पत्रकार सम्मेलनमा टेली टु प्रालिका अध्यक्ष पुरुषोत्तम बस्नेतले कार्निभलमा सबै व्यवसायी सहभागी हुने बताए। उनले १ करोड रुपैयाँभन्दा बढीको छुट अफर गरिएको र कार्निभलमा व्यवसायका साथै सामाजिक सेवा पनि गरिने जानकारी दिए। ग्राहकहरुलाई मोबाइलबारे सही जानकारी दिने तथा विभिन्न मोबाइल खरिदमा छुट दिने उनको भनाइ छ।
पाको युथ क्लबका अध्यक्ष अमृत मानन्धरले पहिलो पटक नौलो किसिमले आयोजना गर्न लागिएको मोबाइल कार्निभलमा खरिदकर्ताले आकर्षक छुटमा मोबाइल तथा एक्सेसरिज खरिद गरेर नयाँ वर्षको खुशीयाली साथीभाइ तथा परिवारसँग बाँड्न सक्ने बताए।
सामसङ मोबाइल एन्ड इलेक्ट्रोनिक्सका गुरुदत्त शर्माले कार्निभल अवधिभर पाको, न्यूरोड, ताम्राकार कम्प्लेक्स तथा पिपल्स प्लाजा क्षेत्रमा मोबाइल खरिद गर्ने एसएलसी दिएका विद्यार्थीमध्ये एकजनालाई ५० हजार रुपैंयासम्मको छात्रवृत्ति दिइने जानकारी दिए। त्यस्ता विद्यार्थीलाई लक्की ड्रमार्फत मोबाइल खरिदमा विशेष उपहारसहित छुट पनि दिइने छ।
कार्निभल अवधिभर १० लाख उपभोक्ता सहभागी हुने अनुमान गरिएको छ। हालसम्मकै सबैभन्दा बढी मोबाइल व्यवसायीको सहभागितामा आयोजना हुने उक्त कार्निभलमा मोबाइल म्युजिकल कन्सर्ट, मोबाइल फुड फेस्टा, स्वास्थ्य शिविर, बालबालिकाको गेमिङ जोन, गणेश पूजा तथा मोबाइल एक्सपो समावेश गरिनेछन्।
त्यसैगरी कार्निभलको अवसरमा मोबाइल खरिदकर्तालाई विभिन्न किसिमका उपहार तथा स्किम राखिएका छन्। ती भने आगामी वैशाख १५ सम्म उपलब्ध हुनेछन्। कार्निभलमा मोबाइल खरिद गर्ने अन्य ग्राहकहरुलाई महोत्सव अवधिभर ५० वटा स्मार्टफोन उपहार दिइने छ। २ सयभन्दा बढी मोबाइल पसल तथा सोरुम रहेको पाको न्युरोड तथा ताम्राकार कम्प्लेक्स क्षेत्रमा हाल २५ भन्दा बढी मोबाइल ब्रान्डका आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा छन्।
कार्निभलमा सामसङ, हुवावे, कलर्स, जियोनी, इन्टेक्स, डिटिसी, सोनी, माइक्रोम्याक्स, माइक्रोसफ्ट तथा नोकिया, एप्पल, एचटिसी, ब्ल्याकबेरी, पानासोनिक, लेनोभो, सेलकोन, लाभा, बिक्यु, जोलो, विनकम, फ्लाई, भिडियोकन, बर्डलगायत मोबाइल ब्रान्डहरुको सहभागी हुनेछन्।
यसमा मोबाइल एसोसिएसन, पाको न्युरोड मोबाइल व्यवसायी, ताम्राकार कम्प्लेक्स, पिपल्स प्लाजा तथा यस क्षेत्रका व्यापार संघले सहभागिता जनाउनेछन्।
प्रकाशित: २६ चैत्र २०७१ २१:३३ बिहीबार





