पौडेलले भृकुटी डेभलपमेन्ट बैंक, सन्धिखर्क शाखामा खाता खोलेकी छन्। यही बैंकबाट उनले अहिले एसएमएस बैंकिङ सुविधा लिइरहेकी छन्। खातामा कति पैसा छ? डिपोजिट कति भयो? मोबाइलमै जानकारी आउँछ। ‘मलाई एउटा पिन नम्बर दिनुभएको छ,' उनले भनिन्, ‘त्यही नम्बर एसएमएस गरेपछि चाहिएको जानकारी आउँछ।' तीनवटा ट्रान्जेक्सनको बैंकिङ स्टेटमेन्ट पनि मोबाइलमै आउने उनले बताइन्।
उनले यो सुविधा लिन थालेको एक वर्ष भयो। गृहणी पौडेललाई काठमाडौंबाट पैसा डिपोजिट हुनेबित्तिकै मोबाइलमा आवाज आउँछ, ‘टिङ टिङ।' ‘पैसा आयो' उनले उता जानकारी गराउँछिन।
पछिल्लो समय मोबाइल बैंकिङ सुविधा लिनेहरू धेरै बढेको बैंक बताउँछन्। गाउँगाउँ पुगेका वित्तीय संस्थाले प्रतिस्पर्धात्मक बजारमा आफूलाई अगाडि ल्याउन यो सुविधा दिनैपर्ने भएको छ।
भृकुटी डेभलपमेन्ट बैंक सन्धिखर्कका कर्मचारी कमल पौडलले यो सुविधा लिने ग्राहक बढ्दै गएको बताए। ‘हाम्रोमा ५० प्रतिशतभन्दा धेरैले एसएमएस सुविधा लिनुभएको छ,' कमलले भने, ‘कतिलाई हामीले जानकारी गराउँछौं, कति आफैं खोज्दै आउनुहुन्छ।'
भौगोलिक हिसाबले विकट हाम्रो देशमा मोबाइल सेवा कुनाकुनामा पुगेको छ। तर त्यी ठाउँमा बैंक पुग्न बाँकी छ। यस्तो अवस्थामा मोबाइल बैंकको अझ महŒव हुने लक्ष्मी बैंकका मार्केटिङ तथा कम्युनिकेसन डिपार्टमेन्ट चिफ निकेश घिमिरे बताउँछन्। ‘भौगोलिक विकटता र जनसंख्याको असमान वितरणले गर्दा सबै ठाउँमा बैंक पुगको छैनन्,' घिमिरेले भने, ‘त्यो ठाउँमा मोबाइल बैंकिङले धेरै सुविधा दिन सक्छ।'
२ करोड ५५ लाख ४० हजारवटा मोबाइल नम्बर बिक्री भएको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक छ। मोबाइल सेवाको विस्तारले पनि सेवाग्राहीका रुचि बढाउँदै लगेको छ।
नेपालका लगभग सबै घरबाट एक न एकजना विदेश गएका छन्। विदेशबाट आएको रेमिटेन्स वा बैंकमा हुने डिपोजिटको सूचना बैंकबाट सिधै पाउनु सेवाग्राहीको लागि सुविधा नै हो।
कतिपय ठाउँमा अहिले पनि बैंक सदरमुकाममा मात्र सीमित छन्। सदरमुकाममा पुग्न घन्टौं लाग्छ। घरमै बसेर गर्न सकिने मोबाइल बैंकिङको सुविधाले सर्वसाधारणलाई राहत भएको छ। मोबाइलबाटै पैसा ट्रान्सफर गर्ने, बिल तिर्ने, बैंक स्टेटमेन्ट, ऋणको जानकारी लगायत काम भइरहेका छन्।
घिमिरे मोबाइल बैंकिङ ग्रामीण जनताको लागि जरुरी आवश्यकता भएको बताउँछन्। ‘मोबाइल बैंकिङ गाउँका बासिन्दाको जरुरी आवश्यकता हो,' घिमिरेले भने, ‘उनीहरूलाई बैंकिङ गतिविधिमा जोड्नु राष्ट्र र वित्तीय संस्थाको दायित्व हो।' गाउँका जनतालाई सम्पत्तिको संरक्षण र प्रयोगमा मोबाइल बैंकिङले सहयोग गर्ने उनी बताउँछन्।
गाउँलेलाई आवश्यकता बनेको यो सेवा सहरबासीको लागि थप सुविधा हो। सहर अनलाइन बैंकिङमा अभ्यस्त हुन थालिसक्यो। मोबाइलमा पाउनेभन्दा बढी सुविधा अनलाइनमा पाइन्छ।
घिमिरे भने अनलाइन बैंकिङ जति प्रभावकारी रुपमा प्रयोग हुनुपर्ने हो त्यो अनुरुप नभएको बताउँछन्। ‘अनलाइन बैंकिङ जानकारीका लागि मात्र प्रयोग भएको छ,' घिमिरेले भने, ‘ट्रान्जेक्सनको काम हुन सकेको छैन।' बैंकले नै आन्तरिक कामको लागि अनलाइन प्रयोग गर्न सकेका छैनन्।
बैंकहरूले अनलाइन बैंकिङलाई प्राथमिकतामा राखेर सेवा दिइरहेको बताउँछन् स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्रान्ड, मार्केटिङ एन्ड कर्पोरेट अफेयर हेड दिवाकर पौडेल। ‘हामीले पनि बैंकिङ सेवालाई डिजिटलाइजेसन गरेर छिटो र राम्रो सुविधा दिन इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङ, एटिएम सेवा देशभर सञ्चालन गरेका छौं,' दिवाकरले भने।
गाउँघरमा अझै पनि पैसा घरमै राख्ने चलन छ। व्यक्तिको खल्तीमा रहेको रकमलाई बैंकसम्म ल्याउन मोबाइल बैंकिङले सहयोग पुर्यालउन सक्छ। यसले स्थानीय व्यापार प्रवर्द्धन गर्न, कारोबार बढाउन, पैसाको सुरक्षा गर्न सहयोग पुर्याछउने बैंकर बताउँछन्। यसले राष्ट्रिय अर्थतन्त्रलाई नै सहयोग पुग्ने उनीहरूको धारणा छ।
देशको विभिन्न ठाउँमा मोबाइलबाट बैंकिङ सेवा पुर्या।इरहेको हेलो पैसाका फाइनान्सियल अपरेसन प्रमुख अनिल श्रेष्ठ मोबाइल सेवाबाट आर्थिक कारोबार बढेको बताउँछन्। मोबाइल फाइनान्स सर्भिस सोलुसन भनेर सेवा सुरु गरेको हेलो पैसाले ९ सयभन्दा धेरै एजेन्ट खटाएर मोबाइल बैंकिङ सञ्चालन गरिरहेको छ। ‘अहिले ७ वटा वित्तीय संस्थासँग मिलेर यो सुविधा दिइरहेका छौं,' अनिलले भने, ‘हामीले ग्रामीण भेगमा सुविधा दिइरहेका छौं।' श्रेष्ठका अनुसार मोबाइलबाट २४सै घन्टा सबै बैंकिङ सुविधा उपलब्ध हुन्छ।
पातलो बस्ती भएको गाउँगाउँमा बैंकहरू पुग्न नसक्ने भएकाले मोबाइल बैंकिङबाट त्यहाँका बासिन्दाले सुविधा पाउने श्रेष्ठ बताउँछन्। उनका अनुसार पैसा डिपोजिट गर्न र झिक्न एजेन्ट भेट्नेबाहेक अरु सबै काम मोबाइलबाटै गर्न सकिने श्रेष्ठ बताउँछन्। यो सुविधाले आर्थिक गतिविधि बढाउने उनका विश्वास छ।
सेवासँगै सुरक्षाको कुरा पनि उठ्दै आएको छ। हरेक ठाउँमा सुविधासँगै जोखिम पनि हुन्छ। सुरक्षाको दृष्टिकोण पनि डराउनु नपर्ने बैंकहरू बताउँछन्। बैंकहरूले यसलाई थि्रएफए अर्थात थर्ड फ्याक्टर अथेन्टिकेसन सुरक्षामा रहेको जनाएका छन्। आफ्नो मोबाइल नम्बरबाट मात्रै कारोबार गरिने भएकाले डराउनु नपर्ने उनीहरुको भनाइ छ। सुविधा प्रयोग गर्दा एउटा पिन नम्बर मोबाइलमा पठाइन्छ। त्यो कसैले थाहा पाउने अवस्था हुँदैन। अनि ट्रान्सफर गर्ने पैसा आफूले दिएको एकाउन्टमा मात्रै पठाइने भएकाले सुरक्षित हुने बैंक बताउँछन्।
प्रकाशित: १४ माघ २०७१ ००:५१ बुधबार





