१ पुस २०८२ मंगलबार
image/svg+xml
प्रविधि

आइसिटी इन्फोट्रेडको आज दोस्रो दिन

काठमाडौं, चैत २८ - राजधानीको भृकुटीमण्डपमा हिजोबाट छैटौं सूचनाप्रविधि मेला सुरु भएको छ। सूचना प्रविधि(आइसिटी) संघ नेपालको आयोजनामा 'आइसिटी इन्फोट्रेड फेयर, सामसङ ग्यालेक्सी ग्रान्ड आइसिटी इलेक्ट्रोनिक्स ब्रान्डिङ एक्सपो-२०१३' सुरु भएको हो।
संघले सूचना प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिबारे जानकारी दिने उद्देश्यले मेला गरिएको हो।
संघले सूचना प्रविधिमा विशेष चासो राख्ने युवा वर्गलाई लक्षित गर्दै मेला गरेको जनाएको छ। हालै एसएलसी परीक्षा सकिएकाले मेलामा यस्ता विद्यार्थी आउने अपेक्षा आयोजकको छ। संस्कृविद् सत्यमोहन जोशीले मेलाको उद्घाटन गरे।
मेलामा नयाँ-नयाँ सूचना प्रविधिका सामग्री राखिएका छन्। कुल ८७ वटा स्टल रहेको मेलामा ७० भन्दा बढी कम्पनीले सहभागिता जनाएका छन्। मेलाका कुल १७ प्याभेलियन छन्। मेलामा ल्यापटप, सर्भर, टन प्याड, साउन्ड सिस्टम, नेटवर्क सिस्टम, सेक्युरेटी सिस्टम, प्रिन्टर, होम एप्लाइन्सेज, पावर सोलुसन्स, मोबाइल, मोनिटर, प्रोजेक्टर, इन्टरनेट सेवा, हार्डवेयर, सफ्टवेयरलगायत कम्पनीका स्टल छन्।
'हामीले सूचना प्रविधिको विकासका लागि वर्षेनी यस्तो मेला गर्दै आएका छौं,' संघका अध्यक्ष शिशिर उपाध्यायले भने, 'नयाँ प्रविधिको जानकारी लिन यो मेला सबैलाई सहायक बन्छ।' ग्राहकले मेलामा ५ देखि १५ प्रतिशतसम्म छुट पाउने संयोजक सिएन उपाध्यायले बताए।
आयोजकले ३ लाखले मेलाको अवलोकन गर्ने अपेक्षा गरेका छन्। यो मेलामा सर्वसाधारणका लागि ५० रुपैयाँ र विद्यार्थीका लागि २५ रुपैयाँ शुल्क तोकिएको छ। एसएलसी दिएका विद्यार्थीले प्रवेशपत्र देखाएर निःशुल्क प्रवेश पाउनेछन्।

प्रकाशित: २७ चैत्र २०६९ २३:१५ मंगलबार