कम्पनीले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी तीन महिनाभित्र परीक्षण प्रसारण गर्ने जानकारी दिएको छ। 'परीक्षण प्रसारण सुरु गरेको एक महिनाभित्र व्यावसायिक प्रसारण सुरु गर्ने लक्ष्य छ,' कम्पनीका प्रबन्ध निर्देशक एमके पौडेलले भने, 'अहिले हामी पूर्वाधार विकासको तयारीमा छौं।'
उनले पूर्वाधार विकासका लागि अमेरिका र क्यानडाबाट उपकरण आयात थालिसकेको जानकारी दिए। मेगा ब्रोडकास्ट प्रालि एमभिडिडिएस प्रविधिमा टिभी प्रसारण अनुमति पाएको पहिलो कम्पनी हो। यो प्रविधि सुरु भएपछि अहिले केबल सञ्जाल र स्याटलाइट प्रसारण प्रणाली डाइरेक्ट टु होम(डिटिएच)मार्फत टेलिभिजन हेरिरहेका उपभोक्ताले नयाँ प्रविधिबाट टिभी हेर्न पाउँनेछन्।
कम्पनीले एमभिडिडिएस प्रविधिमा आधारित मल्टिच्यानल मल्टिप्वाइन्ट डिस्ट्रिब्युसन सर्भिस(एमएमडिएस) सेवा सुरु गर्न लागेको उनले जानकारी दिए। मेगाले 'माई टिभी' ब्रान्डमा यो सेवा सुरु गर्नेछ। रेडियो तरंगलाई एन्टेनामार्फत टिभीसम्म पुर्याेउन मिल्ने एमभिभिडिएस प्रविधिमा कम्पनीले टिभीसँगै इन्टरनेटको सेवा पनि दिने पौडेलले जानकारी दिए।
'हामीले दिने इन्टरनेट सेवा तीव्र गतिको हुनेछ,' पौडेलले भने, 'हामीले एक गिगाबाइट प्रतिसेकेन्डको गतिमा इन्टरनेट दिने तयारी गरेका छांै।' यो प्रविधिमा तार र स्याटलाइटको प्रयोगबिना उपभोक्ताको घरमा रहेको टेलिभिजनमा रेडियो तरंग पुर्यागइन्छ।
टेरेस्टियल प्रविधिको के-यु ब्यान्डमा आधारित यो प्रविधि सञ्चालन गर्न एक महिनाअघि कम्पनीले सञ्चार मन्त्रालयबाट अनुमति पाएको हो। कम्पनीले १ सय वटा च्यानल चलाउने गरी अनुमति पाएको हो। कम्पनीले नेपालभर सेवा विस्तार गर्न पाउने गरी अनुमति लिएको छ।
पौडेलका अनुसार हाल नेपालमा प्रचलनमा रहेका च्यानलबाहेक हाई डेफिनेसन(एचडी) च्यानलहरु थपेर १ सयवटा चलाइनेछ। कम्पनीले अरु सेवामा एचडी गुणस्तरको टिभी प्रसारण नभए पनि यो प्रविधिबाट सम्भव हुने दाबी गरेको छ।
कम्पनीले के-यु ब्यान्डको १०.४ देखि १२.२ गिगाहर्जसम्म फ्रिक्वेन्सी उपयोग गर्न अनुमति पाएको हो। २ सय मेगाहर्जको फ्रिक्वेन्सी प्रयोग गर्न यो कम्पनीसँग मन्त्रालयले प्रसारण नियमावली अनुसार १२ लाख शुल्क लिएको छ।
'यो नेपाल सुहाउँदो प्रविधि हो,' पौडेलले भने, 'यसमा स्याटलाइट शुल्क तिर्नु नपर्ने भएकाले वर्षेनी विदेशिने रकम पनि जोगिने छ।' पर्यटन, हाउजिङलगायत विभिन्न व्यवसायमा लागेको व्यवसायीको समूहको संयुक्त लगानीमा स्थापना भएको यो कम्पनीले सेवा विस्तार गर्न कुल लगानी ९५ करोडको गर्नेछ।
कम्पनी सुरुमा राजधानीबाट सेवा सञ्चालनको तयारी गरेको छ। पछि सेवा विस्तार गरेर मुलुकभर विस्तार गर्ने योजना कम्पनीको छ। एमभिडिएस प्रविधिमा सेवा सञ्चालनका लागि कम्पनीले विभिन्न ठाउँमा टेलिफोन सेवा प्रदायकले जस्तै टावर स्थापना गर्नुपर्छ। यस्ता टावरमार्फत फालिने सिंग्नल समात्न घरको छानामा छाताजस्तो एन्टेना राखिन्छ। यस्तो एन्टेनादेखि टिभीसम्म तार जोडेर विभिन्न च्यानल हेर्न सकिन्छ। यो प्रविधिमा टिभीसँगै इन्टरनेट पनि प्रयोग गर्न मिल्छ।
डिटिएचको सेटअप बक्सजस्तै यसको एन्टेनासहितको प्याकेजको मूल्य डिटिएचको भन्दा कम हुने कम्पनीले जनाएको छ। यसैगरी मासिक शुल्क डिटिएचको भन्दा कम राख्ने तयारी गरिएको पौडेलले जानकारी दिए। कम्पनीले यसलाई नेपालको पहिलो डिजिटल टेरेस्ट्रियल टेलिभिजन(डिटिटी)को रुपमा प्रचार गर्ने तयारी गरेको छ।
डिटिएच सेवा सञ्चालकले स्याटलाइट ब्यान्डविथका लागि शुल्क तिर्नुपर्छ। नेपालको आफ्नै भू-उपग्रह नभएकाले यस्तो शुल्कबापत वर्षेनी रकम बाहिरिने गरेको छ। तर, एमभिडिएस प्रविधिमा भने पूर्वाधार विकासका लागि आवश्यक पर्ने उपकरण खरिदका लागि रकम विदेशिए पनि वर्षेनी रकम विदेशिन रोकिने कम्पनीको दाबी छ।
प्रकाशित: २८ फाल्गुन २०६९ २१:१७ सोमबार





