७ पुस २०८१ आइतबार
image/svg+xml
प्रविधि

कंक्रिट उद्योगमा डेढ अर्ब लगानी

आधुनिक प्रविधिले मानव जीवनमा धेरै सहज बनाइरहेको छ । अहिले प्रविधि अभिन्न अंग जस्तै बनेको छ । आधुनिक प्रविधि बिना मान्छेका हरेक गतिविधि शून्य जस्तै भइरहेका छन् । अहिले अत्याधुनिक प्रविधि प्रयोग नभएको  क्षेत्र विरल्लै देखिन्छन् । नेपालको पूर्वाधार तथा निर्माण क्षेत्रमा पनि अत्याधुनिक मेसिनको प्रयोग गर्ने चलन ह्वातै बढेको छ ।

केही वर्ष अघिसम्म इटा चिम्नीको भट्टा बिना उत्पादन गर्ने कल्पना समेत गर्न सकिँदैन्थ्यो । तर, अहिले आधुनिक प्रविधिले चिम्नी र प्रदुषण बिनै कंक्रिटका इँटा बनाउने प्रविधि भित्रिसकेको छ । अत्याधुनिक प्रविधि भित्राएर अहिले कंक्रिट उद्योग स्थापना भइसकेका छन् ।

नेपालका प्रतिष्ठित उद्योगी तथा व्यवसायीले अन्तर्राष्ट्रिय गुणस्तरको स्वदेशमै कंक्रिट उद्योग सञ्चालनमा ल्याएका हुन् । एसियन कंक्रिटो नाम दिएको उक्त उद्योगमा मनिष रंगैता, गौरव अग्रवाल, राजेश अग्रवाल, अनिल जाटिया र मनोज केडियाको मुख्य लगानी रहेको छ । पाँचजना व्यवसायीले करिब डेढ अर्ब लगानीमा अत्याधुनिक कंक्रिट उद्योगको प्लान्ट राखेर इटालगायत २३ किसिमका सामग्री उत्पादन गर्दै आएका छन् ।

पाँचजना व्यवसायी मनीष रंगैता, गौरव अग्रवाल, राजेश अग्रवाल, अनिल जाटिया र मनोज केडियाले करिब डेढ अर्ब लगानीमा अत्याधुनिक कंक्रिट उद्योगको प्लान्ट स्थापना गरेका छन् । यो उद्योगले इँटालगायत २३ किसिमका निर्माण सामग्री उत्पादन गर्दै आएको छ ।

उद्योगका निर्देशक अनिल जाटियाले डेढ अर्ब रुपैयाँ लगानी गरेर अन्तर्राष्ट्रिय स्तरको एसियन कंक्रटो उद्योग सञ्चालनमा ल्याएको बताए । कम्पनीले अत्याधुनिक खालको जर्मनी मेसिन भित्राएर कंक्रिट उद्योगको प्लान्ट खोलेको हो । एसियन कक्रिटो प्रालिको स्थापना सन् २०१७ भएको थियो । यसले सन् २०१८ देखि अन्तर्राष्ट्रिय स्तरका कंक्रिटका निर्माण सामग्री उत्पादन गर्दै आएको छ ।

यो उद्योग नवलपरासीको रामग्राम नगरपालिकाको हाक्यू क्षेत्रमा रहेको छ । उद्योग करिब सात बिघा क्षेत्रफलमा स्थापना गरिएको छ । कम्पनीले कंक्रिटका इन्टरलक पेभर, कर्बस्ट्रोन, कंक्रिट ट्रायल, होलो ब्लक, ब्रिक, ग्रास पेभर्स, स्ल्याब, ड्रेनलगायतका २३ प्रकारका निर्माण सामग्री उत्पादन गर्दै आएको बताइएको छ ।

यस्तो छ बजार मूल्य

एसियन कंक्रिटो प्रालिले उत्पादन गरेको कर्बस्टाने एक किलोमिटरको लागि भ्याटबाहेक १२ लाख रुपैयाँ  पर्ने उद्योग सञ्चालकले जनाएका छन् । इन्टरलक पेभरको एक किलोमिटर लम्बाई र दुई मिटर चौडाईको लागि २५.३ लाख रुपैयाँ र इन्टरलक एयरपोर्टको लागि १.५ चौडा र एक किलोमिटर लम्बाईको लागि २५.५ लाख रुपैयाँ भ्याटबाहेक खर्च लाग्ने बताइएको छ । ललितपुरमा निर्माण गरिएको इन्टरलक फुटपाथ निर्माणमा लक्जरी ब्राण्डको प्रयोग गरिएको थियो । जसको मूल्य भ्याटबाहेक २५ सय ५३ प्रति वर्गमिटर पर्ने गर्छ ।

गौरवका आयोजनादेखि फुटपाथसम्म

कम्पनीले उत्पादन गरेका कंक्रिटका निर्माण सामग्री राष्ट्रिय गौरवका आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग हुँदै आइरहेको छ । यसका साथै सोही कम्पनीले उत्पादन गरेको कंक्रिटका निर्माण सामग्री  पथैलिया–विरगन्ज ६ लेनको सडकमा, बारा पर्सा जनता आवास, इटहरी विराटनगर ६ लेन सडक परियोजना, मदनभण्डारी लोकमार्ग, सिभिल हस्पिटिल, अम्ब्रेला स्ट्रिट भरतपुर, पोखराको चिप्लेढुङगा, बिपीचोक, लेकसाइडको शान्तिनगर, ललितपुरलगायत देशैभरका विभिन्न आयोजनामा समेत प्रयोग हुँदै आएको कम्पनीका उपाध्यक्ष श्यामल झाले बताए । कम्पनीबाट अन्तर्राष्ट्रियस्तरको सामग्री उत्पादन भएकाले ठूला आयोजनामा प्रयोग हुँदै आएको उनले बताए ।  

‘गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ३÷३ करोड रुपैयाँको कंक्रिटका निर्माण सामग्रीको प्रयोग भएको छ,’ उनले भने, ‘हाम्रो कम्पनीले अन्तर्राष्ट्रियस्तरको सामग्री सस्तो मूल्यमा उपलब्ध गराएकाले पनि एकपछि अर्काे माग बढ्दै आएको छ ।’  

७० जना प्रत्यक्ष र सात सयलाई अप्रत्यक्ष रोजगार

उद्योगले ७० जना प्रत्यक्ष रोजगारी दिएको छ । अप्रत्यक्ष रूपमा ५ सयदेखि सात सय जनाले रोजगार पाउँदै  आएको कम्पनीको दाबी छ । कम्पनीले गिटि, बालुवा, रोडा, सिमेन्टलगायतका निर्माण सामग्री उपयोग गरेर निर्माण गर्दै आएको छ ।  

कम्पनीका निर्देशक जाटियाले परम्परागत इँटाको तुलनामा ४ गुणा बलियो र  टिकाउ हुने दाबी गरे । ‘परम्परगत इँटाभन्दा धेरै बलियो र टिकाउ हुन्छ,’ उनले भने, ‘मर्मतसम्भार गरिरहनुपर्ने झन्झट समेत छैन ।’ उद्योगबाट उत्पादन भएको ब्लक फुटपाथ तथा भित्री सडकका लागि  धेरै उपयोगी हुने उनको भनाइ छ । ‘पानी जम्ने र धुलो हुने ठाउँको ब्लक प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘यसले एकातर्फ धुलो नियन्त्रण गर्छ । अर्काेतर्फ  फुटपाथ तथा वरपरको वातावरण आर्कषक र चिटिक्क देखाउँछ ।’ कम्पनीले घरको पर्खाल तथा पार्किङ क्षेत्रका लागि प्रभावकारी हुने जनाए ।

डेढ लाख टन उत्पादन क्षमता

कम्पनीको वार्षिक एक लाख ५० हजार मेट्रिक टन इँटा उत्पादन गर्न सक्ने क्षमता रहेको छ ।  तर, कोभिड–१९ को कारणले अहिले क्षमताको ३५ प्रतिशत मात्रै कंक्रिटका निर्माण सामग्री उत्पादन गर्दै आएको निर्देशक जाटियाले जनाए । कम्पनीले आफ्नो क्षमताको ३५ प्रतिशत मात्रै कंक्रिटका निर्माण सामग्री उत्पादन गर्दै आएको उनको भनाइ छ । कम्पनीले काठमाडौं, पोखरा, चितवन, बुटबल भैरहवालगायतका मुख्य सहरबाट डिलेर स्थापना गरेर कंक्रिटका सामग्री बिक्री गर्दै आएको छ ।

गुणस्तरीय सामग्रीमा जोड

अहिले कंक्रिटबाट निर्माण भएको सजावटको निर्माण सामग्री घर, रेष्टुरेष्ट, विमानस्थल, सडक, फुटपाथलगायतको क्षेत्रमा माग हँुदै आएको छ । यतिमात्रै होइन ऐतिहासिक सम्पदा वरपरका क्षेत्रमा पनि प्रयोग गर्न सकिन्छ । देख्दा आर्कषक र मनमोहक रंगमा उपलब्ध हुने भएकाले घरवरपरको खाली ठाउँमा पनि सजावटको रूपमा प्रयोग गर्न सकिन्छ ।

सहरी विकास तथा भवन निर्माण विभागका  निमित्त महानिर्देशक पदमकुमार मैनालीले  प्रिकास्ट टेक्निकल  कार्यशालामा सम्बोधन गर्दै गुणस्तरीय खालको कंक्रिटको निर्माण सामग्री उत्पादन गर्न अनुरोध गरेका छन् । ‘पश्चिममा मुलुकमा धेरै वर्षदेखि नै कंक्रिटका निर्माण सामग्री धेरै प्रयोग हुँदै आइरहेको थियो,’ उनले भने, ‘अहिले नेपालमा पनि उत्पादन हुनु सकारात्मक पक्ष हो । अब नेपाली उत्पादक कम्पनीले गुणस्तरमा कुनै पनि सम्झौता नगरेर उत्पादन गर्नुपर्ने देखिन्छ ।’

निमित्त महानिर्देशक मैनालीले गुणस्तर तथा नापतौल विभागले तोकेको मापदण्ड अनुसार प्रिकास्ट कंक्रिट ब्लक अफ पेभर, प्रिकास्ट कक्रिंट कर्ब, एज(किनारा) गटरलगायतको उत्पादन गर्न निर्देशन दिए । ‘प्रिकास्ट कंक्रिट ब्लकले उद्योगकै रूपमा स्थापित हुनु निकै सकारात्मक कुरा हो,’ उनले भने, ‘सरकारले तथा निजी क्षेत्रले पूर्वाधारा क्षेत्रमा ठूलो लगानी गरिरहेको अवस्थामा यस्ता उद्योग खोल्न आवश्यक छ ।’ व्यवसायिक तथा प्रतिस्र्धात्मक ढंगले प्रिकास्ट कंक्रिटका निर्माण सामग्री उत्पादनदेखि  बजारीकरणमा ध्यान दिन उनले अनुरोध गरे ।

कम्पनीका निर्देशक अनिल जेटियाले तीन वर्षदेखि प्रिकास्ट कंक्रिटको उद्योग सञ्चालन गर्दै आएको बताए । नेपाल गुणस्तर परिषदको २०७७ कात्तिक २६ गते बसेको बैठकले  प्रिकास्ट कंक्रिट ब्लक अफ पेभर, प्रिकास्ट कक्रिंट कर्ब, एज (किनारा) गटरलगायतको मापदण्ड तोकेको छ ।  

निर्देशक जेटियाले सरकार आफैंले प्रिकास्ट कंक्रिटका निर्माण सामग्रीको मापदण्ड तोक्नु निकै सकारात्मक भएको बताए । ‘केही कम्पनीले मात्रै गुणस्तर खालको कंक्रिटका ब्लकलगायतका निर्माण सामग्री उत्पादन गरिरहेका छन्,’ उनले भने, ‘मापदण्ड बनेसँगै अब ग्राहकले गुणस्तर खालको प्रिकास्ट कंक्रिटको निर्माण सामग्री पाउने वातावरण बनेको छ ।’ प्रिकास्ट कंक्रिटको निर्माण सामग्री बनाउने उद्योगकै रूपमा स्थापित भएको उनले बताए । नेपालमा उत्पादन भएका प्रिकास्ट कंक्रिटहरू पाँचतारे होटेल, रिसोर्ट, सडक, विमानस्थललगायतका ठाउँमा प्रयोग हुँदै आएका छन् ।

कोभिडले ठप्प उद्योग उठ्दै

कम्पनीका उपाध्यक्ष एवं मार्केटिङ तथा सेल्स झाले कोभिड–१९ को कारणले पूर्वाधार तथा निर्माण क्षेत्र ठप्प पारेकाले उद्योगमा पनि प्रभावित हुँदै आएको बताए । ‘कोभिडको कारणले अधिकांश कच्चा पदार्थको मूल्य धेरै बढेको छ । त्यसै कारणले उत्पादन लागत र खर्च पनि बढेको छ,’ उनले भने, ‘कम्पनीले पुरानै दरभाउमा कंक्रिटका निर्माण सामग्री उपलब्ध गराएका छौं ।’ कोभिड–१९ को प्रभाव केही कम भएसँगै कम्पनीले उत्पादन गरेका कंक्रिटका निर्माण सामग्रीको व्यापार विस्तारै बढ्दै गएको बताए । कम्पनीका उपाध्यक्ष तथा मार्केटिङ तथा सेल्स प्रमुख झाले उद्योग सन् २०१८ को अगष्टदेखि उत्पादन सुरु गरेको बताए ।

यसरी बन्छ

कम्पनीले जर्मनबाट अत्याधुनिक टेक्नोलोजी र मेसिनरी इन्टल गरेर नेपालकै ठूलो कंक्रिटको प्लान्ट स्थापना गरेको हो । अत्याधुनिक मेसिनले गिटी, बालुवा, रोडा पेलेर कंक्रिटका इँटा तथा अन्य निर्माण सामग्री निर्माण गरिन्छ । कंक्रिटको इँटालगायतको सामग्रीमा माटोको मिसावट गरिँदैन । ‘यो उद्योगमा परम्परागत इँटा भट्टीमा जस्तो कुनै चिम्नी समेत हुँदैन । त्यसैले वातावरण प्रदुषण गर्ने कुरै हुदैंन,’ जाटियाले भने, ‘यो इँटा वातावरणमैत्री छ । हेर्दा आकर्षक र सुन्दर देखिने अहिले ग्राहकको मन जित्दै आएको छ ।’ कंक्रिटका निर्माण सामग्री हेर्दा आकर्षक र सुन्दर देखिन्छ । घर वरपरको बगैंचा सजावटको लागि पनि प्रयोग गर्ने प्रचलन बढ्दै गइरहेको छ । कम्पनीले सुरुको लागत केही मंहगो भए पनि लामो समय टिकाउ हुने भएकाले खर्चमा बचत हुने दाबी गरेको छ । यो कंक्रिटका ब्लक तथा इँटा ट्राफिकको उच्च चाप हुने र नहुने क्षेत्रको लागि प्रयोग गर्न सकिन्छ ।

प्रकाशित: २२ पुस २०७७ ०१:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App