३० पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

सुलभ बन्दै इन्टरनेट

विष्णु पोखरेल- समय- एक वर्ष, थपिएका उपभोक्ता संख्या-१७ लाख ५५ हजार ५ सय २९, उपभोक्ता वृद्धिदर-६.७७ प्रतिशत -पछिल्ला वर्षमा नेपालमा इन्टरनेट सेवाको विस्तार कति तीब्र गतिमा भइरहेको छ भन्ने आँकलन गर्न यो तथ्यांक हेरे पुग्छ।
दूरसञ्चार सेवाको नियमन गर्ने निकाय नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार गएको दुई-तीन वर्षमा इन्टरनेट सेवा प्रयोगकर्ता ह्वात्तै बढेका छन्। यसबीचमा पुरानो प्रविधिमा आधारित इन्टरनेट प्रयोगकर्ता क्रमशः घट्दैछन् भने नयाँ प्रविधिमा आधारित द्रूत गतिको इन्टरनेट र बेतारे सेवामा उपभोक्ता केन्द्रित बन्दैछन्।
गत वर्ष कात्तिकमा मुलुकभर करिब साढे ३७ लाखले विभिन्नखाले इन्टरनेट प्रयोग गर्थे। चालु वर्षको कात्तिकसम्ममा यो संख्या ह्वात्तै बढेर ५५ लाख २६ हजार रुपैयाँ पुगिसकेको छ। यसलाई आधार मान्ने हो भने २० प्रतिशतभन्दा बढी नेपालीले इन्टरनेट प्रयोग गरिरहेका छन् भन्न सकिन्छ।
वर्षेनी तीब्र गतिमा इन्टरनेट सेवा प्रयोग गर्ने उपभोक्ता बढ्नुको कारण हो-सुलभ उपलब्धता। तारसहितको होस् वा ताररहित दुवैखाले सेवा सस्तोमा उपलब्ध हुन थालेपछि इन्टरनेट उपभोक्ता बढेका हुन्। सस्तिएको प्रविधि सहज रुपमा पाइने भएपछि इन्टरनेट सेवालाई पछ्याउने जनशक्ति आधा करोडभन्दा बढी पुगेको हो। तथ्यांकहरुको सामान्य विष्लेषण गर्ने हो भने सुलभ र सहज उपलब्धताले इन्टरनेट उपभोग बढेको सहजै अनुमान लगाउन सकिन्छ।
प्राधिकरणको तथ्यांकअनुसार मोबाइलमै र मोबाइल एवं डाटा कार्डमार्फत प्रयोग गर्न मिल्ने जनरल पकेट रेडियो सर्भिस(जिपिआरएस), इन्ह्यान्स डाटा रेट्स फर जिएसएम इभोलुसन(इजिजिई), वाइडब्यान्ड कोड डिभिजन मल्टिपल एक्सेस(डब्लुसिडिएमए) र इभोलुसन डाटा अप्टिमाइज वा वल्ली(इभिडियो) जस्ता सेवा प्रयोग गर्ने उपभोक्ताको वृद्धि सबैभन्दा तिव्रतर छ। यस्तो प्रविधिको इन्टरनेट सेवा विस्तार हुनुका कारण हुन्, सहज उपलब्धता र सस्तो सेवा।
अहिले धेरै नेपालीको हातहातमा मोबाइल पुगेको छ। मोबाइलबाटै इन्टरनेट चलाउन पाइने भए पछि धेरैले आफ्ना सेवाप्रदायकमार्फत इन्टरनेट जोडेका छन्। यसले गर्दा सरहदेखि गाँउसम्म र तराईदेखि हिमालसम्म इन्टरनेट उपभोक्ताको वृद्धि उत्तिकै तीब्र हुँदै गएको छ।
बेतारे यी प्रविधिका अतिरिक्त अन्यखाले सेवाको विस्तार पनि पछिल्ला वर्षमा एकदमै बढेको छ। 'सस्तोमा द्रूत गतिको इन्टरनेट प्रयोग गर्न सकिने भए पछि सेवा विस्तार भएको हो,' इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अध्यक्ष विनय बोहोरा भन्छन्, 'नेपालमा दुई-चार वर्षमा इन्टरनेट सेवा विस्तारमा देखिएको गति एकदमै तीब्र छ।'
पछिल्ला वर्षमा इन्टरनेट सेवा प्रदायकहरुले तिर्नुपर्ने ब्यान्डविथ शुल्कमा कमी आएकाले सस्तोमा सेवा दिन सकिएको हो। 'पहिलो अप्टिकल फाइबरमार्फत लिंक नहुँदा ब्यान्डविथ शुल्क पनि महँगो तिर्नुपर्थ्यो,' बोहोराले भने, 'अहिले भने यस्तो शुल्क सस्तिएको छ।' उनका अनुसार ग्राहकको संख्या विस्तार भएपछि ठूलो मात्रामा लिन थालेकाले पनि ब्यान्डविथको शुल्क कम हुन थालेको हो।
यसले गर्दा सेवा प्रदायकलाई दुईटा फाइदा भएको छ। पहिलो खर्च कम भएको छ भने दोस्रो इन्टरनेटको गति(स्पिड) बढेको छ। कम खर्चमा बढी गतिको इन्टरनेट दिन सकिने भएपछि केही वर्ष अघिसम्म २ सय ५६ किलोबाइट प्रतिसेकन्ड गतिको इन्टरनेटका लागि मासिक २ देखि ४ हजार छुट्टयाउनुपर्ने उपभोक्ताले अहिले १ हजार रुपैयाँमा १० मेगाबाइट प्रतिसेकेन्ड गतिसम्मको इन्टरनेट उपभोग गर्ने अवस्था आइसकेको छ।
तीब्र गतिको इन्टरनेट प्रविधि भित्रिएपछि वर्षेनी पुरानो प्रविधिमा आधारित कम गतिका सेवा प्रयोग गर्ने घट्दै गएका छन्। गत वर्ष १९ हजार ७ सय ६४ रहेका डायलअप प्रविधिका ग्राहकको संख्या यस वर्ष १४ हजार ९ सय ९२ मा झरिसकेको छ।
१७ वर्षदेखि इन्टरनेट सेवा प्रदान गर्दै आएको वर्ल्डलिंक कम्युनिकेसनका अध्यक्ष एवं प्रबन्ध निर्देशक दिलीप अग्रवाल एक दशकमा इन्टरनेट शुल्क ८० गुणाले सस्तिएको र स्पिड सयौं गुणाले बढेको बताउँछन्। 'इन्टरनेट क्षेत्रमा सोच्दै नसोचेको प्रगति भएको छ,' उनले भने, 'हामीले यत्ति सस्तोमा इन्टरनेट दिन सकौंला भनेर कहिल्यै सोचेका थिएनौं।' उनले ८ वर्षअघि ब्रोडब्यान्ड सेवा सुरु गर्दा १० मेगाबाइट प्रतिसेकेन्डको गतिमा इन्टरनेट दिन सकिन्छ भन्ने नसोचेको बताए। 'अहिले हजार एघार सयमा १० एमबिपिएस स्पिडको इन्टरनेट दिनसक्ने भयौं,' उनले भने, 'अप्टिकल फाइबरमार्फत भारतसँग नेटवर्क विस्तार नभएको भए यो सम्भव थिएन।'
प्रविधि विकासले गर्दा पछिल्ला वर्षमा इन्टरनेट सस्तिएको वेवसर्फरका प्रमुख कार्यकारी अधिकृत सुमनलाल प्रधान बताउँछन्। 'प्रविधिमा तीब्र विकास भइरहेको छ, यस्तो नभएको भए हामीले सस्तोमा इन्टरनेट पुर्यानउन सक्ने थिएनौं,' उनले भने, 'अझै नेपालीको आयअनुसार इन्टरनेट सस्तिन सकेको छैन।'
पछिल्ला वर्षहरुमा सस्तो मूल्यमै ताररहित प्रविधिबाट इन्टरनेट चलाउने ग्राहक धेरै बढेका छन्। जहाँसुकै बसेर पनि चलाउन सकिने, ल्यापटप, मोबाइल, डेस्कटप जुनसुकै माध्यमबाट पनि प्रयोग गर्न सकिने भएपछि यो प्रविधि लोकप्रिय हुँदै गएको हो।
इन्टरनेट सेवा प्रदायकहरुबीच बढ्दो प्रतिष्पर्धाले समेत ग्राहकलाई फाइदा पुर्या एको छ। प्रतिष्पर्धाले कम्पनीहरु सस्तोमा इन्टरनेट प्रदान गर्न आक्रामकरुपमा उत्रेका छन्। यसले ग्राहकको संख्या बढाउन भूमिका खेलेको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल मुलुकभर ४२ कम्पनीले इन्टरनेट सेवा चलाउने अनुमति पाएका छन्। यसैगरी ६ वटा कम्पनीहरुले ग्रामीण क्षेत्रमा इन्टरनेट चलाउने अनुमति लिएका छन्। आइस्प्यानमा भने २२ कम्पनी आवद्ध छन्।
पछिल्ला वर्षहरुमा टेलिफोनमा आधारित सेवा विस्तार गर्ने दूरसञ्चार कम्पनीहरु समेत इन्टरनेटमा केन्द्रित बन्दै गएका छन्। २०६५ सालमा नेपाल टेलिकमले फोन र इन्टरनेट एकैपटक प्रयोग गर्न मिल्ने एडिएसएल सेवा सुरु गर्दा नेपालमा इन्टरनेट सेवामा क्रान्ति भए बराबर थियो। अहिले त्यही टेलिकमले थि्रजी, इभिडियो, सिडिएमएमात्र होइन पछिल्लो पुस्ताको मानिने वाइम्याक्स इन्टरनेट समेत सुरु गरिसकेको छ। विश्व बजारमा यसभन्दा पछिल्ला प्रविधि पनि भित्रिसकेका छन्। यी नेपालमा अझै भित्रन सकेका छैनन्।
दूरसञ्चार सेवा प्रदायक एनसेलले पनि थि्रजीमार्फत इन्टरनेट सेवालाई प्रवर्द्धन गरिरहेको छ। द्रूत गतिको इन्टरनेटका लागि एनसेलको थि्रजी सेवा प्रयोग गर्नेको संख्या बढिरहेको छ। एनसेलले अन्य नयाँ प्रविधिमा आधारित इन्टरनेट सेवा विस्तारका लागि गृहकार्य गरिरहेको छ।
टेलिकम र एनसेलमात्र होइन युनाइटेड टेलिकमले पनि सिडिएमएमा आधारित बेतारे इन्टरनेट चलाइरहेको छ। विकसित मुलुकमा यस्ता कम्पनीहरुले भ्वाइस, डाटा र भिडियो एकैपटक दिन मिल्ने सेवा चलाउन थालिसकेकाले नेपालमा पनि यस्तो सेवा तत्कालै सुरु गर्ने तयारीमा दूरसञ्चार सेवा प्रदायक जुटेका छन्। यसले भोलिका दिनमा इन्टरनेटलाई अझ सस्तो र सुलभ बनाउन सक्नेछ।

प्रकाशित: २६ माघ २०६९ १२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App