयशक्तिअनुसार नै मोबाइल सेट बजारमा पाइन्छ, ब्रान्ड र विशेषता खोज्नेका लागि पनि उस्तै सुविधा छ, त्यसैले मोबाइल सेटको बजार पछिल्लोपटक अकल्पनीय रूपमा बढेको छ।
भन्सार विभागका अनुसार एक वर्षमा २२ लाख सेट नेपालमा आयात हुन्छ। यसमा पनि भन्सार छलेर ल्याउनेको संख्या ठूलो छ। नेपाली बजारमा अहिले ३० वटा मोबाइल ब्रान्ड बिक्री भइरहेको व्यवसायी बताउँछन्। समग्रमा मोबाइलको बजार वार्षिक १२ अर्ब हाराहारी रहेको बिक्रेताको दाबी छ।
टेली टुका अध्यक्ष पुरुषोत्तम बस्नेत भन्छन्, ‘नेपालमा हरेक महिना ३ लाख मोबाइल सेट बिक्री भइरहेको छ। विभिन्न विशेषता र सुविधाका कारण ७० प्रतिशतभन्दा बढी स्मार्टफोनको बजार हिस्सा छ। नेपालमा वार्षिक मोबाइल कारोबार १२ अर्ब हुन्छ, कतिपय ब्रान्डका छन् भने केही बिनाब्रान्डका पनि छन्।' यसमा पनि मुख्यतः ७ वटा ब्रान्डको प्रमुख बजार हिस्सा रहेको उनी बताउँछन्। सामसुङ, हुवावे, सोनी, एप्पल, एलजी, माइक्रोम्याक्स र कलर्सको बजार हिस्सा धेरै छ।
मोबाइल फोन सञ्चारको साधनसँगै रहनसहन र कामकाजमा बढी प्रयोग हुन थालेपछि ग्लोबलदेखि घरेलु बजारमा यसको बिक्री बढ्दै गएको हो। स्मार्टफोनमा हुने अनेकथरी सुविधाले उपभोक्ता आकर्षित भएपछि मोबाइलविना रहनै नसक्ने अवस्था आएको व्यवसायी बताउँछन्। प्राधिकरणका अनुसार मोबाइलमा मात्र इन्टरनेट चलाउनेको संख्या जनसंख्याको ३८.७८ अर्थात १ करोड २ लाख ७६ हजार ७ सय ४८ पुगेको छ।
भर्जिन मोबाइलका प्रबन्ध निर्देशक विवेक शर्मा भन्छन्, ‘पढ्दै नपढेकाले पनि फेसबुकलगायत विभिन्न सामाजिक सन्जाल र वेबसाइटमा रमाउने भएपछि मोबाइलको प्रभाव ह्वात्तै बढेको छ।' कुनै बेला मोबाइल सामाजिक प्रतिष्ठाको विषय थियो, अहिले सबैको पहुँचमा छ। यो अब विलासिताको साधन रहेन, उपभोक्ताको अत्यावश्यक वस्तु बनेको छ।
नेपाली बजारमा ग्लोबलदेखि भारत र चीनका ब्रान्डको उपस्थिति छ। यी ब्रान्डमा १ हजारदेखि १ लाखसम्मका मोबाइल सेट उपलब्ध हुन्छन्। सानो बजारमा धेरै ब्रान्डको प्रतिस्पर्धा चुलिँदा त्यसको प्रत्यक्ष फाइदा ग्राहकलाई परेको छ, जसले सस्तोमा मोबाइल सेट पाइरहेका छन्।

प्रकाशित: २८ चैत्र २०७१ ०१:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App