नयाँ दिल्ली, चैत ३० (एजेन्सी)- आगामी वर्ष भारतमा हुने लोकसभा निर्वाचनमा १६० सिटमा सोसलमिडिया प्रयोगकर्ताको उच्च प्रभाव रहने एक अध्ययनले देखाएको छ। इन्टरनेट एण्ड मोबाइल एशोसिएशन अफ इन्डियाको सहयोगमा नलेज फाउन्डेसनले 'सोसल मिडिया र लोकसभा निर्वाचन' शीर्षकमा गरेको अध्ययन प्रतिवेदन बिहीबार सार्वजनिक गर्दै महाराष्ट्र र गुजरातका निर्वाचन क्षेत्रहरुमा जित्न फेसबुक प्रयोगकर्ताको मन जित्नुपर्ने निष्कर्ष निकालेको हो।
'५४३ सिटमध्ये १६० सिटमा उच्च प्रभाव रहनेछ', अध्ययनले भनेको छ- 'चुनावमा सोसल मिडियाको प्रभाव स्पष्ट देखिनेछ।'
फेसबुक प्रयोगकर्ता बढी भएको निर्वाचन क्षेत्रमा प्रभाव बढी रहने अध्ययनले देखाएको छ। भारतमा अन्य सोसल मिडियाको तुलनामा फेसबुकका प्रयोगकर्ता बढी छन्। ६७ निर्वाचन क्षेत्रमा सोसल मिडियाको प्रभाव मध्यम रुपमा पर्ने अध्ययनले देखाएको छ। अन्यमा भने न्युन वा शून्य प्रभाव रहनेछ।
महाराष्ट्रका २१ वटा निर्वाचन क्षेत्र सोसल मिडियाको उच्च प्रभाव रहने अध्ययनले औंल्याएको छ भने त्यसपछि गुजरातका १७ निर्वाचन क्षेत्रमा सोसल मिडिया प्रभावशाली रहनेछ।
प्रकाशित: ३० चैत्र २०६९ ०३:४३ शुक्रबार





-600x400.jpg)