७ पुस २०८२ सोमबार
image/svg+xml
प्रविधि

थ्रीजी मोबाइल उपत्यकाभर विस्तार गरिने

काठमाडौं, कात्तिक ६ (नागरिक)- नेपाल टेलिकमले काठमाडौंमा सुरु गरेको थर्ड जेनेरेसन (थ्रीजी) मोबाइललाई उपत्यकाको सबै ठाउँमा विस्तार गर्ने भएको छ।

अहिले काठमाडौंको चक्रपथभित्र पनि सबै ठाउँमा यो सेवा चल्दैन। चक्रपथभित्र पनि राम्रोसँग नचल्ने भएकोले यसका ग्राहक सुरुको महिनामा जति थिए त्यो भन्दा बढ्न सकेको छैन।

'अहिले ४२ वटा टावरबाट मात्र थ्रीजी मोबाइल चल्छन्,' टेलिकमको मोबाइल सेवा निर्देशनालयका निर्देशक विष्णु कसजुले भने। ४२ वटा टावरमात्र भएको र सबैस्थानमा थ्रीजी नचल्ने भएकोले यो सेवा प्रति ग्राहकहरु आकर्षित नभएका हुन्।

थ्रीजी मोबाइल नमस्ते प्रिपेड मोबाइल जस्तै हो। नमस्ते प्रिपेडको भन्दा यसमा थप विशेषता भनेको एक आपसमा नजिकै बसे जस देखादेख गर्दै भिडिओ कन्फरेन्स जस्तै गरी कुराकानी गर्न सकिन्छ।

'यो आर्थिक वर्षभित्र काठमाडौंको जहाँसुकै पनि थ्रीजी चल्ने गरी यसको क्षमता विस्तार गर्दैछौं,' कसजुले भने। यो सेवा प्रति उपभोक्ता आकर्षित नहुनुमा एकातिर काठमाडौंकै सबै ठाउँमा नटिप्नु र अर्कातिर महसुल पनि महंगो हुनु हो।

यसबाट भिडिओ कल कुराकानी गर्दा मिनेटको साढे १२ रुपैयाँ तिर्नुपर्छ। प्रिपेड मोबाइलबाट कुराकानी गर्दा दिउँसोको समयमा पनि साढे २ रुपैयाँभन्दा धेरै पर्दैन।

थ्रीजी मोबाइलबाट इमेल र इन्टरनेट चलाउँदा एक किलोबाइट बराबर २ पैसा तिर्नुपर्छ।

टेलिकमले मोबाइलकै अतिरिक्त सेवाको रुपमा थ्रीजीलाई चलाइरहेको छ। भारतमा यसको लागि त्यहाँको सरकारले कम्तिमा ३ खर्ब ५० अर्ब भारतीय रुपैया तोकेर बढाबढमा लाइसेन्स दिने तया गरिरहेको छ।

दक्षिण एसियामै थ्रीजी मोबाइल सुरु गर्ने नेपाल पहिलो देश हो। दुई वर्षमा पनि यसको उपभोक्ता भने सातसय पनि नपुग्नुमा कभरेज एरिया ज्यादै थोरै हुनुनै मुख्य कारण भएको टेलिकमका उच्च अधिकाहरुले बताएका छन्।

'कभरेज एरिया एकातिर ज्यादै सानो क्षेत्रमा मात्र छ भने अर्कातिर हामीले यसको राम्रो मार्केटिङ पनि गरेका छैनौं,' कसजुले भने। गत भदौ मसान्तसम्म यसका ग्राहक ६ सय ८३ मात्र छन्। एक वर्षमा यसका उपभोक्ता ७५ जनामात्र थपिएका छन्। प्रिपेड मोबाइलका उपभोक्ता एक वर्षमा १३ लाख बढेका छन्।

थ्रीजी सेवा अन्तरगत भिडिओ कल गर्दा मात्र मिनेटको साढे १२ रुपैयाँ तिर्नुपर्छ। नमस्ते प्रिपेड मोबाइलको रुपमा यसलाई प्रयोग गर्दा नमस्तेकै सरह मात्र महसुल लाग्छ। भिडिओ
कुराकानी गर्दा मात्र मिनेटको साढे १२ रुपैयाँ महसुल लाग्छ।

थ्रीजी मोबाइल लिनको लागि सुरुमा ४ हजार १ सय ९५ रुपैयाँ तिर्नुपर्छ। यसमा ३ हजार ५ सय रुपैयाँ बराबरको कल गर्न पाइन्छ।

थ्रीजी सेवा प्रभावका हुन नसक्नुमा यसको लागि प्रयोग हुने सेट केही महंगो हुनु पनि हो। यसको लागि प्रयोग हुने मोबाइल सेटलाई कम्तिमा १० हजार रुपैयाँ पर्छ। त्यसमाथि महसुल पनि केही महंगो भएकोले यो सेवा प्रति उपभोक्ताले त्यति चासो नदिएका हुन्।

प्रकाशित: ५ कार्तिक २०६६ २३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App