२६ पुस २०८२ शनिबार
image/svg+xml
प्रविधि

गुणस्तर सुधार्न टावर थप्दै टेलिकम

काठमाडौं, चैत १६ (नागरिक) - सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले जिएसएम मोबाइलको गुणस्तर सुधार गर्न विभिन्न ठाउँका टावर, एन्टेना, ब्याट्री र अप्टिकल फाइबरमा सुधार गरेको जनाएको छ।
कम्पनीले गुणस्तर सुधारका क्रममा मोबाइल बिटिएस(टावर)हरुमा पुराना उपकरण हटाइएको जनाएको हो। कम्पनीका प्रवक्ता गुणकेशरी प्रधानका अनुसार गुणस्तर सुधारका लागि चालु आर्थिक वर्षको ८ महिनामा २ सय ५० वटा बिटिएस साइटमा उच्च क्षमताको ब्याट्री जडान गरिएको छ। उनले निरन्तर ऊर्जा आवश्यक पर्ने केही ठाउँका उपकरणमा जेनेरेटर र सोलारमार्फत नियमित विद्युत आपूर्ति व्यवस्था मिलाएको जानकारी दिइन्।
यसैगरी चालु आर्थिक वर्षको फागुनसम्ममा विभिन्न ठाउँमा नयाँ १ सय ५० भन्दा बढी बिटिएस टावर जडान गरिएको छ। यसैगरी कम्पनीले पुराना एन्टेना हटाई नयाँ एन्टेनाहरु जडान गर्ने क्रममा फागुनसम्ममा २ सय ठाउँमा एन्टेना प्रतिस्थापन गरेको छ।
टेलिकमले पुरानो प्रविधिको कपर केबुलको सट्टा तुलनात्मकरुपमा बढी प्रभावकारी अप्टिकल फाइवरको प्रयोगलाई प्राथमिकता दिन थालेको प्रधानले बताइन्। उनका अनुसार आर्थिक वर्षको पहिलो ८ महिनामा कम्पनीले ६० बिटिएसहरुमा पुराना केबुलको सट्टा अप्टिकल फाइबर जडान गरिसकेको छ।

कम्पनीले विभिन्न भित्री ठाउँमा मोबाइलको सिग्नल नपुग्दा समस्या भएपछि उपत्याकासहित सहरी क्षेत्रका ८४ स्थानमा उपकरण जडान गरेको छ। कम्पनीले गुणस्तर सुधारलाई प्रथमिकतामा राखेर कार्य गरिरहेको प्रधानले बताइन्।

प्रकाशित: १५ चैत्र २०६९ २१:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App