१ माघ २०८२ बिहीबार
image/svg+xml
प्रविधि

ट्याक्सी भाडादर एसएमएसबाटै

ज्ञान न्यौपाने, काठमाडौं, चैत १६ - ट्याक्सी चढ्नेले अब एसएमएसबाट भाडादर थाहा पाउने भएका छन्। ट्राफिक प्रहरी महाशाखाले केही दिनमै उपभोक्तालाई एसएमएसबाट ट्याक्सी भाडादर उपलब्ध गराउने जनाएको छ। ट्याक्सी चालकले यात्रुसँग बढी भाडा असुल्न खोजेमा यात्रुले तुरुन्त एसएमएसबाट वास्तविक भाडादर थाहा पाउनेछन्।
'ट्याक्सी रेट' लेखेर चढेको स्थान र पुग्नुपर्ने गन्तव्य उल्लेख गरी ४३२१ एसएमएस पठाएमा तुरुन्तै दिउँसो तथा रातिको भाडादरबारे जानकारी प्राप्त हुने महाशाखा प्रवक्ता पवनकुमार गिरीले बताए। उनले भने, 'अहिले विभिन्न ठाउँको भाडादर इन्ट्री गरिरहेका छौं। काम सिधिएपछि एसएमएस सेवा सुरु हुनेछ।' यात्रुहरूले ट्याक्सीबाट ठगिएको गुनासो गरेपछि यो सेवा सुरु गर्न लागिएको गिरीले जनाए। एसएमएसबापत सेवा शुल्क भने तय भइसकेको छैन।
यो सेवा सुरु भएपछि यात्रुहरू भाडादरबारे सुसूचित हुने गुणस्तर तथा नापतौल विभागका महानिर्देशक रामआधार साहले बताए। उनले भने, 'अहिले डाटा इन्ट्रीको काम भइरहेको छ, प्रविधि प्रयोग गरेपछि सूचना सहज हुनेछ।'
यो सेवा सुरु भएपछि यात्रुहरूको गुनासो कम हुने ट्राफिक प्रहरीले जनाएका छन् । गिरीले भने, 'तयारी पूरा गर्न अझै केही दिन लाग्ने सम्भावना छ।' वैशाख १ देखि सेवा सुरु हुनसक्ने उनको भनाइ छ।
महाशाखाका अनुसार जमलबाट १८, कलंकीबाट १४, पुल्चोकबाट ८, नयाँ बसपार्कबाट १९, कोटेश्वरबाट ११, गौशालादेखि १४, कालिमाटीबाट ६, कमलपोखरीबाट ८ र सुन्धाराबाट ८ ठाउँको भाडादर इन्ट्रीको काम भइरहेको छ। बढी भाडा असुलेको भन्दै ट्राफिक प्रहरीले ट्याक्सी चालकलाई कारबाही गर्दै आएको छ। यो सेवा सुरु भएपछि ट्याक्सी चालकले आफैं सावधानी अपनाउने गिरीको भनाइ छ ।
महाशाखाले अहिलेसम्म १ हजार ५६ ट्याक्सीलाई कारबाही गरेकोमा २३ वटा ट्याक्सीको मिटर जफत गरेको छ। नाप तौल र यातायात व्यवस्था विभागसँगको सहकार्यमा सेवा सुरु गर्न लागेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: १५ चैत्र २०६९ २१:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App